अहिले नाफामा अन्तर्राष्ट्रिय पर्फमेन्ट–आर्टको मेला लागेको छ । यसको नाम चाहिं काठमाडौं इन्टरनेशनल पर्फमेन्स आर्ट फेष्टिभल भनी राखिएको छ । मूलतः नोभेम्बरको २५, २६ मा अनि २७ मा भएको यो कला महोत्सवमा नौ राष्ट्रले भाग लिइरहेका छन् । २७ मा चाहिं यो तारागाउँ म्युजियममा भएको थियो । सन् २००६ मै जन्म भई दशकौंदेखि यस्तायस्तै कलाहरूको आयोजना गर्दै आइरहेको विन्दु नामक एउटा कला निकाय यसका मूल आयोजक हुन् । पर्फमेन्स कलालाई मूलधारमा राखी कार्यक्रम गर्दै आएको यो कला निकायका निर्देशक चाहिँ कलाकार पृथ्वी श्रेष्ठ हुन् । उनी नै यो कार्यक्रमका समन्वयकर्ता पनि हुन् ।

उनले सन् २००३मा ओशोतपोवनमा भएको कक्सिङ्ग द नेचर कला ओर्कशपमा पहिलो पल्ट पपर्फमेन्स कलालाई प्रस्तुत गरेका थिए । मूलतः नेपालमा यसै वेलादेखि नै यो कलाले गति

समातेको पनि हो । उनी यस वखतदेखि आजको दिनसम्म यो पर्फमेन्स कलामा लागिपरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चाहिं यसका सहयोगीको भूमिकामा देखा परेको छ । कहिले ठूलो प्रदर्शन–कक्ष भित्र कहिले बाहिर खुल्ला आकाशमनि भइरहेको यस्ता पर्फमेन्स कलाहरू अवलोकन गर्न बसेका दर्शकहरू त्यति बढी देखिन्न । तापनि यसले एउटा गतिलो लय चाहिं समातेको देखिन्छ ।

अस्ट्रिया, नेपाल, बङ्गलादेश, ब्राजिल, चाइना, भारत, फिलिपिन्स, सिङ्गापुर, श्रीलंका गरी जम्मा ९ देशका २० जना कलाकारहरूले यसमा भाग लिएका छन् । नेपालबाट क्रमशः मनिषलाल श्रेष्ठ, रायन राजभण्डारी, सरीता डंगोल, समना राइ, पृथ्वी श्रेष्ठ, समीर राणा पहेली, शौरगंगा दर्शनधारी, सुविष्ट कायस्थ, मूना भाडेल, अनिल शुव्वा, ध्रुवराज शर्मा, अस्ट्रीयाबाट उर्सुला प्राव्स्ट, वंगलादेशबाट फराह नाज मून, व्राजीलबाट इडुअरडो कार्र्डोसो आमाटो, चाइनाबाट लि झिनेङ्ग, भारतबाट साटार्डु सोभान, आनन्द जैसवाल, नितेश कुमार कुस्वाह, श्रीलंकाबाट प्रीयान्थी अनुशा, फिलिपिन्सबाट निकोलस आका जुनियर, सिङ्गापुरबाट जेरेमि हिया वाउङ्ग होइ आदीले आ–आफ्नै ढंगले पर्फमेन्स कलालाई प्रस्तुत गरेका थिए ।

नेपालका पृथ्वी, सरीता अनि मनिष चाहिँ नेपालमा उदाएको पर्फमेन्स कलाको शुभारम्भ कालदेखि नै (सन् २००३ देखि) निरन्तर रूपमा सक्रिय भइरहेका कलाकार हुन् । यसकारण पनि यी कलाकारहरूका काम स्वभावतः अन्य कलाकारहरू भन्दा पृथक् रूपमा देखा परेका छन् ।

सबैभन्दा रमाइलो कुरा त यो कला आफैमा विश्वकरण हुँदै (ग्लोवलाइजेसनको सन्दर्भमा) गर्दा सबै कलाको स्वभाव, प्रकृति अनि विशेषताहरू एकै देखिन्छन् । देखिएका थिए । यो कुन देशको कला–प्रवृत्ति हो अलग्गाउन सकिन्न । सकिँदैनथ्यो । तापनि कलाले नितान्त नवीनतम धार समात्दा चाहिं नेपाल पनि अव विश्वमाझ पर्फमेन्स कलामा तल छैन भन्ने स्पष्ट बोध हुन्थ्यो । झट्ट हेर्दा यो नाटक कै एउटा भाग जस्तो देखिए तापनि  यसको आफ्नै एक अलग्ग विशेषता छ । यसकारण पनि पर्फमिङ्ग (नाटक) अनि पर्फमेन्स कलाहरू अलग अलग हुन् । यी दुवै पृथक् विशेषता बोकेका कलाहरू हुन् भन्न पर्ने नै हुन्छ ।

मूलतः पर्फमेन्स कलामा अभिनय हुँदैन । अभिनय नहुँदै गर्दा, नगर्दै गर्दा पनि आफ्ना निजी जीवनका वास्तविक घटनाहरू सम्प्रेषण चाहिं भइरहेको देखिन्छ । हुने गर्दछ । सबै जसो कलाकारहरू मौन, भावविहीन अनि गम्भीर रूपमा आ–आफ्ना कलालाई प्रस्तुत गरिरहेका देखिन्छन् । स्वाभाविक गेस्चरमा अनि नैसर्गिक दैनिकी भए जस्तो पारामा यो कला प्रस्तुत भइरहेको हुन्छ । यसमा कलाकारको आफ्नै रचना हुन्छ । यसले अरूको रचनालाई बल पुर्‍याउन भावभङ्गीमाको प्रयोग गर्दैन । ठाउँ, समय अनि अवस्था अनुसार यसको आयतन लामो र छोटो हुनु मात्र होइन केही अवयवहरू थप्ने वा घटाउने प्रवृत्ति पनि यसले बोकेको हुन्छ । ठाउँ, समय अनि अवस्था अनुसार यसको स्वभाव पनि अलग अलग हुन्छ । समय बित्दै जाँदा आफ्नै थप अनुभवहरू बटुल्दै जाने क्रम हुन्छ । अनि कलाकार स्वयंले पनि रचना परिवर्तन गर्दै प्रस्तुत गर्दछ । यसर्थ पनि सोही कलामा पटक्कैपिच्छे अनेकौँ थप सन्दर्भहरू स्वतःस्फूर्त देखिने गर्दछ । यही र यस्तै नयाँ नयाँ कुराहरू आउने ल्याउने काम नै यसको मूल विशेषता पनि हो । यसर्थ कहिलेकाहीं कला पर्फम भइसकेपछि मात्र यसको अवधारणाहरू बन्ने गर्दछ ।

पहिला पहिला अवधारणा राम्रैगरी तयार भइसकेपछि मात्र यसैलाई पर्फम गर्ने चलन थियो । अहिले चाहिँ यही पर्फमेन्स कला पनि फरक हुँदै देखा पर्न थालेको छ । पर्फम गर्दागर्दै भावकको प्रवेश अनि भावकले खेल्ने गरेको भूमिकाले पनि कलाकार स्वयंले नसोचेको अवधारणहरू बन्ने गर्नु आजको पर्फमेन्स कलाको थप विशेषता हो । पर्फमेन्स कलामा कलाकारले कुनै अर्कैको रचनामा यसले अभिनय गर्दैन । आफूलाई जसरी मन लाग्छ त्यसैगरी पर्फम गर्छ । पटकैपिछे जति समय लिन मन लाग्छ अवस्था हेरी त्यति नै समय लिन्छ । सर्जक आफै मौन हुँदा दर्शकहरू पनि नितान्त मौन अर्थात् पिन ड्रप साइलेन्सको वातावरण हुन्छ । वातावरण सिङ्गै मौन हुन्छ । कहीँ कतै अलिकता आवाज निकाले पनि स्वाभाविक अनि नैसर्गिक रूपमा देखिने गर्दछ । नक्कल हुने, गर्ने काम नहुँदा यो एउटा जिन्दगीको वास्तविक सत्य तथ्य जस्तो पनि देखिन्छ । यस्तायस्तै वास्तविकता नै यस्ता पर्फमेन्स कलाको मूल पहिचान पनि हुने गर्दछ । जीवनको दैनिकी भएजस्तो, दर्शकबाट अलग्ग भएर पर्फम गरिरहँदा पनि फरक जस्तो देखिंदै पनि नक्कल गरेजस्तो चाहिं देखिन्न । अनि मूलतः यसले एउटा अवधारणा बोकेर देखा पर्दछ । कुनै घटनाको , अवस्थाको प्रतिविम्व मात्र यसले अङ्गाल्दैन यसले विचारलाई समेत प्रस्तुत गरिरहेको हुन्छ । यसकारण पनि पर्फमेन्स आर्टिष्टहरू मूलतः कन्सेप्चुयल आर्टिष्ट नै हुन् ।

सोझो अर्थमा भन्दा यसर्थमा यो अभिनय होइन । काल्पनिक क्रियाकलापहरूले आबद्ध भएको यो कला  यथार्थ वास्तविक घटनाहरू हुन् । मनका भाव वा अवधारणालाई यसले आफ्ना कृयाकलापमा समायोजन गर्छ । अनि प्रक्रियामा बढेको प्रत्येक क्रियाकलापले एउटा सन्देशलाई प्रवाहित गरिरहेको हुन्छ । यहाँ पर्फम भएको यो पर्फमेन्स कलाले राम्रोसँग यस्तायस्तै विशेषताहरूलाई निर्वाह गरेको देखिन्छ । हेर्दाखेरी कहीँ कहीँ अलि हाँसउठ्दो जस्तो देखिए पनि यसले एउटा गहिरो अर्थ बोकेर हिँडेको चाहिँ अलि पछि सबैले महसूस गरेको देखिन्छ । यो नै यो कार्यक्रमको सबल पक्ष पनि हो ।

यसपल्टका कलाले बोकेको विषय सबै जसोको एकै छन् । अर्थात् विश्वले भोगिरहेको मानवीय समस्यालाई नैे समातेको देखिन्छ । मौन प्रस्तुति अनि विशेष गरेर कोल्यावोरेटिभ स्वभाव मूलतः यसपल्टको मौलिक विशेषताको रूपमा देखा परेको छ । यसर्थ यो इन्टर्याक्टिभ अनि पार्टिसिपेटोरी आर्ट पनि हो । स्वाभाविक स्वतःस्फूर्त भावकहरू प्रक्रियामा संलग्न हुनु नै यसको सबै भन्दा चोटिलो प्रवृत्तिगत–ढङ्ग हो । एकजना भावकले गरेपछि सबैले त्यो त्यसैे गरिँदै जाने कलागत प्रक्रिया बाँकी रहेको अन्य भावकहरूको लागि पनि कौतूहलको विषय बन्न गएको देखिन्छ । विशेष गरेर एकै ठाउँमा बसिनरही एक ठाँउबाट जहीँ कहीँ हिँड्दै जाँदा अनि दर्शकहरू पनि सोही अनुसार अघिपछि लागिरहन पर्ने अवस्था सृजना हुँदा वातावरण आफै पनि रोचक बन्दै जान्छ । निश्चित घेरा भित्र क्रियाकलाप गरी नबस्ने वा आफ्नो अलग्ग ठाउँ नभएको जस्तो वा पार्टिसिपेटोरी भइराख्न भावक र सर्जक घुलमिल भइरहने यसको स्वभाव हुने गर्दा पनि यसले थप रोचक पैदा गर्दछ । एकअर्कामा सहभागिता हुँदै कुनै समस्याको हल गरे जस्तो भएर यी कलाहरू बढेको देखिन्छ । यसो हुँदा पनि अहिलेको यस्तो पर्फर्मन्स कलाको विशेषताहरू उहिले पहिले देखा परेको यसैको विशेषतासँग पनि मेल नखाएको देखिन्छ । झन्डै बाइस वर्षअघि ओशोतपोवनमा पर्फमेन्स कलाको नेपालमा शुभराम्भ हुँदा भावक संलग्न हुँदै पनि सर्जकको एउटा निश्चित घेरा हुन्थ्यो । एउटा अनुशासन जस्तो, एउटा अलग्ग परिकल्पना, आदी इत्यादि देखिने गर्दथ्यो । अहिले चाहिँ ती विशेषताहरू अलि हराएको जस्तो देखिन्छ ।

===

अब अलिकता कलाको कुरा

आज मानव जसरी विसङ्गतिमा बाँच्नु परेको छ, । आजको हाम्रो समाज अप्राकृतिक हुँदै गर्दा हाम्रो दिनचर्या, खानपान कृत्रिम हुँदै जाँदा पनि हामीले अहिले जुन समस्या भोगिरहेका छौ समष्टिमा यसको प्रतिबिम्बको रूपमा पनि यी कलाहरू देखा परेका हुन् । सरीताले रगतको डोबहरूलाई भुइँभरी लतार्दै अनेकौँ प्रतिबिम्बात्मक रेखाहरूको निर्माण गरे । उनी स्वयं वल्लोछेउबाट पल्लो छेउ पुग्दा भावकहरू पनि त्यतै लतारिएर पुगेको दृश्य पनि रमाइलो नै देखिन्थ्यो । औषधि वरिपरि छरेर घोप्टो परेर लडिदिँदा देखिएको परिदृश्य रोचक अनि मार्मिक देखिन्थ्यो । प्रक्रियाको रूपमा हरेक दर्शकहरूलाई गेडागुडीका (खाने कुराको प्रतिकात्मक बिम्बको रूपमा) स–साना पोकाहरू बाँडे । अनि कृत्रिम कुरा खाँदै गर्दा बिरामी हुने अनि औषधिको अत्यधिक सेवन गर्दै गर्दा मृत्यु–वरण हुन पुग्ने परिदृश्यलाई सजीव प्रकारले उनले देखाउन पुगेका थिए । सहभागितामूलक प्रक्रियामा आबद्ध हुँदै आफूमाथि यही कुराहरू छर्न लगाएर वगुन्द्रो औषधिहरू खेलाउँदा खेलाउँदा उनले प्राण त्याग गरेको दृश्य, अझ मार्मिक देखिन्थ्यो । यसैले पनि जैविक कुराहरू सेवन गर्ने, गर्नै पर्ने वा यस्ता यस्तै संस्कारको बानी बसाल्न पनि उनको समग्रमा कलागत आग्रह थियो । अर्को कुरा कृत्रिम अक्सिजन होइन सुद्ध प्राकृतिक अक्सिजन चाहिन्छ भन्ने पनि उनको अर्को स्पष्ट कलागत आशय देखिन्थ्यो । रसाएन तत्त्व मिसिएका खाना खाँदै हुर्किएका हाम्रा बच्चाहरू चलीस पुग्दा नपुग्दै रोगका सिकार बन्छन् । अनि औषधिको थुप्रोमा जिउन बाध्य हुन्छन् । यस्ता यस्तै अवस्था लाई प्रतिबिम्बित गर्दै उनको कला प्रस्तुत भएको थियो ।

मनिषले चाहिँ सेताम्य लुगामा उभिएर सुमधुर साउन्ड–बेल बजाए । अनि तत्पश्चात् हरेक भावकको हातमा जनै–धागो बाँध्दै अगाडि बढ्दै गरेको प्रक्रियामा भावकसँगको सगोलमा आफ्नो कलालाई प्रस्तुत गरे । साउन्ड बेल बजाउँदै हाम्रो संस्कारको प्रतिविम्बलाई प्रस्तुत गरेको सन्दर्भ पनि रोचक देखिन्थ्यो ।   प्यूरीटिको सन्दर्भ जोड्दै हरेकसँग बलियो सम्बन्ध गाँस्दै, कोही कतै छुटेको छ कि भन्दै खोज्दै भए पनि हरेको नारीमा धागो बान्दै गरेको सम्बन्धको आग्रह पनि रोचक थियो । अनिलले चलनचल्तीमा आएको एउटा उखानटुक्का दाल भात तरकारी तेरो बाउ सरकारीलाई शीर्षक बनाएर व्यङ्ग्यात्मक रूपमा चोटिलो प्रयोग गरेका छन् । कुर्सीमा बस्दै थालमाथि रेडियो बजाउँदै देखा परेको दृश्य अनि भावकहरू एक पछि अर्को हुँदै दाल भात उनी माथि छर्कँदै गरेको परिदृश्यबाट अन्त भएको उनको कला अलिकता ह्रदयस्पर्शी पनि थियो । जीउभरी मुखभरि छरिएर टाँसिएका अनगिन्ती भातका सिताहरू सोहोरेर खाएपछि उनको काल ले पूर्णतः पाएको देखिन्थ्यो । एक प्रकारले आज हामी यस्ता यस्तै अर्काले फलिदिएको भातका सिताहरू खाएर बाँचेका अवस्थाको प्रतिबिम्ब जस्तो पनि लाग्दथ्यो ।

महसूस हुन नसकेका परिवर्तनहरू नामक कलामा मुनाले ३० वर्ष अघि आफू जन्मेको ठाउँ चाँगुनारायण लाई सम्झ । खुल्ला प्राकृतिक वातावरण, खाना, पानी अनि दैनिक गर्नु पर्ने काम प्रकृतिसँग भरपर्दै गरेका दिनहरू सम्झँदै गर्दा उनका कलागत प्रक्रिया पनि घनघोर झ्याङबाट दाउराहरू बटुल्दै अनि दाउरादाउराले घेर्दै प्रतिकात्मक जमिन बनाए । उहिलेको खुल्ला जमिन आज टुक्राटुक्र बनिदिँदा भावकहरूलाई ल्याउँदै त्यसैमा उभ्याउँदै गए एक जना दुई जना अनि यसको सङ्ख्या १२ पुग्दा त्यहाँ अटसमटेस भयो । छिर्न आउन जान गाह्रो भयो यही आजको अवस्थालाई उहिले जस्तो मानव हामीले प्रकृतिलाई माया गर्न नसकेको बिम्बलाई उनले आफ्नो कलाबाट प्रस्तुत गरे ।

समना राईले दुखको प्रतिबिम्बको रूपमा सेतो लुगा लगाई अनि जीवनमा घटेको अथाह पिडा ( वुवाको मृत्यु) लाई सामाना गर्दै जिन्दगीसँग लड्दै गरेका जीवनका यात्रालाई आफ्नो कला द्वारा प्रस्तुत गरीन् । उनको कलाको नाम थियो द ल्याण्ड उइल नट वारेन एनीमोर । सेतै लुगा लगाएर कहिले सेतो कुर्सीमा बस्नु आफ्नु बुबालाई सम्झनु, असहाय पीडाको बोध हुनु, देखाउनु । अनि उठेर कतै झाडीतिर खाल्टोमा आफू सर्वाङ्गमा पुरिनु, भावकहरू स्वाभाविक रूपमा अगाडि आइ उनलाई उनको पुरै शरीरलाई माटोले पुरिनु पुरिदिनु आदी असहाय पिडाको द्योतक पनि थियो । अनि यही माटो लाई सबै भावकलाई बाडी हिँड्नु यी यस्ता यस्तै क्रियाकलापहरूले भरिएको उनको जीवनको यात्रालाई उनले कला मार्फत बाँढ्न पुगेका थिए ।

पृथ्वीले आफैले आफैलाई जोगाउने उपक्रममा आफैले अनि हरेक भावकहरूलाई रङ्गीचङ्गी बेलुनहरू फुकाउन लगाउँदै आफ्ना कलालाई पस्केका थिए । सासको प्रतिकात्मक बिम्बको रूपमा उनको यही बेलुन थियो । आज सासै फेर्न गाह्रो भएको स्थितिलाई प्रकट हुन गराउन उनको आशय रहेको देखिन्थ्यो । आफैले आफैलाई प्यूरीफाइ गर्न गरेको प्रतिक्रिया स्वरूप देखा परेको उनको कला अद्भुत रूपमा देखा परेको थियो । शौरले प्यूरीटिको सन्दर्भ निकाल्दै महिलाको बिहे पहिले अनि बिहे पछिको पहिचानलाई लाई कला मार्फत प्रस्तुत हुन गराउन चाहेको देखियो । आफैले सबै भावकको अगाडि गएर आफ्नै परिचय भन्दै गएको दृश्य अझ रोचक देखिन्थ्यो । अनि सिन्दूरको रातो रंग  टाउको भरी पोखाएर हिँड्दै गरेको परिदृश्य अझ अलिकता मार्मिक अनि स्वादिलो प्रकारले प्रतिबिम्बित भएको देखिन्थ्यो । महिलाको पहिचान कसरी बिहेपछि परिवर्तन हुँदै जान्छ । हुनुपर्ने हुन्छ । आदी नै उनको कलाको मूल आशय देखिन्थ्यो ।

राइनले चाहिँ भुइँमा चाकुने चार वटा बक्सा बनाए ।, आफै यसैमाथि उभिएर सामाजिक मूल्य मान्यता आदी इत्यादिलाई मान्ने नमान्ने स्थिति परिस्थिति आदीलाई कला मार्फत उजागर गर्ने कोसिस गरेका थिए । सुविष्टाले हातमा अनेक बस्तुहरूलाई बाँधी – ( भूमिका र अवरोधको सन्दर्भमा ) भकाभक स्वादिलो गरी दाल भात खाइरहेको दृश्य रमाइलो देखिन्थ्यो । क्राइसिस र कम्फर्ट बीचको टेन्सनलाई हातमा वाँधेको पातलो डोरी अनि अनगिन्ती वस्तुहरूको समायोजनका साथ कला प्रस्तुत गरे ।  समिरले शरीर दिमाग अनि आत्मा का साथसाथै जीवनशैलीद्वारा बन्दै गरेको फ्रिकोइन्सीलाई  आफ्नो कलाद्वारा पस्कने प्रयास गरे । टाउको पुरै ढाक्ने गरी लगाएको मास्क अनि आफूलाई भित्ता तिरै छोपिराख्नुले पनि कौतूहलको प्रस्तुति वनेको थियो । ध्रूव चाहिँ बढेमाको पखेटा सहित पंक्षीको प्रतिकात्मक भूमिकामा देखा परेका थिए । उनको कलाले स्वतन्त्रता र जिम्मेवारी बीचको टेन्सनलाई देखाउन कोसिस गरे ।

चाइनाका लि झिनेङ्गले भावनात्मक रूपमा कक्षको ठूलो भागलाई घेरेपछि आफ्नै लुगालाई टुक्रा टुक्रामा काट्दै काटिएको भागमा अनि टुक्रा कपडामा पनि आफ्नै नाम लेख्दै भुइँमा टाँसे । कैंचीले आफ्नै बुढीऔलालाई गहिरो गरी काटे अनि आफ्नै रगतले हरेक कपडाका टुक्राहरूमा थम्व प्रीन्टलाई लगाउँदै पनि गए । सबैभन्दा लामो यो पर्फमेन्स कलाले भावहरूलाई समेत भावुक बनाएको दृश्य देखिन्थ्यो ।