१७ औँ शताब्दीको एउटा चित्रकला पटक पटक चोरिने चित्रकलामा परेको छ । चित्रकलाका लागि स्वर्णयुगका रूपमा मानिने त्यस अवधिका सिद्धहस्त चित्रकार फ्रान्स हाल्सको चित्रकला नेदरल्यान्ड्सको एक म्युजियमको भित्तोबाट नै हालै चोरी भएपछि यो तेस्रो पटक चोरिने चित्रकला बनेको हो ।

‘टु लाफिङ बोइज्’ चित्रकला नेदरल्यान्डको लिरडाम म्युजियमबाट चोरी भएको हो । यही चित्रकला सन् २०११ र १९८८ मा पनि चोरी भएको थियो ।

कोरोना कहरका बेला चोरहरूले म्युजियमको पछाडिको ढोकाबाट उनीहरू बिहानी साढे तीन बजे चोरेका थिए । सन् १६२६ मा कोरिएको यो चित्रकला अहिले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने प्रहरीहरू नै अनभिज्ञ छन् । चोरिएको चित्र खोज्ने कार्य जारी रहेको डच प्रहरीले जनाएको छ ।

यता म्युजियमका अधिकारीले भने यसबारेमा मुख खोल्न चाहिरहेका छैनन् । महामारीका बेला म्युजियम नै बन्द रहेका बेला यसरी अकस्मात चोरी होला भन्ने कल्पना नै नभएका कारण म्युजियम प्रशासन अहिले रनभुल्लमा छ ।

यसअघि पनि दुई पटक चोरिएको यो चित्रकला अघिल्लै चोरीजस्तै देखिएको र पहिलेकै चोरहरू संलग्न हुनसक्ने अर्थर ब्रान्डले बताएका छन् । ब्रान्ड नेदरल्यान्डका कला-चोरीका विशेषज्ञ हुन् । उनले यसअघि भएका कयौँ कला चोरीको जासुसी गरेर चोरसमेत पत्ता लगाइसकेका छन् । उनको नजरमा पहिलेकै चोरीकै विस्तृत रूप भएकाले अघिल्ला चोरीसँग यसको सम्बन्ध खोज्न सकिएको खण्डमा चित्रकला फेला पार्न सकिने बताएका छन् ।

पेन्टिङ चोर्नका लागि जम्मा तीन मिनेट मात्र समय लगाइएको र तीन मिनेटमै चोरहरू गायब हुन सक्नु भनेको लामो तयारीपछि यो चोरी गरिएको ब्रान्ड बताउँछन् । सन् २०११ मा यही पेन्टिङ चोरी हुँदा ६ महिनापछि पेन्टिङ पत्ता लगाइएको थियो । यस घटनामा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । ४८ देखि ६२ वर्ष उमेर समूहका ती चोरहरू नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डम क्षेत्रका रहेको प्रहरीले जनाएको थियो ।

यसअघि पनि सन् १९८८ मा यो पेन्टिङ चोरी हुँदा पेन्टिङ फिर्ता ल्याउन प्रहरीलाई तीन वर्षको समय लागेको थियो ।

यो चित्रको मूल्य एक करोड तीस लाख पाउन्ड आँकिएको कारणले पनि यसमाथि धेरैको आँखा गढेको हो ।

प्रहरीले विज्ञप्ति निकाल्दै यो चित्रकला नेदरल्यान्ड्सकै शान भएका कारण जहाँ यसको स्थान हो, त्यहाँ फिर्ता ल्याउन कुनै कसर नछाडिने बताएको छ ।

चोरहरूले यही चित्रकलालाई किन लक्ष्य बनाइरहेका छन् त ? ब्रान्ड भन्छन्, ‘जसले चोरेको भए पनि यसअघि दुई पटक यसैलाई लक्षित पारिएको हुनाले यसको मूल्य निकै बढी छ भन्ने आँकलनका कारण चोरिएको हुनसक्छ ।’

नेदरल्यान्डमा यो चोरीको ठीक अघि पनि भ्यान गगको चित्र चोरी भएको थियो । महामारीका कारण बन्दाबन्दी शुरू हुनेबित्तिकै भ्यान गगको १६७ औँ जन्मदिनको छेको पारेर चोरहरूले उनको चित्रकला चोरेका थिए ।

यस्ता चोरीका कलाहरू लागू औषधका व्यापारी अपराधीहरूलाई बिक्री गर्ने गरिन्छ । ब्रान्डका अनुसार यति महत्त्वपूर्ण चित्रकलाहरू ती लागू औषधका व्यापारीहरूले आफू पक्राउ परे जेलको समयावधि घटाउन उपयोग गर्ने गरेका छन् ।

सन् २००२ मा दुई वटा भ्यान गग म्युजियमबाट चोरिएका चित्रकलाहरू सन् २०१६ ताका इटालेली प्रहरीले फेला पारेका थिए । नेपल्सस्थित ती कुख्यात लागू औषधका व्यापारीले ती चित्रकला किनेर आफ्नो घरमा सजाएका थिए । एक वर्षपछि ती चित्रकलालाई नेदरल्यान्ड फर्काइएको थियो ।