तैल चित्र र त्यसमा पनि भव्य क्यानभासमा बनाइएका चित्र, चित्रका वस्तुहरूको गति, अभिव्यक्तिको शैली यी सारा कुराले द म्यारिज सेटलमेन्ट चित्रले एउटा बेग्लै आभास दिलाउँछ ।
यो चित्रमा बेलायतका धनी व्यापारीले आफ्नो छोरोको विवाहका लागि बनाइरहेको एउटा सम्झौताका बारेमा दर्शाइएको छ । यहाँ रातो कोटमा व्यापारी दिमाग खियाइरहेको छ कि उसको छोरीको विवाहमा के-के शर्त र के-के कुरा घुसाइएका होलान् !
घरको भव्यता देखाउन त्यहाँ चित्रहरू भित्तामा सजाइएका छन् । व्यापारीको ठीक पछाडि उसका ज्वाइँ छोरी छन् । अर्कोतर्फ दुलाहाका पिता जिउ तनक्क तन्काएर गर्वका साथ बसेका छन् । उनको हातमा एउटा ठूलो परिवारको नक्सा पनि देखिन्छ । यो नक्सा उसका बाबुबराजू कति ठूला हुन् भन्ने जनाउन बोकेको बुझ्न कठिन छैन । छेउमा वृद्धावस्था जनाउन लौरो पनि देखिन्छ ।
सम्झौता तयार भइसकेको छ । सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ । यस्तो अवस्थामा वकिलहरूले सम्झौतापत्रका प्रति दिइरहेको र दुलहीले आफ्नो प्रति नियालेर पढिरहेको देख्न सकिन्छ । दुलाहा भने यी सारा प्रकृयामा आफ्नो अहसमति वा बेखुसी प्रकट गरिरहेको देखिन्छ । दुलहीको कानमा वकिलले खासखुस गरिरहेको छ ।
सबैले यहाँ फाइदाको व्यापार गरिरहेका छन् । यसमा दुलाहा-दुलहीका घरवालाको सहमति देखिन्छ । प्रेम र विवाहजस्ता कुरामा सम्झौता गर्न थालिन्छ भने त्यहाँ पक्कै पनि प्रेमको बास हुँदैन भन्ने सन्देश यो चित्रकलामार्फत् विलियम होगार्थले दिन खोजेको बुझ्न सकिन्छ ।
बेलायतमा र खासगरी लन्डनमा अठारौँ शताब्दीसम्म आइपुग्दा भौतिकता नै ठूलो सम्पत्ति बन्न थालेको व्यंग्य यो चित्रमार्फत् होगार्थले कसेका छन् ।
यस किसिमको चित्रलाई थिएट्रिकल पेन्टिङ भन्ने चलन छ । जसमा एउटा चित्रले कथावस्तु चित्रात्मक रूपमा बुझाइदिन्छ । नाटकीय पारामा कथा अभिव्यक्ति गर्नु र नाटकको मज्जा दिनु यस किसिमको चित्रकलाको विशेषता हो ।
होगार्थको विशेषता भन्नु नै उनले चित्रमार्फत् विकृतिमाथि प्रहार गर्नु हो । उनले चित्रमार्फत् हास्यरस पनि उत्तिकै सिर्जना गर्ने गर्छन् । जुन कुरा यहाँ पनि देख्न सकिन्छ ।
होगार्थले चित्रकलामा यो शैली भित्र्याए पनि उनका चित्रकलाले त्यो बेला उनलाई खासै प्रख्याति दिलाउन सकेनन् । उम्दापनको हिसाबले भने यतिबेला उनलाई नपढी सुखै छैन । द म्यारिज सेटलमेन्ट उनका पाँच शृंखलाबद्ध चित्रकलामध्येका हुन् । शुरूवाती समयमा उनका यी चित्रकलालाई खासै महत्त्व दिइएको थिएन । समय क्रममा भने यसले आफ्नो महत्ता स्थापित गरेरै छाड्यो ।
को हुन् विलियम होगार्थ ?
चित्रकला र खोपाइकलामा निकै जानेमानेका कलाकार हुन् विलियम । त्यो बेला नै प्रिन्टमेकिङलाई लोकप्रिय बनाएका थिए । उनको जन्म १६९७ मा भएको थियो । कलाकारको पनि कपिराइट हुन्छ भन्ने कुरा उनैले स्थापित गराएका थिए । २३ वर्ष उमेरसम्म विभिन्न कलाकारलाई गुरू थापिसकेपछि उनले आफ्नै प्रिन्टिङ प्रेस स्थापित गरे ।
उनले सर जेम्स थोर्नहिलको पेन्टिङ स्कुलमा अध्ययन गरे । पछि उनले आफ्नै पेन्टिङ स्कुलसमेत स्थापना गरे ।
उनका कामलाई त्यो बेला त्यति सराहना गरेनन् । कलाको यो पक्षलाई नबुझ्दा उनलाई फाइदा नै भयो । उनले तिनलाई व्यंग्य गर्दै चित्रकलामा व्यंग्यसमेत छिराउन थाले । यो उनको मौलिक शिल्प बन्न पुग्यो । पछि यही व्यंग्यात्मक पक्षको सराहना हुन थालेपछि उनले पुराना सारा असफलतालाई ब्याजसहित असुल गरे ।
उनले यति धन कमाए कि उनी कुनै धनीमानीको पछि लागेर बस्नु पर्ने वा जागिरे बन्नुपर्ने अवस्था रहेन । उनी त्यो बेलाको एक्लो त्यस्ता कलाकार थिए । उनका अ हार्लोट्स प्रोग्रेस, अ रेक्स प्रोग्रेस र म्यारिज ए ला मोडजस्ता चित्र निकै प्रख्यात मानिन्छन् ।
यो चित्रमा के हेर्ने त ?
१. अर्ल स्क्वान्डर
छाति फुकाएर आँखा हल्का माथि पारी हेरिरहेका धनीमानी अर्ल स्क्वान्डरले अर्का व्यापारीकी छोरीलाई आफ्नो घरमा बुहारी बनाएर भित्र्याएबापत के कति दाइजो पाइन्छ भनी खोजेको देखिन्छ । यसका साथै हातमा वंशावलीको चित्र पनि छ । उनीहरू कुन महान् व्यक्तिका सन्तान हुन् र यो खानदानमा कसैकी छोरी आउनु चानचुने कुरा होइन भन्ने अहं पनि झल्किरहेको छ । यी अर्लको बसाइको शैलीले पनि उनको ठालुपन देखाइरहेको छ। उनको एउटा गोडा टुलमा राखिएको देख्न सकिन्छ ।
२. छोरीको बाउ
धनीमानी परिवारमा छोरीलाई दिँदा सुख पाउली भन्ने सोचेका व्यापारीले जब हातमा सम्झौताअनुसार रकम दिनुपर्ने कुरा पढ्छन्, उनको अनुहारमा कस्तो भाव देखिन्छ भन्ने यहाँ स्पष्ट देखिन्छ । उनको हातमा वैवाहिक सम्बन्धको सम्झौतापत्र छ । उनको ठीक पछाडिपट्टि छोरीले सम्झौतापत्र पढिरहेकी छन् । उनीसँगै एक जना वकिल खासखुस गरिरहेको छ । यी व्यापारीले चश्मा मिलाइकन चिजबिजहरू पढिरहेका छन् ।
३. झ्यालपारिको भवन
झ्यालमा नियालेर हेर्यो भने बन्दै गरेको तर अपूरो भव्य भवन देखिन्छ । अपूरो यो भवनले पैसा सकिन थालेको एउटा धनीमानीको अवस्था देखाउँछ । बुहारी भित्र्याउँदा आउने पैसाले अपूरो भवन पूरा गर्ने अभीष्ट यो चित्रमार्फत् चित्रकारले अभिव्यक्त गर्न खोजेका छन् ।
४. तिर्न बाँकी ऋण
अर्लको छेउमा घरेलु हिसाबकिताब राख्ने जागिरे छ । उसको हातमा तिर्नपर्ने ऋणको पोको छ । यसमार्फत् चित्रकारले ऋण चुक्ता गर्न यो विवाहले सघाउ पुर्याउने अपेक्षा गरेको देखिन्छ ।
५. दुलही
दुलहीको पहिरन सामान्य किसिमको छ । अनुहारमा कुनै चमक छैन । वकिलले भनिरहेको कुरा गम्भीरतापूर्वक सुनिरहेकी छन् उनले ।
६. दुलाहा
दुलाहालाई भने यी सारा कुरामा कुनै चासो देखिएको छैन । ऊ आफैँमा मग्न भएको देखिन्छ । उसले नवीनतम फ्रान्सेली फेसन गरेको देखिन्छ । घाँटीमा कालो दागले उसलाई भिरिङ्गी लागेको हुनसक्ने संकेत गरिएको छ । यस हिसाबले यो विवाहको लक्षण त्यति उपलब्धिमूलक होलाजस्तो देखिएको छैन ।
७. मेडुसाको चित्र
ग्रिसेली मिथक पात्र मेडुसाको चित्र दुलहीको ठीकमाथि भित्तामा देखिन्छ । जसले यो घटनामा विष उत्सर्जन भइरहेको जनाउन काफी छ ।
८. कुकुरहरू
कुकुरहरू साँङ्लोमा बाँधिएको देखाइएको छ । यो साङ्लोले भविष्यमा दुई जना यसरी साङ्लोमा बेखुसीपूर्वक बाँधिने अवस्था आइपरेको जनाइएको छ । यी कुकुरमा स्वाभाविक चञ्चलता देखिँदैन ।
यसलाई फेरि एक पटक नियालेर हेर्ने हो कि ?
Marriage_A-la-Mode_1,_The_Marriage_Settlement_-_William_Hogarth.jpg (5557×4225) (wikimedia.org)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।