विश्वभर कोरोना भाइरस, कोभिड १९ को संक्रमण, प्रकोप फैलिएको छ । यस प्रकोपबाट विश्वका लाखौं मान्छेहरु संक्रमित भइसकेका छन् र धेरैले ज्यान गुमाइसकेका छन् । विश्व अहिले सन्त्रासपूर्ण अवस्थामा गुज्रिरहेको छ । धेरै देशहरु अहिले लकडाउन (बन्दाबन्दी)को अवस्थामा छन् भने कतिपय देशहरु आंशिक बन्दाबन्दीमा छन् । चीनको वुहान शहरबाट शुरु भएर फैलिएको भनिएको यो भाइरस नियन्त्रणका लागि संसारका विभिन्न देशहरुले आ-आफ्नो किसिमले नियन्त्रणको उपाय र अभियानहरुलाई आत्मसात गरिरहेका छन् । नेपालमा पनि भाइरसको प्रकोप बढ्दो देखिएकाले नेपाल सरकार र जनताको संयुक्त प्रयासमा बन्दाबन्दीको उपायलाई अंगीकार गरिएको देखिन्छ । र, आआफ्ना माध्यमहरुबाट विविध क्षेत्र र विधाले जनचेतना जगाउने कार्य गरेको पाइन्छ । यसै सन्दर्भमा कसैले साहित्यलाई माध्यम बनाएका छन् त कसैले संगीतलाई त कसैले चित्रकारिताका माध्यमबाट कोरोनालाई विषयवस्तु बनाएर जनतामा चेत फैलाउने कार्य गरिरहेका छन् ।
स्थापित कलाकार एवं कार्टुनिस्ट राजेश मानन्धर अचेल कार्टुनका माध्यमबाट जनतालाई कोरोनाको विषयमा सुसूचित गर्ने कार्यमा जुटेका देखिन्छन् । उनले प्रत्येक दिन कोरोना विषयमुखी कार्टुनचित्र बनाएर सोसल मिडियामार्फत् जनजनमा पुर्‍याउने काम गरेको देखिन्छ ।
राजेश मानन्धर सञ्चार माध्यमहरुमा नाम चलेका कार्टुन चित्रकारको नाम हो । उनले आधुनिक चित्रकला लगायत व्यंगचित्र विधालाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आठौं एकल र दर्जनौँ सामूहिक कला प्रदर्शनी र वर्कसप गरिसकेका छन् । अहिलेको कार्य सन्दर्भमा राजेश भन्छन्, ‘‘कोभिड १९ ले गर्दा २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दीमा परेकाहरुमा कार्टुनचित्र मार्फत् जनचेतना जगाउने र मानसिक रुपमा परेको पीडालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालबाट जनजनसम्म पुर्‍याउने लक्ष्यलाई आत्मासात गर्दै मैले कार्टुन बनाउने गरेको छु ।’’

सञ्चार जगत्मा प्राथमिकता पाएको व्यङ्ग्य चित्रकलाको लक्ष्य पाठक र दर्शकलाई हसाउँदै—हसाउँदै सुसूचित गराउनु मात्र होइन, सामाजिक र राजनीतिक विकृति उधिन्नु पनि हो र सामाजिक सचेतता कायम गराउँदै सम्पूर्ण पक्षलाई सुमार्गमा लाग्ने उत्प्रेरणा जगाउनु पनि हो । हजार शब्दले अभिव्यक्त गर्न नसकेको भावलाई एउटै व्यङ्ग्यचित्रले उजागर गर्न सक्छ । पत्रकारितालाई हतारोको साहित्य भने जस्तै व्यङ्ग्यकला हतारोको एक सूचनामूलक कलात्मक अभिव्यक्ति हो । व्यङ्ग्यकलाले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत जीवन र जगत्का विविध पाटाहरूलाई विषयवस्तुका रूपमा ग्रहण गर्ने गर्छ । अहिले राजेशका कार्टुनले सामाजमा देखिएको भाइरसको महामारीलाई दर्शाउँदै सचेत रहन आग्रह गरेका छन् ।

आरम्भमा सञ्चार माध्यमको विकासक्रम सँगसँगै सञ्चार माध्यमकै गहनाको रूपमा विकास भएको, यो कार्टुनकलाको इतिहास युरोपबाटै सुरु भएको देखिन्छ । पहिले—पहिले युरोपेली दरबारका ठूल्ठूला भित्ताहरूमा भित्ते चित्रहरू बनाइने चलन थियो । त्यतिबेला सजावटको प्रयोजनको निम्ति बनाइने भित्ते चित्रहरूको प्रारम्भिक ‘मोडेल’ वा रेखाङ्कनलाई नै व्यङ्ग्यचित्र भनिन्थ्यो । ‘व्यङ्ग्यचित्र’ शब्दको प्रयोग र प्रचलनको सुरुआत त्यतिबेलै र त्यहींबाट भएको भन्ने कुरामा दुई मत छैन । अठारौँ शताब्दीदेखि नै व्यङ्ग्यचित्रले सञ्चार जगत्मा आफ्नो स्थान सुरक्षित पार्दै जरो गाडिसकेको थियो । नेपालको सन्दर्भमा, पहिलो व्यङ्ग्यचित्र कुन कलाकारले कहिले र कुन विषयमा बनाए भन्ने कुराको निश्चित किटान वा प्रामाणिक इतिहास हामीसँग छैन । तथापि यस सन्दर्भमा नेपालका प्रथम कलासमीक्षक स्व. नारायणबहादुर सिंहको एक कलाआलेखले भने यस विषयमा थप जानकारीका लागि अनुसन्धान तथा खोजी गर्नसकिने वा उनकै लेखलाई मान्न सकिने मार्ग भने प्रशस्त निर्माण गरिदिएको छ । त्यस लेखमा नारायणबहादुर सिंहले चन्द्रमानसिंह मास्केलाई प्रथम व्यङ्ग्य चित्रकारको अर्थ लाग्ने भावमा उद्धृत गर्दै भनेका छन्, ‘मास्केले श्री ३ जुद्ध शमशेरको ‘कार्टुन’ बनाएबापत नै जेल पर्नु परेको थियो।’ उनको यो लेखनीमा चन्द्रमान नै प्रथम व्यङ्ग्यकलाकार हुन् भन्ने अप्रत्यक्ष अर्थ लुकेको अनुभूत हुन्छ ।

राणाकालमा जोखिमपूर्ण र पञ्चायत कालमा मौन रहनुपरेको यो विधाले वि.स. २००७ पछि मौलाएको देशको राजनैतिक परिवर्तनसँगै सुस्तरी सार्वजनिक हुने, झ्याङ्गिने र फल्ने अवसर पाएको हो ।

विगतमा ‘कार्टुन’ चित्रकलाको संस्थागत विकास गर्न वात्सायनको अध्यक्षतामा व्यङ्ग्यचित्रकार क्लब नेपाल, सिस्नुपानी नेपाल, हास्यव्यङ्ग्य समाज लगायतका सङ्घसंस्थाहरू जुर्मुराएका देखिएका थिए । यसपछि नवपुस्ता व्यंग्य कलाकारहरु मिलेर अन्य व्यंग्यचित्र संघसंस्थाहरु स्थापना भएको देखिन्छ। तिनीहरुले बेलामौकामा गोष्ठी वर्कसप जस्ता कार्यक्रमहरु गर्दै आएका छन् । वर्तमान अवस्थामा व्यङ्ग्य चित्रकलाका महारथि वरिष्ठ चित्रकार दुर्गा बराल उर्फ वात्सायनदेखि पछिल्लो पुस्ताका वर्तमान व्यङ्ग्य कलाकारहरू राजेश के.सी, रविन पिया, वासु क्षितिज, अविन, राजेश मानन्धर, सुमन मानन्धर, रमेश विष्ट, मिलन शाक्य, राजु जोशी, एकाराम महर्जन, उत्तम नेपाल, दीपक गौतम, हिमालय गौतम, कृष्णगोपाल, देवेन्द्र थुम्केली र नाम हेक्का हुन नसकेका अन्य नवपुस्ता कलाकारहरू रहेका छन् ।

(लेखक कलाकार एवं कला समीक्षक हुन्।)