प्रकाश सायमी

आयेगा , आयेगा आनेवाला …

लता मंगेशकरको यो हिट गीत आएपछि उनको स्वरको भन्दा यसको गायिकाको खूब चर्चा भयो । ‘महल’ फिल्मको यो गीत लताले गाएकी हुन् तर डिस्क रेकर्डमा कामिनी भनेर छापिएको थियो । कामिनी यस चलचित्रकी नायिकाको नाउँ हो ।

प्रकाश सायमि

फिल्मको पात्र कामिनीको भूमिकामा मधुबालाले थिइन् । कामिनीपछि मात्र लताको नामको चर्चा भयो । लतालाई चिनाउने यस गीतका संगीतकार खेमचन्द प्रकाश थिए, जसको यो फिल्मले ख्याति पाउनुअगि नै निधन भयो । संगीतकार भन्दा बढी यस गीतका संगीत संयोजकको पनि चर्चा खूब भयो । संगीत संयोजक थिए, भोलानाथ श्रेष्ठ ।

संयोग कति अनौठो रह्यो, यस गीतका दुई प्रमुख पात्र भोला श्रेष्ठ अनि खेमचन्द प्रकाश दुवैको नेपालसित गहिरो सम्बन्ध थियो ।

संगीत संयोजक भोला काठमान्डूको यँगाल निवासी थिए । उनी यँगालभन्दा पहिले ललितपुरको पिम्बहालस्थित तःजा फल्चामा बस्थे ।

आफ्ना दाजुभाइसित मिल्न नसकेर उनी ललितपुरबाट काठमान्डू सरेका हुन् भन्ने संस्कृतिविद् मोहनकृष्ण न्याँछ्योको भनाइ छ । नाकको दुवै प्वालबाट बाँसुरी बजाउन सक्ने भोला काठमान्डूबाट आफ्ना दिदीका साथ कोलकाता गए । कोलकाताको मोडर्न थिएटर त्यो बेला सिनेमा र संगीतको आकर्षक थलो थियो । त्यहाँबाट भोला बम्बई गए, बम्बईमा बङ्गाली भाषा र संस्कृति जान्ने र बुझ्ने एकाधिकार भएको समय भोला बम्बईसित अपरिचित खेमचन्दसित निकट भए ।

खेमचन्द प्रकाश पनि त्यतिबेला भर्खरै नेपालबाट बम्बई गएका थिए । प्रकाश राणाकालीन नेपालमा दरबारमा संगीत सिकाउन ग्वालियर दरबारबाट झिकाइएका थिए । नेपालको विभिन्न दरबारमा काम गर्दागर्दै उनी पछि पाल्पामा रुद्र शम्सेरको दरबारमा संगीतका गुरुका रुपमा स्थायी भए । पाल्पाको दरबारमा उनले संगीत सिकाएका एकसेएक शिष्य पछि रेडियो नेपालका स्तम्भ भए ।

रेडियो नेपाल प्रसारणको शुरुमा बज्ने शंखध्वनिको धुन संगीत गर्ने उस्ताद गोविन्दलाल नेपाली प्रकाशकै एक शिष्य थिए । उस्ताद गोविन्दलालले कविवर माधव घिमिरेको गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली गीतमा पनि संगीत भरे ।

उस्ताद् गोविन्दलाल ती व्यक्तिमध्ये थिए, जसले रेडियो नेपालमा नारायण गोपालको स्वरपरीक्षा लिँदा प्रमुख निर्णायक भएर बसेका थिए । उस्ताद गोविन्दलालले नारायणगोपाल बाहेक धेरै कलाकारको स्वरपरीक्षा लिए ।

उस्ताद गोविन्दलाललाई दीक्षा दिने गुरु प्रकाशले बलिउडमा लतालाई लञ्चिङ प्याड् दिए भन्दा अत्युक्ति नहोला ।

प्रकाश जस्तै अर्का ख्यातनामा संगीतकार भोला श्रेष्ठ ललितपुरको नेवार परिवारमा जन्मिएका हुन् । उनकी दिदीको विवाह भारतका प्रसिद्ध नृत्य निर्देशक गोपी कृष्णसित भएपछि उनी त्यही नाताले मुम्बईसँग जोडिन पुगे । भोला श्रेष्ठले सन् १९५६ मा लतालाई हिन्दी फिल्म ‘ये बस्ती ये लोग’ मा ‘दिल जलेगा तो जमाने में क्या होगा’ .. गाउन लगाए ।
लतालाई हिन्दी फिल्ममा गीत गाउन लगाउने पहिलो नेपाली संगीतकार भोलाले पछि किशोरकुमारको संगीतका धेरै गीतमा सहायक भएर काम पनि गरे ।

भोला श्रेष्ठको अल्पायुमा हृदयाघातका कारण निधन भयो ।

उनको निधन हुँदा उनीसित एम्बुलेन्समा यात्रा गर्ने उनका मित्र दिलीप चित्रेले उनको विषयमा सन् १९७२ मा ‘एम्बुलेन्स में सफर’ शीर्षकको कविता पनि लेखे ।

यही कविताबाट दिलीप चित्रे हिन्दी र अङ्ग्रेजी कविताका पाठकका प्रिय कवि भए । कवि दिलीप चित्रे एक फिल्मकार पनि हुन् । उनले गोविन्द निहलाणीको फिल्म ‘अर्द्धसत्य’ का निम्ति शीर्ष कविता ‘अर्द्धसत्य’ लेखेका छन् । गोविन्द निहालाणीको अर्को फिल्म ‘विजेता’को उनले सम्वाद् पनि लेखेका छन् ।

दिलीप चित्रे आफैँ फिल्म निर्देशक पनि हुन् । नेपाली संगीतकार भोला श्रेष्ठसित निकटवर्ती सम्बन्ध भएका चित्रेले प्रसिद्ध नेपाली अभिनेत्री तृप्ती नाडकरलाई पहिलो पटक फिल्म ‘गोदाम’मा ब्रेक दिएका थिए । ‘गोदाम’ नै तृप्ती को पहिलो स्क्रिन टेस्ट भने पनि हुन्छ ।

‘गोदाम’पछि तृप्तीले मार्क जुबेर र दीप्ति नवलसित ‘प्रतिभा’ नामक् फिल्ममा स्क्रिन शेयर गर्दै पछि नेपाली फिल्ममा उनी स्थापित नायिका भइन् । सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे, कोसेली हुँदै उनी पछिसम्म नेपाली फिल्ममा व्यस्त रहिन् ।

तृप्तीलाई पर्दामा ल्याउने चित्रेले पछिसम्म भोलाको परिवारमा अभिभावकको भूमिका निभाइरहे ।

भोलाका दुई छोरी मृणल र पूर्णिमा चित्रेलाई दिलीप दादा भनेर नै सम्बोधन गर्छन् । भोलाकी कान्छी छोरी पूर्णीमा कुनै समय हिन्दी फिल्ममा सुषमा श्रेष्ठ नामबाट बाल गीत गाउँथिन् भने उनले नेपाली चलचित्र सिँदूर, जूनी, कन्यादान, सन्तान, अवतार, सिमाना, चेलीबेटी, तिलहरी आदि जस्ता सयौँ फिल्ममा आफ्नो आवाज दिएकी छिन् ।

सुषमाले शुरुमा शंकरजयकिशन, कल्याणजी आनन्दजी, आरडी बर्मनको संगीतमा ‘यादों की बारात’, ‘अन्दाज’, ‘हम किसी से कम नहीं’ आदि चलचित्रमा गाइन् भने पछि पूर्णिमा नामबाट कमव्याक् गरेपछि एन चन्द्राको ‘अंकुश’मा कुलदीप सिंहको संगीतमा एक विशेष गीत गाइन् –

इतने शक्ति हमें दे ना दाता
मन का विश्वास कमजोर होना …

यस गीतका संगीतकार कुलदीप सिंहले गत साता पंक्तिकारसित यस गीतको सफलताको श्रेय गीतकार अभिलाष अवस्थी र गायिका पूर्णिमालाई दिने गरेको बताए ।

‘अंकुश’पछि पूर्णिमाले ‘हिरो नम्बर वन’ मा करिश्मा कपूरका लागि, ‘अञ्जाम’मा माधुरी दीक्षितको लागि गाइन् भने ‘दिलजले’ फिल्ममा मधुका लागि ‘शाम है धुआँ धुआँ’ गाएर ख्याति कमाइन् ।

पूर्णीमाले बलिउडमा नयाँ पुस्ताका गायक कुणाल गाञ्जावालालाई ल्याउन भरमग्दूर प्रयास गरिन् । आज पनि गाञ्जावाला पूर्णिमालाई आफ्नी मेन्टर मान्छन् ।

गायिका पूर्णीमाले नेपाली फिल्म ‘कन्यादान’मा गाएको ‘तीजको रहर आयो बरी लै’ सर्वाधिक लोकप्रिय गीतमध्ये एउटा हो, जुन गीतको स्थान तीजमा अर्को गीतले लिन सकेको छैन ।

नेपाली फिल्ममा लगभग सबै संगीतकारसित काम गरिसकेकी पूर्णिमाले भारतमा पनि पुरानादेखि नयाँ पुस्ता सबैसँग सहकार्य गर्न सफल भएकी छिन् ।

पूर्णिमाका फूफाज्यू गोपीकृष्णले व्ही शान्तारामको हिन्दी फिल्म ‘झनक झनक पायल बाजे’मा गरेको नृत्य निर्देशन आज पनि चर्चाको विषय बनेको छ ।

नृत्यनिर्देशक गोपी कृष्ण र उनका भाइ माधव कृष्ण दुवै नृत्य जगतका गुरु हुन् । मुम्बई बस्ने माधव कृष्णको वैवाहिक जीवन पनि काठमान्डूको कालिमाटीमै सम्पन्न भयो ।
माधव किशनले ‘सपना’ फिल्मको ‘सुन्दरीको मनमा बस्ने को होला’ … गीत गर्नु भन्दाअगि पनि धेरैओटा नेपाली फिल्ममा गुरु विद्या दिइसकेका थिए ।

नृत्यजगतका यी अद्वितीय गुरु गोपीकृष्ण र माधव कृष्णकी आमा तारा प्रसिद्ध नृत्याँगना सितारादेवीकी बहिनी हुन् ।

पद्मश्री सितारादेवी मुगल ए आजम बनाउने के आसिफकी पूर्व पत्नी हुन् भने उनले मुगल ए आजम का केही गीतमा नृत्यनिर्देशन पनि गरेकी थिइन् । सितारादेवी बलिउड सिने जगतमा उच्च आदरका साथ लिइने एक नाम हो भने उनका बारेमा उर्दूका नामचीन साहित्यकार सआदत हसन मन्टोले मीनाबजारमा विशेष चर्चा नै गरेका छन् ।

मन्टोले लेखेका छन्, ‘सितारा सयवर्षमा एकपटक जन्मिने हस्ति हो ।’

भनिन्छ सिताराकी आमा नेपालमा जुद्ध शम्सेरको दरबारकी एक कुशल नर्तकी थिइन् । दरबारभित्रै सुखदेवजीसित प्रेमप्रणय शुरु भएपछि जुद्धशमशेरको डरले भागेर उनले बनारसमा गएर विवाह गरिन् । त्यसपछि सितारा, तारा र अलकनन्दालाई जन्म दिएर उनी भारतमै विलय भइन् ।

भारतीय साहित्य, संगीत र कलाका सन्दर्भमा सितारादेवी र उनको परिवारको नाउँ उच्च सम्मानका साथ लिइन्छ । सितारादेवीका छोरा रञ्जीत बारोट पनि हिन्दी फिल्ममा पृष्ठ संगीतमा एक चर्चित नाम हुन् ।

रञ्जीत बारोटले इज्जतले लिने एक संगीतकारको नाउँ हो, लुई ब्याँक्स् । लुई ब्याँक्स् काठमान्डू भुरुँगखेल निवासी बखतबहादुर बुढापिर्थीका नाति डम्बरबहादुर बुढापिर्थी हुन् ।
नेपालको अघिल्लो राष्ट्र गान ‘श्रीमान् गम्भीर…’ का संगीतकार बुढापिर्थीका छोरा जर्जी ब्याङ्क्स् कामको खोजी भारतको कोलकाता हुँदै पछि दार्जिलिङ गए । दार्जिलिङमै वैवाहिक जीवन शुरु गरेर उतै बसेका जर्जी ब्याङ्क्स् पछि सांगीतिक जीवन शुरु गर्न काठमान्डू आएर होटल अन्नपूर्णमा बजाउन थाले । र, सँगै आफ्ना छोरा लुई ब्याँक्स् अर्थात् डम्बरलाई पनि बोलाए ।

लुईले केही वर्ष रत्नपार्कको पार्क स्ट्रिटमा बजाए, त्यसपछि उनलाई होटल सोल्टीमा बजाउने निम्तो आयो । होटल सोल्टीमा बजाउँदा बजाउँदै उनलाई कोलकाताको एउटा होटल साहूले कोलकाता आउन निम्ता दिए । आफ्नो बाबुको अनुमति लिएर लुई ब्याँक्स काठमान्डू छोडेर भारतको कोलकत्ता पुगे, होटलमा बजाउन । कोलकत्ताको त्यही होटलबाट उनलाई बलिउडका प्रसिद्ध संगीतकार आरडी बर्मनले हिन्दी फिल्ममा पियानो बजाउन बोलाए ।