पल सेजानेको बिग बाथर्स या लार्ज बाथरका रूपमा यो नुहाइरहेको वृहद् चित्र निकै चर्चित चित्रकला हो ।

नुहाइरहेको शृंखलामा पलले धेरै वटा चित्रहरू बनाएकाले अन्य चित्र र यो चित्रबीच फरक जनाउन बिग वा लार्ज बाथर्सका रूपमा यसलाइ नामकरण गरिएको हो । यो चित्र संसारका मास्टरपिस चित्रकलाहरूमध्येमा लिइन्छ । र, स्वयं चित्रकारको जीवनकै उम्दा सिर्जनाका रूपमा पनि मानिन्छ ।

सजानेले स्नान शीर्षकको चित्रकला शृंखलाका अनेकन् चित्र त बनाए, ती बनाउन उनलाइ करिब सात वर्षको समय पनि लाग्यो । यो चित्र भने पूर्ण हुनै नपाइ सन् १९०६ मा सजानेको निधन भयो । सन् १९३७ मा नै यो चित्रकलालाइ अमेरिकी एक संस्थाले एक लाख १० हजार डलरमा खरिद गरी फिलाडेल्फिया म्युजियम अफ आर्टलाइ जिम्मा लगाएको थियो ।

सजानेले चित्र बनाउँदा एब्स्ट्राक्ट शैली अपनाएका छन् । हुन त चित्र युगयुगसम्म बाँच्नका लागि प्रस्ट बनाउने कि कूटशैलीको भन्ने विषयमा धेरै मत होलान् तर सजानेको निजी धारणा भने एब्सट्राक्ट चित्र नै बढी समयसम्म बाँच्छ भन्ने नै थियो ।

को हुन् पल सेजाने ?
१९ जनवरी १८३९ मा फ्रान्समा जन्मिएका पल विभिन्न कला अभियान चलाउने उम्दा चित्रकारका रूपमा चिनिन्छन् ।

उनका बुवा बैंकर थिए र उनी पनि बैंकर नै बनून् भन्ने चाहन्थे तर उनले कलालाइ आफ्नो अभिव्यक्तिको माध्यम बनाए ।

कलाकारितामा जम्दै गर्दा उनले आफूजस्तै साथी फेला पारे, क्यामिल पिसारो । अन्य चर्चित कलाकारझैँ उनका चित्रकलालाइ पनि देशकै चर्चित प्रदर्शनी हल पेरिस सलोनले प्रदर्शनीका लागि अस्वीकार गरेको थियो । र, यो क्रम सन् १८६४ देखि १८६९ सम्म जारी रह्यो । तर उनले हार मानेनन् । पछि सन् १९८२ मा अर्का एक जना चित्रकार एन्टोनी गुलेमेटले उनका सिर्जनाले ठाउँ पाउनुपर्ने अडान राखेकाले अन्ततः ठाउँ पाइछाड्यो । त्यो बेला पेरिस सलोनमा प्रदर्शनीमा ठाउँ पाउनु भनेको कलाकारका रूपमा इज्जत पाउनुसरह थियो ।

तर उनले त्यो इज्जत पाउन १८९५ सम्म कुनु पयो ।

जीवनको उत्तरार्धतिर भने उनी पेरिसबाट निकै टाढा दक्षिणी फ्रान्समा चित्र कोर्दै बस्न थाले ।

एक दिन उनी खेतमा चित्र बनाउँदै गर्दा आँधीले उनका सबै काम ध्वस्त बनाइदियो । आँधी र उनको कसले कसलाइ परास्त गर्ने प्रतिस्पर्धा चल्यो तर उनी पराजित भए । कुनै एक जना मानिसले उनी पछारिएको देखेपछि उनलाइ तत्काल होशमा ल्याउने प्रयास गरियो । उनको होश खुल्यो तर खेतमा गएर नयाँ चित्र कोर्ने रहर मेटिएको थिएन । केही समयपछि उनलाइ निमोनिया हुन पुग्यो । निमोनियाले उनलाइ २२ अक्टोबर १९०६ मा ६७ वर्षकै उमेरमा यो संसारबाट बिदा दियो ।

धेरै पटक उनको कामलाइ विज्ञ चित्रकारहरूले काम नलाग्ने शैली भने पनि नयाँ पुस्ताका लागि उनी प्रेरक चित्रकार रहे ।

उनका प्रशंसकहरूमध्ये अर्नेस्ट हेमिङ्वे पनि एक थिए । हेमिङ्वेको अ मुभेबल फिस्ट उपन्यासमा उनको चित्रकलाबारे टिप्पणी समेत गरिएको छ ।

उनका चित्रकलाहरू नाजीले मात्र लुटेनन्, कला चोरहरूले पनि लुटेका छन् । यसबाट पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

यो चित्रमा के हेर्ने ?

१. घोप्टे स्त्री
बाल्यकालमा आफ्नो घर नजिकको आर्क नदीमा चित्रकार नुहाउन जान्थे । त्यहाँ नुहाउनेहरूको झुण्ड हुन्थ्यो । सोही प्रभाव यो चित्रमा परेको केही समीक्षकको दाबी छ । यहाँ महिलाहरू नजिक नजिक टाँस्सिएका छन् । विभिन्न महिलाहरूको भिन्दाभिन्दै पोज भए पनि तिनीहरू एकअर्कामा कति नजिक छन् भनी देखाउन खोजिएको छ ।

२. स्त्री आकारको सामान्यीकरण
केही टिप्पणीकारले उनलाइ लुगा लगाएकी स्त्री सबैभन्दा तर्साउने भूताहा लाग्थ्यो भनी ठट्टा गर्ने गर्छन् तर उनका नग्न स्त्रीहरू कुनै क्लिष्ट जिउडाल, आकार प्रकारका हुँदैनन् । ती सामान्य जीवनमा देखा परिरहने युवती वा महिलाहरूजस्तै हुन्छन् । सामान्य स्त्रीले उनलाइ जति आकर्षित गर्थे, त्यति अदभुत सुन्दरता भएकाले गर्दैनथे । अर्कोतर्फ उनले शारीरिक संरचनामा नबाँधिदा उनी आधाकारिक भइरहनुपर्ने औपचारिकताबाट पनि मुक्त हुन्थे ।

३. रूखहरू
यसमा देखिएका रूखहरू एकअर्कामा झुकेका छन् । यो झुकाइले आर्क स्वरूप देखिएको छ ।

४. ल्यान्डस्केप
पर घर, रूख, वृहद् खेत पनि देखाएर यी स्त्रीहरू कति नजिक वा टाढाबाट खोलासम्म खेल्न आइपुगेका हुन् भनी उनले सुझाउन खोजेका छन् ।

५. गति
अधिकांश स्त्रीहरू बसे सुतेको देखिए पनि एक जना स्त्री हिँडेको देखिन्छ । यसले स्थिरतामा रहेको गतिका बारेमा देखाएका छन् ।

तपाइँले अरू पनि चिज देख्नुहुन्छ कि ?