अनलाइनमार्फत आयोजना भएको बृहत अन्तर्राष्ट्रिय कला प्रतियोगिताको उत्कृष्ट सातमा नेपालका दुईजना कलाकारहरू पनि पर्न सफल भएका छन् ।
आर्टसमेट इन्टरनेसनल र एनबी गुरुङ आर्टस्टुडियोको सहकार्यमा ‘ट्रुली वाटर कलर–इन्टरनेसनल जुरिद अनलाइन वाटर कलर एक्जिबिसन’ शीर्षकमा अनलाइन कला प्रतियोगिताको आयोजना भएको थियो ।
जसमा उत्कृष्ट सातमध्ये प्रथम पुरस्कारको रूपमा म्यानमारका थिन स्विकीले ४ सय डलर प्राप्त गरेका छन् भने चीनका रोंग जु कावोले तीनसय डलर नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी, थाइल्यान्डका टोसापोरन चान्टरासुकले दुईसय डलर, रसियाका याकुवा भिक्टोरियाले सय डलर, म्यानमारका मियान्त नाईगंले ५० डलर प्राप्त गरेका छन् । यता नेपालतर्फ भने डी.बरालले २५० डलर र विश्वराज पराजुली ले ५० डलर जितेका छन् ।
यस प्रतियोगिताको जुरी सदस्यहरूमा भारतका अमित कपुर, अमेरिकाका एन्डी इभान्सन र स्टेला क्यानफिल्ड, नेपालका डि.राम पाल्पाली र एन बी गुरुङ, चीनका होङ्ग शाङ्ग, सिंगापुरका ओङ्ग किम शेङ्ग, र दक्षिण कोरियाका यु मिई पार्क कलाकारहरू थिए ।
प्रतियोगिताका उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा पनि राखिने छन् । सार्वजनिक आह्वान गरिएकोमा जम्मा ५१ देशका ४८३ कलाकृतिहरू प्राप्त भएका थिए । जसमध्ये ४६ देशका ३०२ वटा उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा राख्ने आयोजक टिमले जानकारी गराएको छ ।
कला प्रदर्शनी यही डिसेम्बर १० देखि २५ तारिखसम्म युट्युब तथा अन्य सामाजिक सञ्जाल र आर्ट एनबीगुरुङ डटकममा प्रदर्शनी हुनेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

