जिन्दगी जियाई लम्बाईमा हुनुपर्छ कि गहिराईमा ? यसबारे कसैको पनि दुई मत छैन कि वास्तवमा हामीले जीवन गहिराईमा बाँच्नुपर्छ । अङ्ग्रेज कवि जोन मिल्टनको छोटो जीवनमा जति प्रभावशाली कविता लेखे, लामो जीवन बाँचेका अन्य कविहरूले त्यति प्रभावशाली कविता लेख्न सकेनन् ।

साहित्यमा मात्र होइन, चित्रकलामा पनि यही कुरा देखिन्छ । रूसी चित्रकार मिखाइल लेबेदेभले छोटो जीवन बाँचे तर जति बाँचे र बाँचुञ्जेल जे जति सिर्जना यो संसारलाई छाडेर गए, त्यसको प्रभाव अद्यापि छँदैछ । गएको बिहीबार नोभेम्बर ४ मा उनको २१० औँ जन्मजयन्ती कलाप्रेमीहरूले उत्साहका साथ मनाए । र, यत्तिका वर्ष बितिसक्दा पनि उनको योगदान स्मरण गर्नु भनेको उनको कलाप्रभाव नै हो ।

शुरूवाती प्रभावशाली ल्यान्डस्केप चित्रकारमध्येमा उनी पर्छन्, जसले यस विधालाई लोकप्रिय बनाउन भूमिका खेले ।

१८११ नोभेम्बर ४ मा जन्मिएका मिखाइल लेबेदेभले सानै उमेरदेखि कलामा आफ्नो कौशल देखाइसकेका थिए । उनको प्रतिभा देखेर नै १९३३ अक्टोबर १४ मा रूसको काउन्सिल अफ एकेडेमी अफ आर्ट्सले उनलाई इटालीमा थप कलाकारिता अध्ययन गर्न पठायो ।

यो अध्ययनले ठूलो काम गर्यो । अध्ययन थालेको केही महिनादेखि नै उनका सिर्जनामा कला निखारिन थाल्यो । यसबीचमा उनले सिर्जना गरेका केही दर्जन पेन्टिङहरू उनका सबैभन्दा सुन्दर कलाकृतिमध्येमा गनिन्छ । यहाँ तिनै चित्रकलाहरू हामीले प्रस्तुत गरेका छौँ । तर दुःखको कुरा, उनको प्रतिभा अझ फस्टाउने समय हुँदै गर्दा १८३७ जुलाई १३ मा उनको निधन भयो ।