विधागत रूपमा कुनै एक क्षेत्रमा स्थापित व्यक्तिको कुनै अर्को प्रतिभा छ भने त्यो केवल उसको रहर र शौख मात्र बनिदिन्छ। कारण, उसले आफू कुन क्षेत्रमा अब्बल छ- त्यसैमा भविष्य देख्दछ र त्यसै विधालाई मात्र निरन्तरता दिएको पाइन्छ। यस्ता उदाहरणहरू समाजमा प्रशस्तै देखिन्छन् तर यी कुराहरूबाट ‘अपवाद’ बनेर दुई फरक विधामा उत्तिकै स्थापित हुन सफल एक नाम हो, सुजन तामाङ।

काठमाडौँ पकनाजोलमा जन्मिएका सुजन तामाङ सानैदेखि चित्र कोर्न रूचाउँथे। विद्यालयमा उनले बनाएका चित्रहरु उनका साथीभाइ र गुरुहरूमाझ चर्चा र प्रशंसाको विषय हुने गर्दथ्यो । फलस्वरूप एसएलसी पास भएलगत्तै फुपाजू वरिष्ठ कलाकार स्वर्गीय अमीरमान चित्रकारको सल्लाहअनुसार उनी ललितकला क्याम्पसमा भर्ना भै अध्ययन गर्न थाले।

घरमा भने बुबा र दुई दाजुहरु व्यायाम गर्नु हुन्थ्यो । उनको पारिवारिक माहोल नै व्यायाममैत्री थियो । यो दृश्य सानैदेखि देखेकाले उनको रूचि र लगाव व्यायामतिर बढ्नु स्वाभाविक नै थियो ।

सुजनका अनुसार प्रसिद्ध हलिउड अभिनेता सिल्वेस्टर स्टेलोन (रेम्बो) बाट उनी निकै प्रभावित थिए। उनको मिलेको सुगठित शरीरबाट अभिप्रेरित भई सानैदेखि व्यायाम गर्न थाले ।

२०६३ सालदेखि पर्फेक्ट जिम् बालाजुमा जिम् गर्न शुरु गरे। प्रशिक्षक गुरु मनोज श्रेष्ठको सल्लाहअनुसार उनले जिम शुरुवात गरेको दुई महिनामै नेपाल शारीरिक सुगठन संघको आयोजनामा भएको ‘मिष्टर हिमालय’ शारीरिक सुगठन प्रतियोगितामा सहभागी भए।

५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेको यो नै उनको पहिलो प्रतिस्पर्धा थियो, जसमा उनी तौल समूहमा उत्कृष्ट पाँचमा पर्न सफल भए। त्यसैताका सन् २००७ को नेपाल व्यायाम मन्दिरबाट आयोजना भएको धर्मश्री प्रतियोगितामा प्रतिस्पर्धा गर्दा छनोट चरणबाटै बाहिरिए।

यस घटनाले उनलाई साह्रै निराश बनायो। अनि अबदेखि व्यायाम नगर्ने निष्कर्षमा उनी पुगे‌। नैराश्यताका बीच तीन वर्ष जति उनी जिममा फर्केनन्। कलातिर ध्यान मोड्न थाले। २०६४ सालमा स्नातक तहको चित्रकला प्रतियोगिता आयोजना भयो। सो प्रतियोगितामा उनी सहभागी भएर दोस्रो स्थान जित्न सफल भए।

यस्तै २०६५ सालमा अन्तर क्याम्पस स्तरीय चित्रकला प्रतियोगिता आयोजन भयो। जसमा उनी प्रथम हुँदै वर्षको उत्कृष्ट चित्रकार मात्र घोषित भएनन्, पन्थी स्मृति पुरस्कारबाट नगद १० हजारसमेत प्राप्त गर्न सफल भए ।

यसैबीच सुजनले ललितकला क्याम्पसबाट एकदिन घर फर्कने क्रममा सब वेमा एउटा ठूलो बडी बिल्डरको तस्बिर देखे। इन्टरनेटमा गएर खोजी गर्दा उनी चर्चित बडी बिल्डर ‘जे कट्लर’ रहेछन्। उनको बारेमा थप खोजी गर्दा कट्लरको संघर्षको कथाले उनलाई निकै छोयो ।

यसपछि त कलासँगै शारीरिक व्यायाममा पनि आफूले केही गर्न सक्ने याँ ऊर्जा प्राप्त गरेझैँ भयो उनलाई । यसपछि परफेक्ट जिमका सञ्चालक रवीन्द्र कपालीको सल्लाहअनुसार नेपाल व्यायाम मन्दिरमा सदस्य बने। व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान र प्रशिक्षक सुन्दर पोडेको निगरानीमा कडा व्यायाम गर्न थाले।

सो व्यायामले उनलाई यति आत्मविश्वास दिलायो कि बाह्रौं “धर्मश्री” प्रतियोगितामा भाग लिए र त्यसमा दोस्रो स्थानमा जमे । हुन त उनलाई प्रथम स्थान चाहिएको थियो तर दोस्रोमा चित्त बुझाए ।

उनी भन्छन्, ‘सन् २०११ को अक्टोबरमा थाइल्याण्डको बैंककमा हुने ४५ औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा २६ वर्षको कलिलो उमेरमै छनोट हुन सफल भएँ। पहिलो एसियाली खेलकुदमा सहभागी हुने अवसर पाएँ । जुन खेलमा उत्कृष्ट पाँचमा पर्न सफल भएँ ।’

लगत्तै सन् २०१२ मा चीनको ग्वानझाउमा आयाोजित ४६ औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालको तर्फबाट पहिलो एसियाली “कास्यपदक” भित्राउन सफल भए। चौथो “मिष्टर हिमालय” मा ५५ केजी तौल समूहमा “प्रथम” भए। २०६९ सालमा नेपाल जिम सिद्धार्थनगरको आयोजनामा भएको अम्बुजा मिष्टर नेपालमा उनी ६० केजी तौल समूहमा “प्रथम” भए। सन् २०१४ को राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनी ६० केजी तौलसमूहमा “मिष्टर नेपाल”को उपाधि चुम्न सफल भए। यस्तै सोही वर्ष पाकिस्तानको लाहोरमा सम्पन्न दशौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धा गरेर पदक प्राप्त गर्न सफल भए ।

त्यसबेला नेपालले टिम च्याम्पियनको उपाधिसमेत प्राप्त गरेको थियो। २०७१ सालमा पोखरामा भएको प्रथम “मिस्टर बुल्सम्यान”मा उनले ६० केजी तौल सम्ममा स्वर्णपदक हात पारे। सफलताको फेहरिस्त सुनाउने क्रममा सुजनले थपे, ‘सन् २०१७ मा भएको छैटौँ मिष्टर हिमालय ६० केजी तौल समूहमा स्वर्ण पदक जितेँ। शारीरिक सुगठन खेलसँगै म त्यतै हराएँ भन्ने तपाईंले ठान्नुभयो होला तर त्यसो होइन । चित्रकला तर्फको रुझान पनि क्रमशः अघि बढिरहेकै थियो । सोही वर्ष अगस्ट महिनामा अमेरिकाको सिकागोमा पहिलो एकल जलरङ कला प्रदर्शनी गर्न सफलसमेत भएँ ।’

हाल उनी कला शिक्षकका रुपमा स्कुलहरुमा र फिटनेस क्लबहरूमा प्रशिक्षकको रूपमा आबध्द छन्।

जीवनमा अत्यन्त दुःखदायी क्षणका बारे चर्चा गर्दै उनी सम्झन्छन्, ‘सन् २०१४ सालतिर राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारीको क्रममै रहेको बेला अकस्मात् मेरा पिताको निधन भयो। म साह्रै निराश भएँ र प्रतियोगिताको तयारी त्याग्ने निष्कर्षमा पुगेँ तर यहीबेला नेपाल शारीरिक सुगठन तथा फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठ र महासचिव दिनेश राजभण्डारी तथा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले मलाई सम्झाउनुभयो र प्रतियोगिता नछुटाउन अनुरोध गर्नुभयो ।’

सोही प्रेरणाबाट उनले त्यसलगत्तै भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा सफलता हात पारे । उनी भन्छन्, ‘जीवनको आरोह अवरोहमा खेलाडीहरु कहिलेकाहीँ निराश हुने सम्भावना हुन्छ। यस्तो अवस्थामा तिनलाई सधैँ माया र सद्भाव सम्बन्धित चाहिन्छ ।’

अब कलातिर जाउँ, उनी आफ्नो अर्को रुचिको विधा चित्रकलामा समेत सफलता हात पारिरहेका छन्। हालसम्म उनले सामूहिक रुपमा ६० भन्दा बढी चित्रकला प्रदर्शनीमा सहभागी भइसकेका छन्।

उनले सन् २०१९ मा आयोजना भएको “वर्ल्ड वाटरकलर आर्ट कन्टेस्ट” मा सहभागी भएर छनोट चरण पार गरेका थिए। यसले साबित गर्दछ, उनी देशका अब्बल चित्रकारहरू माझ पनि अब्बलमा पर्दछन्।

प्रतियोगितामा उनले बनाएको चित्र टर्कीको संग्रहालयमा राखिएको छ‌। उनका कलाहरूमा प्रकृतिको यथार्थ चित्रण देख्न सकिन्छ। आउनुहोस् साहित्यपोस्टमा यस साता हामी उनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बडी बिल्डर एवं कलाकार सुजन तामाङको उम्दा कलाकृतिहरूको अवलोकन गरौँः