क्लाउड मनेटको चित्र सूर्योदय

“Real painters do not paint things as they are……..they paint them as they themselves feel than to be.”
Vincent Van Gog

कल्ड मनेट, एडगर डेगास, केमाइल पिस्सारो, पावल सिजान, अगस्ट रेनोएरहरू स्थापित पारम्परिक चित्रकलामा केही नयाँ र फरक काम गर्न चाहन्थे। रङको अद्भुत प्रयोगमार्फत भाव-बिम्ब दर्शाउने कलात्मक शैलीबाट आफनो विचार सम्प्रेषण गर्ने यो तरिका जोखिमपूर्ण थियो। फ्रान्सको चित्रकलामा शुरू हुन लागेको यो मुभमेन्ट इम्प्रेसनिज्म भनियो। कलालाई सिमानाभित्र बाँधेर राख्न सकिँदैन र त्यसलाई तोड्ने काम इम्प्रेसनिज्मले गर्यो।

क्यानभासमा कोरिएका चित्रहरू अब पहिलाको भन्दा आकार्षक र अलग देखिन थाले। दृश्यलाई रङ र आकारको बौद्धिक र चमत्कारी प्रभावद्वारा प्रस्तुत गर्नु इम्प्रेसनिस्टहरूको आवेग थियो। कलामा इम्प्रेसनिस्टले एक्ज्याक्टपनको विरोध आफ्नो कलामार्फत गर्न खोजेका हुन्। पारम्परिकतामा नयाँपन कलामा नौलो प्रयोग गर्नु कलामा स्वतन्त्रताको खोज थियो। समयले पुरानो कुरामाथि परिवर्तनको माग राख्छ। परिवर्तनले एउटा बहस, एउटा आन्दलोनको माहोल तयार गर्दा स्थापित परम्परा र मूल्यको विरोध गर्छ। अनि यो तब हुन्छ जब एउटा गुटले त्यही पुरानो परम्परा ठीक छ भन्छन्। आधुनिकतावादले चाहेको परिवर्तन नयाँ प्रयोग गर्नु थियो।

प्राकृतिक गाउँले र जीवनका स-साना घटनाहरूलाई दृश्यमा रङ्गयाउने काम इम्प्रेसनिस्टहरूले गर्न शुरू गरे। अँध्यारोको सट्टा उज्यालो चहकिलो रङहरूको पृष्ठभूमि प्रयोगमा आउन थाले। कल्ड मनेटको इम्प्रेसन सनराइज यसै शैलीमा बनाइएको थियो।

इम्पास्टो तकनिक जसमा रङलाई सोझै क्यानभासमा लगेर टियुबबाट प्रयोग गरियो। रङलाई छेउकुनाबाट प्रयोग गरेर मिश्रित गर्ने र त्यसमा रियालिजमको प्रभाव पार्ने काम गरियो। कालो रङको सट्टा नीलो गाढा रङको प्रभावशाली प्रयोग इम्प्रेसनिस्टहरूले गर्न शुरू गरे । हुबहु चित्र उतार्ने त्यो एक्ज्याक्टपनको विरोध गर्न इम्प्रेसनिस्टहरूले पातलो वा त खस्रो ब्रसको बढी प्रयोग गरेर ब्रस स्ट्रक्सको कमाल देखाउन लागे।
कन्टेम्पररी र समय सापेक्ष चित्रकारिताले व्यापक आन्दोलन गर्यो ।

आलोचकहरू इम्प्रेसनिस्टको चित्रले आकार्षित भए तर सहज विषय, अपूर्ण चित्र र अर्थहीन भनेर टिप्पणी गरे। पारम्परिक ढाँचोको विरोधमा गरेको यो आन्दलोन एउटा हस्तक्षेप नै थियो। चित्रकारिता गर्ने यो पहललाई इम्प्रेसनिज्म भनियो। आधुनिक उत्तरआधुनिकवादमा चित्रकलामा प्रवेश इम्प्रेसनिज्मबाट नै भित्रियो। आधुनिकतावादभित्र पछि गएर क्युबिज्म, रियालिज्म र सररियालिज्म देखापर्यो।

स्थापित पारम्परिक चित्रकलाको विषयवस्तु ऐतिहासिक र धार्मिक मिथकवादी थियो, जहाँ गर्नुपर्ने चित्रकारिता एक्ज्याक्टपनको थियो। नियमभित्र बाँधिएर ब्रस रङ चलाउनुपर्ने। त्यही एक्ज्याक्टपनबाट अलग भएर गरिएको काम इम्प्रेसनिज्म भयो अनि कलाकारहरू इम्प्रेसनिस्ट भए। दृश्यलाई रङ न आकारको बौद्धिक र चमत्कारी प्रभावद्वारा प्रस्तुत गर्नु इम्प्रेसनिस्टहरूको आवेग थियो। यो काम जोखिमपूर्ण थियो। रियालिज्मको छाँया (यथार्थवाद) पनि इम्परेसनिष्टको कलामा देखियो।

आधुनिकतावादले चाहेको नयाँपन यही थियो। चित्रकारहरू चारदिवारीबाट निस्किएको समय थियो यो, जहाँ उनीहरू प्राकृतिक गाउँले र समकालीन दृश्यहरूलाई लिएर क्यानभासमा काम गर्न लागे। रङको अद्भुत प्रयोग आकार र ब्रस स्ट्रोक्सलाई लिएर इम्प्रेसनिस्टहरू बढो संवेदनशील भए। कलामार्फत विचार सम्प्रेषण गर्ने यो तरिका सहज थिएन। इम्प्रेसनिस्टहरूको चित्रमा कालो रङहरूको प्रयोग कम हुन थाल्यो। डार्क टोन (अँध्यारो पाटो) का निम्ति उनीहरू नीलो गाढा रङ र मिश्रण रङहरूको प्रयोग गर्न लागे।

छोटो भद्दा देखिने ब्रस स्ट्रक्सले तयार पारेको सहज दृश्यहरू यिनीहरूको विषय बन्न पुग्यो। इम्पास्टो तकनिकको विशेष प्रयोग जहाँ रङलाई प्यालेटबाट लगेर क्यानभासमा दल्नुको सट्टा सोझै ब्रसले ट्युब निचारेर गर्न थालियो र रङलाई जथाभावी ढङ्गमा दलेर टेक्सचरलाई प्रभावकारी बनाइयो। रङलाई छेउकुनाबाट प्रयोग गरेर मिश्रण गर्ने तकनिक अद्भुत हुन्थ्यो। क्लड मनेटले रङ्गाएको चित्र ‘सनराइज’ मा यस्तै प्रयोग बढी पाइन्छ र उनलाई पछ्याउँदै अगस्ट रेनोएरले पनि त्यही प्रयोग गरे।

यसअघि रेनोएर अँध्यारो रङहरूको प्रयोग बढी गर्थे । पछि उनका मित्रले अँध्यारो रङको प्रयोग बढी किन गर्छौ भनी सोधेपछि यिनले उज्याला रङहरू चलाउन थाले। रेनोएर खुशी हुँदा राम्रो चित्र बनाउन सक्ने कुरामा विश्वास गर्थे।

चित्रकार भिन्सीले संगीतकार टोलीलाई निम्त्याएर गायन र संगीत आफूलाई हरदम खुशी पार्न गर्न लाइरहे र “मोनालिसा” जस्तो प्रसिद्ध चित्र कोरे। इम्प्रेसनिस्ट समाजवादको वैचारिकीतिर उन्मुख भएका थिए। भ्यानगको चित्रकारितामा पनि इम्प्रेसनिज्मको व्यापक प्रभाव देखिन्छ।

निराशावादी चित्रकार भिन्सेन्ट भ्यान गगका चित्रहरू जीवनको सुन्दरता देखिन्थ्यो । पहेँलो रङको खेल उनको ‘सनफ्लावर’ मा देख्न सकिन्छ। उनी आफैँसित हारेका थिए र घातले उनी बढी दुखेका थिए तर भ्यान गगको चित्रले प्रायः जीवनको उमङ्ग र हर्षको प्रकटीकरण गर्यो।

२९ जुलाई १८९० मा आफ्नै छातीमा गोली ठोके यिनले। दुई दिनपछि आफ्नो ओछ्यानबाट आफ्नो भाइ थियोलाई अन्तिमपल्ट भ्यानगगले “The saddness will last forever” भने र मरे। भिनसेन्ट भ्यान गगको अन्तिम चित्रलाई लिएर विवाद छ तर कति यिनले बनाएको अन्तिम चित्र Wheat Field with Crows अर्थात् गहुँ खेत कागहरूसित- लाई मान्छन् जहाँ रङहरूको प्रयोग अद्भुत देखिन्छ । नीलो आकाशमा अँध्यारो कालो बादलहरू र तलतिर पहेँलो गहुँ खेत र गहुँको बालाहरूमाथिबाट काला कागहरूको हुल झम्टिएको विदारक दृश्यहरू देखिन्छ। चित्रकारले आफ्नो जीवनको अन्तिम क्षणको दृश्यावलोकन गराएको भान हुन्छ।

कलामा सहजपन र इम्रेसनको छाप देखाउने काम भएको देखिन्छ भन्ने इम्प्रेसनिस्टहरूले देखाए । दैनिक जीवन घटनालाई टिपेर चित्रमार्फत इम्प्रेसनिस्टहरू जीवनको भाव-बिम्ब दर्शाएर विचार सम्प्रेषणमा सफल बन्दै गए। चित्रकलामा देखा परेको यस आन्दोलनले अन्य क्षेत्रलाई पनि प्रभाव गर्दै गयो। अंग्रेजी कवितामा इम्प्रेसनिज्मको प्रभाव परेको देखिन्छ। कविताको विषयवस्तु सोझै लेख्दै कम शब्दहरूको प्रयोग बिम्बबाट कवितालेखनले नयाँ बाटो समात्यो।

लेखनमा इम्प्रेसनिज्मको सतह, प्रकाश र रङहरू देखा पर्न थाले । एमी पावलले छोटा कविताहरूमा अर्थको दुर्बोधताबाट मुक्ति पाउन एउटै बिम्ब अथवा एउटै प्रतीकको प्रयोग गरेका थिए। त्यसैगरी थिएटर, नाटक, संगीतमा पनि इम्प्रेसनिज्मले धाक जमाउन थाल्यो । भाषिक अतिशयोक्ति, लय र वाद्ययन्त्रहरूको अपारम्परिक खेल देखा पर्न गयो।

आलोचकहरूले चित्रकलालाई विचार नभएको सस्तो विषयमाथि कोरिएका चित्रहरू समेत भने। चित्रकलामा मोडर्निज्म, इम्प्रेसनिज्म, एक्सप्रेसनिज्म, पोस्ट मोडर्निज्म, एब्सट्राएक्ट, फोटोरियालिज्म र सररियलिज्म एकपछि एक अर्को आन्दोलनको रूपमा देखा पर्नु कलामा स्वतन्त्रताको खोज थियो। सृजनशील भएर नौलो प्रयोगले कलाको सौन्दर्य अझ बढेर गएको हो। मानवीय अस्तित्व र चेतनाको सौन्दर्य नै कला हो, जो नयाँ प्रयोगमा बाँची रहन्छ।

विचार र कलाको तालमेलले नयाँ सृजनाहरूलाई जन्माउँछ। ढुङ्गालाई खोपेर एउटा सुन्दर आकार दिनुअघि कलाकारले विचारमा आकृति जन्माउँछ र ढुङ्गा खोपेपछि त्यहाँ कला देखिन्छ। कलाले विचार बोकेको हुन्छ। विचार र कलाको समागमले कलाकार बाँच्छ। हाल साहित्यमा हुँदै गरेको विवाद कला र विचारलाई लिएर भइराखेको छ। कति लेखनमा विचारको मात्र हिमायती गर्छन् भने केही कलाको पक्षमा मात्र खडा हुन्छन्।

फ्रासेली कवि स्टेफन मलार्मेले कविता विचारले होइन शब्दले लेखिन्छ भन्थे किनकि कविताहरूमा उनी शब्दको रासायनिक प्रयोग गर्थे। पारसमणि प्रधान भन्छन्- शब्द थुपारिकन के हुन्छ?

यी दुवैकोको भनाइको सार अलग देखिन्छ। पारसमणि विचारको कसीमा लेख्नु भन्दैछन् भन स्टेफन शब्दको भाषाको करामत देखाउनु कविता लेखन हो भन्छन्।

विचार र कला दुवैको समागम हुनु अति आवश्यक देखिन्छ। अहिलेका नयाँ कविहरु कवितालाई पर्फम आर्टजस्तो प्रस्तुत गर्नुपर्ने भन्छन्। कविताको कन्टेन्टमा विचारको पोका र प्रयोग भएको प्रतीक र बिम्बले कलालाई प्रतिनिधित्व गरेको हुन्छ। इम्प्रेसनिस्टहरूको प्रभाव हाम्रो नेपाली कविताको लेखन र वाचन दुवै कवितामा देखा पर्दैछ। कविता कला मात्र होइन, त्यहाँ विचार पनि छ।