यतिबेला नेटफ्लिक्समा रिलिज भएको ‘ग्लास ओनियन’ फिल्मको निकै चर्चा छ । प्रायः फिल्मको सिक्वल त्यति राम्रो बन्दैन भन्ने आरोपका बीच ‘नाइभ्स आउट’ फिल्मको दोस्रो भाग ग्लास ओनियनले निकै राम्रो प्रशंसा पाइरहेको छ ।
सन् २०१९ मा ‘नाइभ्स आउट’ रिलिज भएको थियो । रहस्यरोमान्च विधामा फिल्म निर्देशक तथा लेखक रियान जोन्सनको यो फिल्म ४ करोड डलर बजेटमा बनेको थियो । संसारभर यसले ३११.९ मिलियन डलर कमाएको थियो । यो सफलताबाट उत्साहित लेखक तथा निर्देशक जोन्सनले यसको अर्को भाग लेखे- ग्लास ओनियन ।
फिल्मको वितरक लायन्सगेट फिल्म्सले लगानी गर्ने भयो किनभने अघिल्लो फिल्म पनि उसैले लगानी गरेको थियो तर पछि नेटफ्लिक्सले पहिलो भाग र दोस्रो भाग ४६९ मिलियन डलरमा खरिद गर्यो ।
यहाँ फिल्म निर्माणको कथा मात्र सुनाउन लागिएको भने होइन । यसमा अर्को कथा के थपिन्छ भने, कुनै फिल्म ज्यादै चर्चित भयो भने त्यसले पर्यटनमा कसरी टेवा पुग्छ भन्ने उदाहरण यही फिल्मले देखाएको छ ।
‘ग्लास ओनियनः अ नाइभ्स आउट मिस्ट्री’ फिल्म हेर्नु भएकाहरूलाई थाहा होला, त्यहाँ देखाइएको घर । यो घर माइल्स ब्रोन नामक एक जना खर्बपतिको हो । उसले आफ्ना सारा साथीहरूलाई यस घरमा बोलाउँछ र उसले त्यहीँ घोषणा गर्छ कि आजको रात यहाँ भएकामध्ये कसैले मेरो हत्या गर्दैछ ।
यो हत्या कसले गर्यो भन्ने पत्ता लगाउने जिम्मा चाहिँ बेनोइट ब्लाङ्कलाई त्यहीँ दिइन्छ । हुँदै नभएको हत्या पत्ता लगाउने जिम्मा किन दिइएको होला भन्ने खोज्दै बेनोइट, जो जासुस पनि हो र यसअघि उसले अघिल्लो घटना (जसमाथि नाइभ्स आउटको कथा पनि हो र त्यसको रहस्य सुल्झाएको थियो) सुल्झाएकाले उसलाई जिम्मा लगाइएको हुन्छ ।
माइल्स ब्रोनको यो घर टापुहरूमा एक्लो घरका रूपमा देखाइएको छ । यो घर यति सुन्दर छ कि जब सर्वसाधारणले ग्रिसमा यो कसैको निजी घर नभई एउटा सुविधासम्पन्न होटल हो भन्ने थाहा पाए, त्यसपछि यहाँ घुम्न आउनेको घुइँचो नै लाग्यो ।
यसरी अकस्मात कुनै खास कारणले मान्छेहरू ओइरिनु वा त्यसप्रति खास चासो जाग्ने चासोलाई अंग्रेजीमा ह्वाइट लोटस इफेक्ट भन्ने गरिन्छ ।
हालै एचबिओ टेलिभिजनले शुरू गरेको द ह्वाइट लोटस नामक टेलिभिजन कार्यक्रममा देखाएअनुसार ग्रिसको यो होटल यतिबेला पूरापूर प्याक हुन पुगेको छ । यसअघि खालीखाली चलिरहेको होटल पूर्ण रूपमा भरिभराउ हुनुमा फिल्मको भूमिका रहेको बताइएको छ ।
रोचक त के भने, जब ग्लास ओनियन फिल्म डिसेम्बर २३ मा नेटफ्लिक्समा रिलिज गरियो, त्यसपछि त्यो ठाउँको खोजी पनि हुन थाल्यो । पोर्तो हेलीको अमानजोईमा रहेको यो होटलमा पहिला एक रातको जम्मा ५,७०० पाउन्ड रकम तिर्नुपर्थ्यो । यतिबेला यसको भाउ बढेर ३५ हजार पाउन्ड प्रति रातसम्म पुगेको छ ।
रोचक त के भने ग्रिसकै सबैभन्दा सुन्दर र महँगो रिसोर्ट पनि यतिबेला साढे पाँच हजार पाउन्डमा एक रातमा बस्न पाइन्छ ।
थप रोचक के भइदियो भने जब नेटफ्लिक्सले फिल्म रिलिज गर्यो, उसले फिल्म प्रचारका लागि सुटिङ गरिएको होटल आफ्नै हो जसरी जिल्लो नामक प्रोपर्टी वेबसाइटमा बिक्रीमा राख्यो । ४५० मिलियन डलर मूल्य राखिएको सो होटलको विज्ञापनले पनि फिल्म हेर्न दर्शकको चासो बढायो ।
यो देखेर अर्का एक फिल्म निर्माता राम बर्गम्यान घरै किन्ने हो कि भनेर बुझ्नसमेत गए तर होइन रहेछ । त्यसपछि उनले आफ्नो परिवारलाई नै त्यो महँगो होटलमा एक रात सुताएर घर फर्किए ।
पूरा होटलको एउटा सानो भाग मात्र फिल्म सुटिङका लागि छुट्याइएको थियो । यो भागमा ६ वटा स्विमिङ पुलहरू, ६५० स्क्वायर फिटको स्पा र अन्य राम्रा चिजबिजहरू रहेका छन् ।
जेम्स बोन्डका फिल्महरू खेलेर चर्चामा आएका ड्यानियल क्रेग र अन्य प्रख्यात कलाकारका कारण यो फिल्म त हिट भयो नै, साथमा होटल पनि चर्चित हुनपुग्यो ।
साथमा वरपरका राम्रा होटलहरू पनि यही फिल्मका कारण फिक्का मात्र भएनन्, ह्वाइट लोटस इफेक्टका कारण नजरमा पर्न सकेनन् ।
फिल्मले कसरी कुनै देशको कुनै खास ठाउँलाई चर्चित बनाएर रातारात हिट बनाउन सक्छ र त्यसले त्यहाँको आम्दानी बढाउन सक्छ भन्ने उदाहरण यो फिल्म बन्न पुगेको छ ।
यसले केही समयअघि रिलिज भएको हिन्दी फिल्म ‘उचाइ’ले सगरमाथाको प्रचारमा पनि ठूलै प्रचार गर्न सफल भएको थियो । यस्ता राम्रा फिल्मले कुनै पनि ठाउँको भाग्य बदल्ने सामर्थ्य राख्न सक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।