भलै दुनियाँमा जति पनि राम्रो र नाम चलेको पेन्टिङ बनेका छन्, ती सबै मोनालिसा पेन्टिङको अगाडि चर्चाको हिसाबले फिका देखिन्छन्। म्युजियममा कस्ताकस्ता पेन्टिङ किन नहोस् तर सबको नजर यसैमा अडिएको छ। मोनालिसा केवल एक पेन्टिङ मात्र हैन, आफैँमा रहस्य हो । जुन रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेको छैन।

यसको रहस्य जान्नको लागि धेरै चित्रकार र मानिसहरूले यसमाथि काम गरिरहेका छन् तर सत्यतथ्य पत्ता लगाउन सकिरहेका छैनन्। करिब ५०० वर्ष पहिले चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको यस पेन्टिङको मुस्कानलाई लिएर कैयन किसिमका रहस्य सामुन्ने आएका छन्।

भनिन्छ, यो चेहराको मुस्कान हरकोणबाट अलग एंगलमा देखिन्छ। पहिले यो अलि बढी मात्रमा देखिन्थ्यो बिस्तारै बिस्तारै यो समयक्रमसँगै फिकापन बढ्न थालेपछि यसमा देखिने जादुयी मुस्कानको प्रभाव पनि कम हुन थालेको कला विश्लेषकहरूको आँकलन छ।

मोनालिसा पेन्टिङसँग कैयन किसिमका अन्य पनि रहस्यहरू जोडिएका छन्, जसमध्ये सात रहस्य आज साहित्यपोस्टमा तपाईंहरूका लागि उजागर गर्दैछौं।

१) मोनालिसाका लागि आत्महत्या गर्ने कलाकार

२३ जून १८५२ मा फ्रान्सको एक आर्टिस्ट ल्युक मास्पेरोले पेरिसको होटलको छतबाट हाम्फालेर आत्महत्या गरेका थिए। उनी मोनालिसाको सुन्दरता र रहस्यमयी मुस्कानबाट प्रभावित थिए। उनले आफू मोनालिसाको प्रेममा पागल भएको आफ्नो सुसाइड नोटमा उल्लेख गरेका थिए।

२) रहस्यमयी मुस्कान

भनिन्छ, यस पेन्टिङमा जुन महिलालाई चित्रण गरिएको थियो, उनीभित्र पनि कैयन किसिमको रहस्य लुकेको थियो। यसकारण यो पेन्टिङ पनि रहस्यमय बनेको छ। शायद यसै कारणले होला आजसम्म यो पेन्टिङको मुस्कान पनि एक रहस्य बन्न पुगेको छ। शोध अनुसन्धानका दौरान एक डाक्टरले भनेका थिए, ‘मोनालिसाको माथिल्लो दुई दाँत भाँच्चिएको थियो जसका कारण उनको माथिल्लो ओठ भित्रपट्टि दबिएको छ। यसै कारण हरेक एंगलबाट उनको मुस्कान फरक देखिन्छ। यसै सन्दर्भमा हार्वर्ड विश्वविद्यालयका न्यूरो साइन्टिस्ट डा. मार्गेटले मोनालिसाको मुस्कान बदलिँदैन, यो त हाम्रो दिमागी सोच मात्र हो, हामी जुन देख्न चाहन्छौं त्यही देखिन्छ’ भनी बताएका थिए ।

३) पेन्टिङ बनाउन १४ वर्ष लागेको थियो

लिओनार्दो दा भिन्चीलाई यो पेन्टिङ बनाउन १४ वर्ष लामो समय लागेको थियो। उनले सन् १५०३ मा यसलाई बनाउन शुरू गरेका थिए भने १५१७मा पुरा गरे। यस पेन्टिंगको ओठ बनाउन मात्र १२ वर्ष लागेको थियो। पेन्टिङ हेर्दा ठूलो लागे पनि यो निकै सानो छ। यो २१ बाई ३० इन्चको र तैल रङमा काठको प्यानलमा बनाएको हुनाले ८ किलोग्राम वजनको छ।

४) चोरी भएपछि चुलिएको थियो पेन्टिंगको चर्चा

यो पेन्टिङ पहिले उति प्रसिध्द थिएन तर लुभ्र म्युजियम पेरिसबाट चोरी भएपछि यसको प्रसिध्दि चुलिएको थियो। २१ अगस्त १९११ मा यति ठूलो संग्रहालयबाट पेन्टिङ चोरिनु धेरै ठूलो कुरा थियो। चोरी भइसकेपश्चात पहिलो शंका तत्कालिन चित्रकार पाब्लो पिकासोमाथि गरिएको थियो । उनलाई धेरै सोधपुछ गरेपछि छाडियो। चोरीको एक हप्तासम्म संग्रहालय नै बन्द गर्नुपरेको थियो । यसको कारणा चाहिँ, पेन्टिङ संग्राहलयभित्रै कतै हुनुपर्छ भन्ने निष्कर्ष थियो।

तर भेटिएन। धेरै खोजतलासपछि सोही संग्राहलयका एक कर्मचारी भिन्सेन्जो पेरूगियाले चोरी गरेको पत्ता लाग्यो। उनले उक्त पेन्टिङ इटाली फिर्ता लैजान चोरी गरेका थिए । उनले यसलाई इटालीको धरोहर सम्झन्थे। इटालीमा केही समय राखेपछि पुनः लुभ्र संग्राहलयमा फिर्ता गरिएको थियो। तिनै चोर भिन्सेन्जोलाई यस चोरीका लागि ६ महिनाको सजाय तोकिएको थियो तर इटालीमा भने उनलाई देशभक्तका रूपमा मानिन्छ र उनको ठूलो इज्जत छ ।

५) मोनालिसाको जुम्ल्याहा पेन्टिङ पनि थियो

भनिन्छ, लिओनार्दो दा भिन्चीका एक विद्यार्थी फ्रान्सिस्को मेल्जीले यसको जुम्ल्याहा पेन्टिङ बनाएका थिए। जुन स्पेनको राजधानी म्याड्रिडको म्यूसेओ दे प्रादों मा राखिएको छ। १५१४ – १५१६का बीच उनका नै एक विद्यार्थीले मोनालिसाको एक नग्न चित्रको संस्करण (न्यूड भर्सन) बनाएका थिए। जसका हातहरू वी शरीरको पोजिसन असली पेन्टिङकै जस्तो छ। यसलाई मोन्ना वान्ना भनिन्छ। भनिन्छ, शायद यस पेन्टिङलाई पनि कलाकार लियोनार्दो दा भिन्चीले नै बनाएका थिए ।

६) को हुन् यी महिला ?

लिओनार्दो दा भिन्ची कलाकार मात्र नभएर एक राम्रो लेखक पनि थिए तर उनले यस पेन्टिङका बारेमा कहीँ कतै केही लेखेनन्। न त कहिल्यै यी महिला को हुन् भनी बताए । कलाका शोधार्थी र अन्वेषकहरूका अनुसार यो पेन्टिङ “लिसा घेरार्दिनी” को हो जो फ्लोरेन्स, इटालीकी महिला थिइन् । केही व्यक्तिहरूले यो पेन्टिङमा कलाकार भिन्चीले आफैँलाई नारीको स्वरूपमा बनाएका हुन् भनी दाबी गर्ने गरेका छन् ।

७) मान्छेहरूले धेरै क्षति पुर्याएको थियो

दोस्रो विश्वयुद्धको क्रममा मोनालिसाको पेन्टिङलाई ६ पटक आफ्नो स्थानबाट अन्यत्र सुरक्षित सारिएको थियो ताकि यो जर्मनहरूको हातमा नपरोस्। यसपछि यो पेन्टिङलाई केही व्यक्तिले धेरै नोक्सान पुर्याउने कोसिस गरे। एक पटक १९५६ मा एक जना यात्रुले यसलाई ढुंगाले हानेका थिए, जसले पेन्टिङको बायाँ हातमा क्षति पुर्यायो । त्यसपछि यसलाई जस्ताको त्यस्तै बनाइयो। यतिमात्र होइन, एक जना व्यक्तिले त यस चित्रमा एसिड नै छ्यापिदिएको थियो। त्यसपश्चात् भने यस चित्रलाई बुलेटप्रुफ फ्रेममा राखिएको छ । यतिले चित्त नबुझेर एक जना महिलाले यसमाथि रातो स्प्रे छर्किदिएकी थिइन् ।