समुन्द्र सतहबाट २९९० मिटर उचाइमा अवस्थित राराको सौन्दर्यले हरकोहीको मन हर्छ । अद्भुत छ रारा ! सौन्दर्य पारखीका लागि भव्य तीर्थ भन्दा पनि हुन्छ। जहाँ नपुगे जीवनमा ‘सौन्दर्यको मोक्ष’ प्राप्त हुँदैन भन्दा उत्तम हुन्छ ।

चारै तिर हरियो जंगज ! बीचमा नीलो ताल ! जुन पाँच किलोमिटर लम्बा र तीन किलोमिटर चैडामा फैलिएको छ । जुन कुनाबाट हेरे पनि नीलो दहमा हिमालको छायाँ लैबरी लेख्छ । बादलले पानीमा डाइभ हान्छ ।

हेरेर आँखा अगाउँदैन । तालबाट उत्पति हुने पानीको संगीत सुनेर कान थाक्दैन । जति हेरो, उति हेरिरहूँ लाग्छ ।

सयौं मान्छेको सपना हो, रारा पुग्नु ।

नेपालगन्जबाट सिधै हवाइजहाज चढेर मुगुको ताल्चा विमानस्थल पुग्न सकिन्छ तर हवाइजहाजको टिकट पाउनु चानचुने कुरा हैन है। अथवा, हवाइजहाज पाउनु भएन भने नेपालगन्ज वा कोहोलपुरबाट बस चढेर सुर्खेतसम्म जान सकिन्छ ! जसको समय दुई घण्टा तीस मिनेट हो । सुर्खेतबाट सार्वजानिक बस चल्छ, कर्णालीको तिरैतिर ! जुन बसले झन्डै चौबिस घण्टा यात्रा गर्छ र पुग्छ मुगुको ताल्चा वा गमगडी । गमगडीबाट दुई घण्टा र ताल्चाबाट एक घण्टाको पैदल यात्रा हो रारासम्मको ।

रारा किनारमा खान बस्न दुई होटल छन् ।

राराको खास सौन्दर्य हेर्ने हो भने राराको किनारा हैन, मुर्मालेक (मुर्माटप) पुग्नै पर्छ । जहाँबाट राराको सिंगोरुप देख्न सकिन्छ । जहाँबाट कर्णालीका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्ला नांगो आँखाले हेर्न सकिन्छ । जहाँबाट सिमानामा उभिएका अनुशासित सिपाहीजस्ता सुन्दर हिमाल चारैतिर बडो अनुशासित भएर उभिएको देखिन्छ ।

मुर्मालेक पुगिएन भने राराको यात्रा अधुरो हुन्छ । हिमाल र राराको अद्भूत सौन्दर्यको गहिराईमा एकैपल्ट डुब्ने हो भने मुर्मा जानै पर्छ । जहाँ डब्बल डोजमा मज्जा लिन सकिन्छ ।

यात्रामा सडक मार्गको प्रयोग गर्ने हो भने एक रात ताल्चा वा गमगडीमा बास बसेर थकाई मार्न सकिन्छ । भोलिपल्ट बिहान उठेर चिसो बतासको लहरमा आनन्द लिँदै ताल पुग्न सकिन्छ । दिनभर ताल घुमेपछि साँझ मुर्माटपतिर लागे हुन्छ । बीचमा असाध्य सुन्दर र आत्मिय मान्छेहरु बस्ने गरेको साह्रै सुन्दर गाउँ भेटिन्छ । गाउँमा एक रात बास बसेर स्थानीय रहनसहन र स्थानीय भोजनको स्वाद चाख्दै रात बिताउनु कम्ता काइदा हुुन्न । भर्खरैै होमस्टेको सुरुवात भएको छ गाउँमा । लोकल प्रेम र आत्मियताले हुरुक्कै बनाउँछ ।
भोलिपल्ट बिहान गाउँलेसँग बिदाबारी भएर मुर्माटपतिर लाग्ने हो भने झन्डै डेढ घण्टामा सजिलै अन्तिम उचाइमा पुगिन्छ ।

रहर पुगुन्जेल मुर्मालेकबाट हिमाल र राराको आनन्द लिएपछि त्यही दिन ताल्चा वा गमगडी झरेर आराम गर्न भ्याइन्छ । भोलिपल्ट नेपालगन्ज वा सुर्खेत फर्कन बस वा हवाइजहाज चढ्ने व्यवस्था मिलाउँदा हुन्छ ।

काठमाडौँबाट रारासम्मको खर्च हवाइजहाजबाट यात्रा गर्दा न्यूनतम तीस हजारदेखि चालीस हजार हाराहारी हुन जान्छ । सार्वजनिक बसमा यात्रा गर्ने हो भने न्यूनतम पन्ध्रदेखि बीस हजारसम्म प्रतिव्यक्ति पर्न जान्छ ।

तर राराको सौन्दर्य पैसासँग तुलना हुनै सक्दैन।

साहित्यकार रमेश सायन ठाउँहरु घुम्न र फोटोग्राफीमा विशेष रुचि राख्छन् । उनको संस्मरणात्मक कृति छुटेका अनुहारले पद्मश्री पुरस्कार प्राप्त गरेको छ । सबै तस्विरहरु साहित्यकार सायनले खिचेका हुन् ।