नेटफ्लिक्सको सदस्य हुनुहुन्छ र सिनेमा अनि शृंखलाहरूको भिडमा के हेर्ने भनेर चित खाइरहनु भएको छ भने अनि, त्यसमाथि तपाईं साहित्यप्रेमी पनि हुनुहुन्छ भने तपाईंका लागि नयाँ खजाना छ ।

इटालेली लेखक मार्को मिसिरोलीको पुरस्कृत उपन्यास इनफिडलिटीमाथि बनाइएको ६ भागको शृंखला एउटा सुन्दर साहित्यको सुन्दर दृश्यात्मक अनुवाद बन्न पुगेको छ ।

कथा शुरू हुन्छ, २००९ मा जहाँ ३५ वर्षे कार्लो एउटा कलेजमा सिर्जनशील लेखनमाथि पढाउँछ । उसको एउटा उपन्यास छापिइसकेको छ । दोस्रो उपन्यासमाथि काम गरिरहेको छ । दोस्रो उपन्यासको अन्त्य के गर्ने भनेर अड्किरहेको छ ।

यस्तैमा उसको कक्षामा २२ वर्षे एउटी विद्यार्थी सोफिया पनि पढ्न आउँछे । उपन्यास पढ्न हुरूक्क हुने सोफिया छिरेको पहिलो वर्षमा नै एउटा घटना घट्छ ।

कार्लोले आत्मसंस्मरण लेख्न लगाउँदा आत्मविश्वास नभएर सिन्को भाँच्न नसकेकी सोफियाले पछि जसोजसो लेख्ने प्रयास गर्छे । लेख्दै गर्दा उसलाई पेनिक अट्याक हुन्छ । लेख्दालेख्दै अचानक ऊ कक्षाबाट निस्केर बाथरूम निस्कन्थे । सोफियाको हालत देखेपछि कार्लो पनि पछ्याउँदै बाथरूम छिर्छ र के भयो भनी सोध्छ । उत्तर दिन नसकेर सोफिया अचानक उसको काँधमा नै बेहोस हुन्छे ।

यसपछि कार्लो अत्तालिन्छ र उसलाई सहज बनाउन थाल्छ । यो दृश्य कलेजकी अर्की एक विद्यार्थीले देख्छे । हेर्दाहेर्दै घटना क्याम्पसभरि फैलिन्छ र क्याम्पसले एउटा शिक्षक र विद्यार्थीबीच अनुचित व्यवहार भएको भन्दै कार्लोलाई घटनाबारे प्रस्ट्याउन आग्रह गर्छ ।

यता क्याम्पस प्रशासनले सोफियालाई पनि प्रस्टीकरण सोध्छ ।

तर दुवैले कुनै गलत क्रियाकलाप नभएको भन्दै अस्वीकार गर्छन् ।

यस घटनापछि नचाहँदा नचाहँदै पनि शिक्षक र विद्यार्थी एकअर्काको नजरमा पर्न थाल्छन् ।

सोफिया हेर्दाकी सुन्दर मात्र होइन, निकै प्रतिभाशाली भएकाले कार्लो चाहन्छ, ऊ लेखनलाई आफ्नो करियर बनाओस् । लेखनीमा उसको भरपूर सम्भावना छ भन्ने कार्लोलाई लाग्छ । त्यसैले आफूले हरसम्भव सहयोग गर्ने प्रयास गर्छ ।

कार्लोकी श्रीमती छे, मार्गरिटा । एउटा अपार्टमेन्टमा बसिरहेका कार्लो र मार्गरिटा अब एउटा व्यवस्थित घरमा सर्न चाहन्छन् । खासमा मार्गरिटा त घर सर्न बेचैन नै छे । यसका लागि उसले एउटा सुन्दर घर पनि हेरिसकेकी छे । घरलाई कसरी सजाउने भनेर उसले एउटा सुन्दर योजना पनि बनाएकी छे ।

सोफिया र कार्लो काण्डको दुई दिनपछि कार्लोले श्रीमती मार्गरिटालाई क्याम्पसमा भएको दुविधाजन्य घटनाले पारेको अप्ठेरोबारे सुनाउँछ । मार्गरिटाले कतै आफ्नो श्रीमान् नयाँ केटीसँग लसपस त गरिरहेको छैन भन्ने चियो गर्न थाल्छे ।

मार्गरिटा गोडा दुख्ने समस्याका कारण केही समयदेखि फिजियोथेरापी गरिरहेकी थिई । त्यहाँ २६ वर्षे एन्ड्रियाको बोली-व्यवहार र आकर्षक व्यक्तित्वबाट प्रभावित भएपछि आफ्नो लोग्ने पनि सम्भवतः आफूजस्तै त्यो विद्यार्थीसँग आकर्षित भएको हुनुपर्छ भन्ने शङ्का गर्न थाल्छे ।

लोग्नेले आफूलाई धोका दिन हुन्छ भने आफूले पनि मन पराएको मान्छेसँग हिँडडुल गर्दा केही बिग्रँदैन भनेर लत्तो छाड्छे र एन्ड्रियासँग सल्कन्छे ।

अझ सन् ७० को दशकमा आफ्ना बुवाको अर्कै एउटी महिलासँग अफेयर भएको र आफ्नी आमाले विद्रोह गर्न नसकेको थाहा पाएपछि त विद्रोहको भावना अझ चर्केर आउँछ र उसले कार्लोलाई छाड्ने निर्णय गर्छे ।

एन्ड्रिया मोलाइलीले निर्देशन गरेको यो शृंखला निकै रोचक छ । साथमा केही यौनका दृश्य पनि छन् ।

यो उपन्यास सन् २०१९ मा बजारमा आएको थियो र लगत्तै सुपरहिट भएको थियो । बेलायत र अन्यत्र भने २०२२ मा मात्र बजारमा आएको थियो । कोभिडका कारण चाँडै निकाल्ने प्रकाशकको चाहना पूरा हुन सकेको थिएन ।

बेलायतबाट प्रकाशन हुने इभिनिङ स्टान्डर्ड पत्रिकाका समीक्षक भन्छन्, कहिलेकाहीँ मात्र उपन्यासभन्दा शृंखला राम्रो बन्छ । ठीक त्यसैगरी यो उपन्यासलाई अक्षरमा पढ्न अझ बढी मजा आउन सक्छ ।