गएको जुन ८ मा जब डिज्ने कम्पनीले नयाँ टेलिभिजन तथा ओटिटी शृंखला मिस मार्भल जारी गर्यो, दक्षिण एसियाली दर्शकहरूका आँखा ट्याउँ परे । भनाइको मतलब, शृंखलाको मुख्य भूमिकामा कमला खानको नाउँ देखियो ।

त्यसमाथि पाकिस्तानकी चर्चित अभियन्ता मलाला युसुफजाईले उनको प्रशंसा गरेर ट्वीटरमा दुई शब्द लेखिदिइन् । त्यसपछि त कमला खानको चर्चा सर्वत्र हुने भइहाल्यो ।

हुन पनि मलालाले आफूजस्तै उर्दू बोल्ने, आफूलेजस्तै मसला खान्की रूचाउने, उर्दूका गीतगजल रूचाउने पात्रहरू पर्दामा देख्न नपाएको धेरै भएको भन्दै यसरी ठूला कम्पनीले प्रख्यात पात्रमा दक्षिण एसियाली अनुहार नियुक्त गर्नु खुसीको कुरा भएको लेखेकी थिइन् ।

त्यसो त कमला खान मिस मार्भलको एउटी पात्र मात्र हुन् । कुनै मुस्लिम पाकिस्तानी अभिनेत्रीले सो भूमिका भने पाएकी होइनन् । तर पाकिस्तानबाट अमेरिका बसाइँ सरेका अभिभावकहरूबाट जन्मेकी नयाँ पुस्ताकी कमलाको कथा यहाँ देखाइएको छ ।

कमलाको भूमिका भने इमान भेलानीले गरेकी छन् । भेलानी पनि अमेरिकामा नै जन्मिएकी पुस्ता हुन् ।

शृंखलाको कथाअनुसार, पाकिस्तानबाट कमलाकी हजुरआमाले नातिनीका लागि उपहारस्वरूप एउटा सल र चुरा पठाइदिन्छिन् । त्यो सल र चुरा यति शक्तिशाली हुन्छ कि त्यसैले उनी मार्भलका अन्य पात्रजस्तै उनी पनि शक्तिशाली हुन्छिन् ।

तर उनी आफूसँग भएको शक्तिका बारेमा उनी अञ्जान छिन् । उनी आफू शक्तिशाली बन्न सक्नेमा दुविधा पाल्छिन् । बरू शक्ति त, बच्चैदेखि देखेसुनेका मार्भलका हिरोहरूसँग पो हुन्छ भन्ने विश्वास गर्छिन् ।

यो शृंखलाको रोचक पक्ष चाहिँ, यसको संगीत एआर रहमानले गरेका छन् । त्यस्तै बलिउडका चर्चित अभिनेता तथा फिल्म निर्देशक फरहान खान पनि छोटो भूमिकामा देखिन्छन् ।

इमान भेलानी भन्छिन्, ‘मेरो भूमिकाले भारतीय या पाकिस्तानी या दक्षिण एसियाली अन्य चरित्रलाई पूर्ण रूपमा न्याय गर्ला भन्ने मलाई लाग्दैन तर जे जति यहाँ देखाउने प्रयास गरिएको छ, त्यो चाहिँ यसअघि कहिल्यै पनि भएको थिएन । यस हिसाबले यो ज्यादै क्रान्तिकारी कार्य हो ।’

[embedyt] https://www.youtube.com/watch?v=qHrgn6tc6hE[/embedyt]