उनी सबेरै उठ्छिन् । गाईवस्तुका गोबर सोहर्छिन् । घरका भित्ता, मझेरी र आँगन लिपपोत गर्छिन् । अनि, घाँसदाउरा गर्न वनजंगल पुग्छिन् । फर्केपछि, दिउँसो फेरि मेलापात जान्छिन् । उनको दैनिकी यसरी नै बित्ने गर्छ । यद्यपि, समयको व्यवस्थापन गरेर कहिलेकाहीँ खेतबारीमा काम नभएको मौका छोपेर चित्र कोर्न भ्याउँछिन् ।

धनकुटा, सागुरीगढी — ६, भेडेटारकी इन्दु याम्फू राई, चित्रकलाकी एक होनहार उदीयमान प्रतिभा हुन् । तर अहिलेसम्म तिनको कोही ‘गुरु’ छैनन् । कि जसले उनको प्रतिभा निखार्न स्कुलका विद्यार्थी पढाइरहे झैँ हरदिन पढाइरहेको होस् । ‘गाइड’ गरिरहेको होस् । तैपनि, कोही गुरुबेगर नै उनले अहिलेसम्म थुप्रैको संख्यामा निकै राम्रा चित्र सिर्जना गरिरहेकी छन् । यसरी समयको सदुपयोग गरेर उनले आफूले कोरेका चित्रहरू फेसबुकमा राख्न भ्याउँछिन् । फेसबुकमा आउने प्रतिक्रियाहरूले उनलाई निकै हौसला दिन्छ रे ! भन्छिन्, ‘दाजु, वहाँहरूकै हौसला र प्रोत्साहनले नै मैले चित्र कोर्न सकिरहेकी छु ।’

‘इन्दु ! खै, आजकल त मैले तिम्रा चित्रहरू देख्दिनँ नि ?’ — यसरी कहिलेकाहीँ म उनलाई सोध्ने गर्छु ।

उनी भन्छिन् — ‘दाजु, आजभोलि मेतापात गर्दैमा फुर्सद छैन । बारीमा अदुवा रोप्नुछ । खोर्सानीको बिउ छर्नु छ । बेहानदेखि साँझसम्म बारी खन्नुपर्छ …!’

म अझै उनलाई पेलेर प्रश्न गर्छु, ‘ह्या .. तिमी पनि ! छोड्देऊ न बारीसारी खन्न । चुपचाप चित्र बनाइराख ।’

उनी पूर्बेली लवजमा हाँस्दै भन्छिन्, ‘दाजु, चित्र मात्रै बनाइरहन थाल्यो भने त भरे आमाले खेद्छन् …!’

इन्दु धनकुटा जिल्लाकै विशेष प्रतिभा हुन् । उनी जन्मँदै कला बोकेर आएकी ‘गड गिफ्टेड’ चित्रकार हुन् । चित्र बनाउनु उनलाई सानैदेखि रूचि थियो रे ! तर निरन्तर रूपमा ३/४ वर्षदेखि स्केच गर्न थालेको बताउँछिन् ।

चित्र बनाउन कसरी लाग्यौ त ?

‘मलाई चित्र बनाउन पहिलो प्रेरणा कुशल समाजसेवी आदरणीय दाजु दर्शन चेम्जोङ हुनुहुन्छ । उहाँले वरिष्ठ एवम् नेपालका ख्यातिप्राप्त अग्रज चित्रकारका सुन्दरचित्रहरू देखाएर चित्र कोर्न प्रेरित गर्नुभयो । उहाँकै मार्गदर्शनले, उहाँकै मध्यमबाट ख्यातिप्राप्त अग्रज चित्रकार जीवित खड्का मगर दाजु लगायत अन्य चित्रकारहरूसँग संगत गर्ने वातावरण बनाइदिनुभयो । उहाँहरूका चित्र सिर्जना देखेर मैले पनि रंगमार्फत् अभ्यास गर्दैछु ।’

निकै लगनशील भएर चित्र कोर्न निरन्तर मिहिनेत गरिरहने इन्दु राईलाई अब उचित वातावरणको खाँचो छ । अझै हौसला र प्रोत्साहनको खाँचो छ । उनले चित्र कोर्न पाइराखिन् भने कालान्तरमा देशले एउटा सुन्दर कलाकार पाएको अनुभूत गर्नेछ ।

अब हेरौं उनका चित्रहरूः