साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

चर्चिलको चित्रकला अढाई लाख पाउन्डमा बिक्री हुँदै

वाल्डेमर जानुस्जाक

कहिलेकाहीँ हामीलाई बडो अप्ठेरोमा पारिदिन्छन्, प्रशंसकहरुले । राष्ट्रवाद र अन्धोप्रेमले हामीलाई चिताङ खुवाउँछन् कहिलेकाहीँ । यो ठाउँँमा बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले बनाएको एउटा औसत चित्र (जुन अहिले तपाईंले देख्नु भएको छ), त्यसलाई लाखौँ पाउण्डमा किनिदिने दर्शक पनि छन् ।

हालै केही महिनाअघि हलिउडकी प्रख्यात अभिनेत्री एन्जेलिना जोलीले एउटा चित्र डाक बढाबढमा राखिन् । यो चित्र यस कारणले चर्चित थियो कि अभिनेता ब्राड पिटले  एन्जेलिना जोलीलाई प्रेम प्रस्तावका लागि सो चित्र किनेर दिएका थिए । यो एउटा औसत किसिमको चित्र थियो, जसमा मोरक्कोको एउटा मस्जिदको चित्रांकन गरिएको थियो ।

डाक बढाबढमा सबै कर तिरिसक्दा एन्जेलिना जोलीको हातमा कम्तीमा पनि ८० लाख पाउन्ड पर्नेछ ।

यस्ता झूर चित्रकलालाई १५ लाखदेखि २५ लाख पाउन्डसम्म तिर्नु तिनको ख्यातिका कारण ठीकै होला तर बौलाउने स्तरसम्म पैसा हाल्नु चाहिँ अचाक्ली नै हो ।

चर्चिलले यो चित्र त्यो बेला बनाएका थिए, जुन बेला विश्वयुद्ध सकिएको थियो । चर्चिल राष्ट्रनायकका रुपमा त्यो बेला चित्रित गरिएका थिए । बिदा मनाउन इटाली यात्रामा रहेका बेला उनको अनासिस याच (सुविधासम्पन्न पानी जहाज)मा सिगार मुखमा राख्दै चित्र बनाउन तल्लिन थिए । उनले यो चित्र आफ्नो प्रिय दार्शनिक अरस्तुलाई ससम्मान अर्पण गरेका थिए । एकातिर दार्शनिकलाई समर्पित चित्र, अर्कोतिर उनको मूडलाई अझ तिख्खर पार्न ओपेर गायिका मारिया कल्लासको उपस्थिति ! त्यो दृश्य कम्ता लोभलाग्दो थिएन !

यो चित्रले त्यो बेला नै १.३२ मिलियन पाउन्ड कमाइसकेको थियो । र, पनि प्रधानमन्त्री चर्चिलले आफ्नो यो कृतिले कम पैसा कमाएको गन्गन त्यो बेला एथेन्समा निकै चर्चाको विषय बनेको थियो ।

अब भने यो फेरि अमेरिकाको न्युयोर्कमा डाक बढाबढ हुँदैछ । अब यसको दाम कम्तीमा पनि अढाई लाख पाउन्डसम्म तिर्ने मान्छे फेला नपर्लान् भन्न सकिन्न ।

मानिसहरुको यस्ता रुचिको कुनै जवाफ छैन । मध्यकालताका सन्त पिटरको गोडाको नङ भनेर कयौँले कुस्त पैसामा बेचेका थिए । त्यस्तै जोन द रिभिलटर गीति एल्बमको पहिलो प्रति संकलन गर्नेहरुको मारामारी पनि स्मरण लायक छ ।

केही महिनाअघि यस्तै भोक वेस्ट ससेक्स शहरमा देखिएको थियो । कसैले चर्चिलको सिगार भनेर सिगार बेच्न खोजिरहेको थियो । त्यो चार हजार २ सय पाउन्डमा बिक्री भएको थियो । कतिसम्म भने केही वर्षअघि उनको चर्चित रोजवुड सिगार बक्स लगभग ८० हजार पाउन्डमा बिक्री भएको थियो ।

साँँच्चिकै भन्ने हो भने चित्रकारितामा चर्चिललाई भन्दा हिटलरले नै उछिन्ने हो । हिटलरको एउटा कुख्यात राजनीतिज्ञको रुपमा अन्त्य नभएको भए पक्कै पनि एउटा राम्रो चित्रकारका रुपमा ख्याति पाउने थिए । तर उनको दुर्भाग्य, उनले धेरै वर्षअघि युवा छँदा बनाएको पेन्टिङ डाक बढाबढ हुँदा जम्मा एक लाख पाउन्डमा बिक्री भएको थियो ।

यदि चर्चिल ज्यूँदै हुन्थे भने भन्ने थिए, ‘देख्यौ त, युद्धमा मैले हिटलरलाई मात्र हराइनँ, चित्रकलामा पनि हराइदिएँ ।’

यद्यपि, उनले यसो भनिरहँदा उनलाई सुन्नेहरुले मनमनै हिटलरको भन्दा झूर चित्र छ यार तिम्रो त भन्ने थिए नै !

(वाल्डेमर जानुस्जाक सन्डे टाइम्स आर्ट क्रिटिक हुन् । द सन्डे टाइम्सबाट उनको यो आलेख अनुवाद गरिएको हो । )

प्रतिक्रिया
Loading...