बौध्द ६ का स्थायी बासिन्दा सौरभ श्रेष्ठ आफूलाई कलाका विद्यार्थी भन्न रूचाउँछन्। हाल कलामा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत २५ वर्षीय श्रेष्ठ राम्रो सम्भावना बोकेका युवा कलाकार हुन्।
उनी आफ्नै नयाँ शैलीमा विशेष गरी देवीदेवताका चित्रण गर्न रूचाउँछन् । सानैदेखि आफ्ना कलाकार पिता शंकर श्रेष्ठले बनाउने गरेका परम्परागत देवी देवताका पेन्टिङ हेरी हुर्केका हुनाले आफ्नो प्रेरणाका स्रोत पनि आफ्नै पितालाई मान्दछन्।
प्रारम्भिक दिनहरूमा नै सौरभ परम्परागत कला अभ्यासहरूमा आधारित भएर काम गर्न थालेका कारण आफूले यसका आधारभूत नियम र सिध्दान्तहरू राम्रोसँग बुझ्ने मौका पाएको उनको ठम्याई छ।
देवी देवताका विभिन्न मुद्राहरूमा आधारित हरेक भावभंगिमाहरूका अर्थहरू जस्तै देवताका छालाका रङहरू र वाहन, संरचना लगायत विविध तत्त्वहरूकाबारे अध्ययन गर्ने बुझ्ने अवसर परम्परागत कला अभ्यास क्रममा पाएको उनले बताए।
यसरी बाल्यकालदेखिको प्रभावलाई सौरभले आफ्नो कलामा प्रस्तुत गरिरहेको उनका क्यानभासमा देखिने मानवीय रूपका विभिन्न देवी देवताका दैवीय गुण, स्वरूप, मुहारको भाव भंगिमा र देखाउन खोजेका गति एवं चालहरूबाट महसुस गर्न सकिन्छ।
कलाकार पारिवारिक पृष्ठभूमिबाट आएका सौरभले अहिले बुबाको कामलाई निरन्तरता दिँदै चित्रकारितामा निरन्तर लागिपरेका छन्।
नेवारी परम्परा र संस्कृतिमा आस्थाको धरोहर बनेको जीवित देवी “कुमारी” माथि बिम्ब बनाएर बालसुलभ चन्चलता र निर्दोष अबोधपनहरूलाई उनले सुन्दर ढंगबाट चित्रपटमा उतारेका छन्।
उनै युवा कलाकार सौरभ श्रेष्ठका केही थान महत्त्वपूर्ण आधुनिक परम्परागत शैलीका कलाहरू अवलोकन गरौंः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

