संसारमा पहिलो कुकुर कसरी घरेलु बन्यो भन्नेबारेमा अनेकन् सिद्धान्त कथिएका छन् । तीमध्ये एउटा सिद्धान्तले भन्छ, शिकारी युगमा जब मानिसले जंगलमा ब्वाँसोका छाउराहरू फेला पार्यो, उसले तिनलाई घरमा आफ्ना सन्तानसँगै हुर्कायो । घर आएका ती ब्वाँसाका सन्तान पनि घरैमा हुर्किए र कालान्तरमा ब्वाँसोको एउटा पुस्ता कुकुरमा परिणत भए ।

 

ती कुकुरले जंगलमा शिकार गर्न सघाए । घरमा बाहिरियाहरूबाट आक्रमण हुनबाट जोगाए । आफ्नै घरभित्र ती मनोरञ्जनका साधन बने । र, मानिस र कुकुरबीच एउटा आत्मिय सम्बन्ध गाँसिन पुग्यो ।

 

अचेल गाउँमा भन्दा शहरमा कुकुरको इज्जत छ । कुकुर भन्दा तिनलाई होच्याएको ठानिन्छ र नयाँ नाम पाएका छन्, मनुमित्र अर्थात् मानिसको साथी ।

 

संसारभर मनुमित्र कति लोकप्रिय छन् भने हरेक वर्ष अर्बौं डलर बराबरको किनबेच हुन्छ । तिनलाई अदब सिकाउने स्कुल खोलिएको छ । तिनको खान्की उत्पादन गर्ने उद्योगहरू मालामाल छन् । कुन कुकुर सुन्दर छ भनी प्रतियोगिता गराइन्छ । तिनको इज्जत मानिसको भन्दा कम छैन ।

 

र, पनि अझै एउटा ठूलो तप्का मनुमित्र, तिनको भावना र संसारबाट अलग छ । मानिसलाई तिनका बारेमा निकै कम जानकारी छ । मानिस शिक्षित त भएको छ तर मनुमित्रका बारेमा अज्ञानी नै छ ।

 

मानिस र कुकुरबीचको सम्बन्धका बारेमा अनेक फिल्म बनेका छन् तर जापानी कुकुरमाथि हलिउडले बनाएको फिल्म हाचिको जत्तिको सुन्दर फिल्म विरलै बनेका छन् । नेपालमा पनि कुकुरमाथि बनेका फिल्महरू भाउजू र गोपीकृष्णले फिल्म हिट बनाउन ठूलो भूमिका त खेले तर तिनले कुकुर र मानिसबीचको संवेदनाको तह कोरल्न असफल रहे । बलिउडले समेत नसकेको काम भने यतिबेला दक्षिण भारतीय एउटा फिल्म ‘७७७ चार्ली’ले गरिदिएको छ ।

 

यतिबेला ‘७७७ चार्ली’ फिल्मको चर्चा निकै चुलिएको छ । मुख्य भूमिकामा रहेको चार्ली नामक कुकुर्नी र एउटा युवा पुरूष धर्मा बीचको आत्मियताको यात्रासँगै दर्शकहरू भावनाको उबडखाबडमा लहरिइरहन्छन् ।

 

त्यसो त साउथ इन्डियाले उत्पादन गर्ने फिल्महरू कृत्रिम फाइटका दृश्यका कारण नेपालमा समेत युट्युबमार्फत लोकप्रिय भएका हुन् । अचेल संसारका अन्यत्रझैँ साउथका फिल्महरू पनि रिलिज हुने गरेका छन् । पछिल्लो समय नेपालमा पनि यो फिल्मले केही सीमित पर्दाका साथ रिलिज हुने अवसर पायो ।

 

अन्य फिल्म र यसमा तात्विक भिन्नता छ । यो विशुद्ध भावनाप्रधान फिल्म हो । यसले जनावरप्रति मानिसको संवेदना उमार्न सघाउ पुर्याउँछ । र, यो फिल्मले साउथको अर्को एउटा पाटो पनि देखाउँछ । साउथले बाहुबली, विक्रम या केजिएफजस्ता लार्जर द्यान लाइफ फिल्म मात्र उत्पादन गर्दैन । यसले केही फरक र मानिसको मुटु स्पन्दित गर्ने फिल्म पनि उत्पादन गर्छ ।

 

साउथका निर्माता तथा निर्देशक नयाँ प्रयोग गर्न डराउँदैनन्, चाहे त्यो मख्खी होस् या रोबोट । नयाँ कथालाई व्यावसायिकताको चास्नीमा घोलेर तिनले रूचिकर फिल्म बनाउँछन् । ७७७ चार्ली पनि त्यस्तै बन्न पुगेको छ । यो कुकुरलाई नहेपौँ टाइपको नारामूलक फिल्म हो तर एउटा कुकुर र मानिसबीच कसरी सम्बन्ध बन्छ, त्यो सम्बन्ध कसरी एकअर्काप्रति विश्वासिलो र कसिलो बन्दै जाँदा छुट्टिनै नसकिने र आफ्नो सन्तानभन्दा बढी प्यारा बन्न पुग्छन् भन्ने सन्देश दिन सफल भएको छ ।

 

कुनै पनि फिल्मको मुख्य विषय राम्रै हुन्छ तर त्यो पटकथामा उनिएर जब फिल्ममा उतारिन्छ, विश्वासिलो र भरपर्दो गरी देखाउन सकिएन भने जतिसुकै राम्रो विषयवस्तु भए पनि त्यसले दर्शकको मन जित्न सक्दैन । अधिकांश फिल्म सोही समस्याका कारण हरेक साता रिलिज हुन्छन् र बिर्सिइन्छन् तर यो फिल्मले कुकुरप्रति घृणा गर्ने जमातलाई पनि कम्तीमा सकारात्मक बनाइदिन्छ ।

 

त्यसो त फिल्म कमजोरीमुक्त त छैन । कयौँ ठाउँमा जबरजस्ती हँसाउने प्रयास गरिएको छ । मूलपात्र र कुकुरबीचको अन्तरंग सम्बन्ध विकसित गराउन पटकथामा पर्याप्त मिहिनेत गरिएको छैन । कन्फ्लिक्ट जुन स्तरको बढाउन सकिन्थ्यो, त्यसमा निर्देशक चुकेका छन् । यसका बाबजुद पनि यसअघि कुकुरमाथि बनाइएका सारा फिल्मको दाँजोमा यसले आफूलाई दर्शकको परीक्षामा खरो उत्रन सफल भएको छ ।

 

जनावरको पर्सोनिफिकेसन गराउँदा कसरी अलग्गै फिल्म बन्दोरहेछ भन्ने उदाहरण पनि हो ।

[embedyt] https://www.youtube.com/watch?v=YUIlWTFngfc[/embedyt]