बाङ्लाभाषामा १०५ वर्ष पहिले प्रकाशित भएको शरत चंद्र चटर्जीको उपन्यास ‘देवदास’मा आधारित रहेर भारतभर २३ वटा फिल्म बनेका छन् ।
बलिउडमै मात्र दुई वटा देवदास बने । एउटा देव डी नामक फिल्म पनि सोही उपन्यासमा बन्यो तर यो अलि मोर्डन रिटेलिङ शैलीमा बन्यो ।
देवदासको अवस्था र दशामाथि भारतीय क्षेत्रीय भाषाहरू मलयालम, तमिल, तेलुगूसहित कयौँ भाषामा फिल्महरू बने ।
पहलो पटक देवदास फिल्म 1955 मा रिलिज भएको थियो । बिमल रोयद्वारा निर्देशित सो फिल्ममा देवदासको भूमिकामा दिलिप कुमार देखिएका थिए । यो फिल्म बनेको ४७ वर्षपछि यानी सन् २००२ मा संजय लीला भंसालीले आफ्नै शैलीको देवदास रिलिज गरे । र, ऐश्वर्या राय, शाहरुख खान र माधुरी दीक्षित मुख्य भूमिकामा रहे पनि अघिल्लोमा दिलीप कुमारले अभिनय गरेका हुनाले दिलीप कुमारको देवदास भनिएजस्तै पछिल्लोलाइ शाहरूख खानको देवदास भनियो । शाहरूखको देवदास रिलिज भएर हिट घोषणा भएको ठ्याक्क २० वर्ष पुगेको छ ।
भंसालीकृत ‘देवदास’ रिलिज हुँदा त्यसबखतकै सबैभन्दा महँगो र सँगैमा सर्वाधिक कमाउने फिल्म बन्न पुगेको थियो । २० वर्ष पहिले सो फिल्मको लागत ५० करोड भारू लागेको थियो । दर्शकलाई यो फिल्म यति रूच्यो कि बक्स अफिस रेकर्ड नै ब्रेक गर्यो । आफ्नो बजेटभन्दा दुई गुणा कमाउन सफल भएको थियो । १०४ करोड कमाउने यो फिल्मले नेपालमा पनि राम्रै व्यापार गर्न सफल भएको थियो ।
सन् १९५५ मा रिलिज भएको दिलीप कुमारको देवदास पनि त्यो बेलाको महँगो फिल्ममध्ये एक बन्न पुगेको थियो । त्यो बेला नै यो फिल्म बनाउन ५० लाख लागेको थियो । तर यो फिल्मले त्यो बेला नै एक करोड लगभग व्यापार गरेको थियो ।
देवदासको नयाँ संस्करणका लागि ५० करोड बजेट पुग्ने हल्लापछि मुम्बई प्रहरीले यस फिल्मका निर्माता भरत शाहलाई पक्राउ गरी सोधपुछ गरेको थियो । हिरा व्यापारीका रूपमा चर्चा कमाएका भरत शाहले कतै अन्डरवर्ल्डका मानिसहरूको लगानी त लगाएका होइनन् भन्ने आशंका गरेका थिए । अन्ततः फिल्म रिलिज भयो तर यो फिल्मको कमाईको कीर्तिमान यसपछिका चार वर्षसम्म कुनै फिल्मले तोड्न सकेन ।
यो फिल्मका कारण सन् २००३ मा शाहरूख खानले फिल्मफेयर अवार्डसमेत प्राप्त गरे । यस्तै अघिल्लो देवदासबाट दिलीप कुमारले पनि फिल्मफेयर अवार्ड हात पारेका थिए ।
उपन्यासमा आधारित भए पनि विमल रोयले बनाएको फिल्म मात्र उपन्यासजस्तै हुबहु बनाउने प्रयास गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।