शीर्षक: आमाको माया
साइज: ६०x९० इन्च
माध्यम: एक्रेलिक

कलाका गुरु प्रोफेसर राधेश्याम मुल्मी ग्राफिक डिजाइनमा स्नातकोत्तर गर्ने नेपालकै प्रथम व्यक्ति हुनुहुन्छ । उहाँले पाकिस्तानको पन्जाब युनिभर्सिटीबाट सन् १९७८ मा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएको हो। त्रिभुवन विश्वविद्यालय सानो ठिमी क्याम्पस हुँदै ललितकला क्याम्पस र सृजना कलेज अफ फाइन आर्ट कलेज गरी उहाँले ३७ वर्ष अध्यापनमा आफूलाई समर्पित गर्नु भएको छ। अध्यापनका अलावा उहाँले लोगो डिजाइन, रेखाचित्र र चित्रकला सृजनामा निकै लामो समय खर्चनु भएको छ। कुनै पनि शीर्षकलाई विषयवस्तुसँग समन्वय गरेर थप व्याख्या गर्नु कलाकार मुल्मीको खास विशेषता हो ।

“आमाको माया” शीर्षकमा रचना गरिएको प्रस्तुत चित्रमा एउटी आमाको विभिन्न स्वरुप र अवस्थालाई चित्रण गरिएको छ। सन्तानको सुख एउटी आमाका लागि सबैभन्दा प्रिय कुरा हो भन्ने भाव यस चित्रमार्फत देखाउन खोजिएको छ।

चित्रको सन्दर्भमा कलाकार मुल्मी भन्नुहुन्छ, ‘जीवनमा जस्तोसुकै दु:ख र अप्ठ्यारा आई परे पनि एउटी आमाले आफ्नो सन्तानलाई सधैँ आफ्नो काखमै राख्ने इच्छा देखाउँछिन् । यो नियम जनावरमा पनि त्यतिकै लागु हुन्छ ।’

एक्रेलिक माध्यममा तयार पारिएको यो चित्र शालिन र शितल रङहरूका कारण हेरिरहूँ लाग्ने किसिमको बनेको छ ।