नेपाल र मित्र राष्ट्र भारतको सम्बन्ध परापूर्वक कालदेखि नै रही आएको छ । यस सम्बन्धभित्र धार्मिक, साँस्कृतिक, व्यापारिक, वैचारिक र नातागत सम्बन्धहरू विद्यमान रही आएका छन् । खुल्ला सिमाना भएकाले एक राष्ट्रबाट अर्को राष्ट्रमा आवतजावत गर्ने प्रचलनका वावजुद हाम्रो सम्बन्ध रोटीबेटीको रही आएको छ । सम्बन्धकै सवालमा हाम्रा दुई राष्ट्रको सांस्कृति, धार्मिक र प्रायः कलाको पक्षहरू समान रहेका छन् ।

वास्तवमा दुई देश बीचको आधुनिक कलाहरू प्रायः छुट्याउन सकिने अवस्थाको हुँदैन किनकि नेपालमा आधुनिक कला बनाउने क्रमको विकासमा, शुरुवाती कालमा त्यहीँको कला प्रभाव परेको देखिन्छ ।

शुरुका समयमा नेपालबाट कलाकारहरू भारतमा गई अध्ययन गरी नेपाल फर्केर आउने गर्दथे । त्यस ताकाका कलाकारहरू त्यहाँबाट सीप सिकेर, अध्ययन गरेर आएपछि नै नेपालमा आधुनिक कला सिर्जना गर्ने क्रमको थालनी र विकास द्रुत गतिमा हुन थालेको हो । यसरी दुई देशको कलामय सम्बन्धले मित्र राष्ट्रबीचको दौत्य सम्बन्धलाई झन् पारिलो बनाएको छ । प्रगाढ्ता थपेको छ भन्दा अत्युक्ति नहोला ।

सम्बन्धलाई कसिलो बनाउने सन्दर्भमा नेपालमा स्थापित रहेको सक्रिय ग्यालरी मिथिला यान आर्ट ग्यालरीको भूमिका उल्लेख र योग्य बन्दै गएको सन्दर्भ यहाँ छ । कला प्रदर्शनी, कला कार्यशाला एवं कलाका विविध गतिविधिहरूमा आफ्नो स्थापनाकालदेखि नै यस ग्यालरीले क्रियाशील रुपमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । यो ग्यालरीले आजसम्म स्वदेश तथा विदेशका सयौं कलाकारहरूका कृतिहरूको संयुक्त एवम् एकल कला प्रदर्शनी र कला कार्याशालाको आयोजना नेपालमा गरी सकेको छ । नेपाल, भारत, बंगलादेश, कोरिया लगायत थुप्रै देशका कलाकारहरूले यस ग्यालरीमा प्रदर्शनी गरिसकेका छन् भने विभिन्न देश बीचको संयुक्त प्रदर्शनी एवं कला कार्यशाला भइसकेको छ ।

यसै सन्दर्भमा नेपाल भारतको परम्परागत सम्बन्धलाई कलाको माध्यम हेतु पारिलो पार्नेक्रममा गत पौष १३ गते मंगलबारको दिन मिथिला ग्यालरीले भारत र नेपालका कलाकारहरूको संयुक्त कला प्रदर्शनी र रंगोली २ कार्यक्रम ग-यो । जसमा भारतका प्रियान्सी सोनी, रेबिका शाक्य, मनिसा टाईगर, मिनाक्षी दुबे, कोमल मनिक पुरी, रेणु यादव, विपिन भगत, फरान अली, राकेश साहु, शेखर किरसागर, अरबिन्द प्रजापती, पवन कुशवाह, अवनिश विश्वकर्मा, दिब्या देवानगन, यासिका चौधरी, प्रिया चान्दवानी आदि रहेका छन् ।

यसै गरी रंगोली २ को कला कार्यशालामा भारतबाट आएका कलाकार शिवारंगले आफ्नो रंगोली प्रतिभा प्रस्तुत गरेका थिए । उनले नेपालकी चर्चित सिनेकर्मी नायिका स्वस्तिका खड्काको पोट्रेट अर्थात् मुहार चित्रको सिर्जना गरेका थिए । स्वयम स्वस्तिकाको उपस्थितमा बनाइएको मुहार चित्र उत्कृष्ट बनेको थियो । कलाकार शिवारंग भारतका एक चर्चित रंगोली कलाकार हुन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको धुलो रङ छर्केर चित्र बनाएका छन् ।

उक्त कला प्रदर्शनीको उद्धाटन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति केके कर्माचार्यले गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथि वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य रहनु भएको थियो भने अतिथिका रुपमा कलाकार, कला समीक्षक तीर्थ निरौलाले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन ग्यालरीका संचालक एवं वरिष्ठ कलाकार श्यामसुन्दर यादवले गर्नु भएको थियो । उहाँले कार्यक्रमको अचित्यबारे पुष्टि गर्नु भयो र प्रदर्शनी नियमित चलिरहने जानकारी दिनुभयो ।