म्याट विल्सन

संसारभरका संग्रहालयहरूले जेएमडब्ल्यू टर्नरको २५०औँ जन्मदिन मनाउँदै गरेको बेलामा, उनको प्रिय र प्रशंसित चित्र “द फाइटिङ टेमेरेयर”लाई पुनर्मूल्यांकन गर्ने समय आएको छ।

जेएमडब्ल्यू टर्नरको “द फाइटिङ टेमेरेयर” १८३९ मा पहिलो पटक प्रदर्शित भएदेखि नै राष्ट्रिय प्रसिद्धि कमाएको थियो। यसको ख्याति आजसम्म कायम छ। यो एक समय ब्रिटेनको सबैभन्दा लोकप्रिय चित्रकलाका रूपमा मतदान गरिएको थियो ।, हाल ब्रिटेनको £२० को नोटमा पनि यसलाई राखिएको छ। तर यस प्रतिष्ठित चित्रका बारेमा भने धेरैलाई भ्रम छ।

शीर्षकमा उल्लेखित “टेमेरेयर”ले ब्रिटिश नौसेनाको ९८-तोपे युद्धपोतलाई जनाउँछ। यसलाई चित्रको पृष्ठभूमिमा देख्न सकिन्छ। यो नेपोलियनविरूद्धको युद्धमा फ्रान्सविरुद्ध ब्रिटेनको रक्षामा नायक थियो। तर सन् १८३८ मा यसको विभिन्न भागमा विभाजन गरी बेचिएपछि यसले राष्ट्रिय ध्यान आकर्षित गर्यो। टर्नरको चित्रले एक समयको शक्तिशाली समुद्री योद्धालाई भर्खरै आविष्कार गरिएको स्टीम-शक्तिचालित टगबोटले चम्किलो टेम्स नदीमा तान्दै लैजाँदै देखाएको छ।

सन् २०१२ को जेम्स बन्ड चलचित्र “स्काइफल” मा यस चित्रलाई संक्षिप्त रूपमा देखाइएको छ। उक्त दृश्यमा, बन्ड (डेनियल क्रेग) ले लन्डनको नेशनल ग्यालरीमा आर एण्ड डीको नयाँ प्रमुख क्यू (बेन विशा) सँग भेट गर्छन्। उनीहरू “द फाइटिङ टेमेरेयर” को अगाडि बस्छन्। “यसले मलाई सधैँ अलि उदासी महसुस गराउँछ,” प्रविधि-ज्ञानी युवा क्यूले पुरानो शैलीको फिल्ड एजेन्ट ००७ लाई भन्छन्, “एउटा ठूलो पुरानो युद्धपोतलाई अपमानपूर्वक कबाडीका लागि तानिएर लगिँदैछ।”

सो चित्रले फेरिएको राष्ट्रिय गौरव र उदासीनताको भावनालाई प्रतिबिम्बित गर्छ। यस दृष्टिकोण अनुसार, भूतिया टेमेरेयर चित्रकी नायिका हो र टगबोट यसको खलनायक हो। १९औँ शताब्दीमा, अंग्रेजी लेखक विलियम मेकपीस थ्याकरेले सानो जहाजलाई “सानो, द्वेषपूर्ण, शैतानी स्टीमर” भनेका थिए र अमेरिकी उपन्यासकार हर्मन मेल्भिलले यसलाई “टाइटन टेमेरेयर” को तुलनामा “पुडको स्टीम-टग” भनेका थिए।

सन् १८०४ मा यसले फ्रान्सेली बन्दरगाहहरू अवरुद्ध गर्ने र ब्रिटिश तट रक्षा गर्नेमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। तर यसको सबैभन्दा महान् क्षण २१ अक्टोबर १८०५ को दिउँसो, स्पेनको दक्षिण-पश्चिम तट नजिकै अटलाण्टिक महासागरमा थियो।

उक्त निर्णायक समयमा ट्राफलगरको युद्ध यसको चरममा थियो। त्यो बेला ब्रिटिश रोयल नौसेना, स्पेन र फ्रान्सको संयुक्त सामुद्रिक शक्ति बीचको घातक समुद्री युद्ध चलिरहेको थियो। एडमिरल लर्ड नेल्सनको फ्ल्यागशिप एचएमएस भिक्टरीले आक्रमण नेतृत्व गरेको थियो तर फ्रान्सेली जहाज रिडाउटेबलले धेरै प्रहार गरिरहेको थियो। त्यसपछि, तोपको धुवाँबाट एचएमएस टेमेरेयर अगाडि आयो र यसको पछि युद्धको लालसा भएको ब्रिटिश जहाजहरूको फ्लोटिला थियो। टेमेरेयरले रिडाउटेबललाई आफ्ना तोपहरूले प्रहार गर्यो र त्यसको बदलामा तोपको निरन्तर प्रहारले यसलाई घाइते बनायो। तर एक दृढ प्रहरी जस्तै, टेमेरेयरले यो प्रहार सह्यो। यसले वीरतापूर्वक आफ्नो फ्ल्यागशिपलाई बचायो र ट्राफलगरको युद्धमा ब्रिटिश नौसेनाको विजयमा महत्त्वपूर्ण भूमिका खेल्यो।

नवीनतामा सुन्दरता
टर्नरले “द फाइटिङ टेमेरेयर” चित्र बनाउँदा ६४ वर्षका थिए। उनको जन्म सन् १७७५ मा लन्डनको कोभेन्ट गार्डन नजिकैको गरीव क्षेत्रमा भएको थियो तर १४ वर्षको उमेरमा उनी प्रतिष्ठित रोयल एकेडेमी अफ आर्ट्समा भर्ना भए। उनी २४ वर्षको अल्पायुमै एकेडेमिसियन बने र मात्र ३२ वर्षको उमेरमा परिप्रेक्ष्य (Perspective) को प्रोफेसर बने। तर उनी महान् र असल व्यक्तिहरूसँग उठबस गरे पनि उनले आफ्नो उच्चारण नरम पार्न वा आफ्नो शिष्टाचार सुधार्न मानेनन्। उनी अत्यन्तै उद्यमी पनि थिए – उनले आफ्नै निजी ग्यालरी खोले, धनी संरक्षकहरू खोजे, र व्यापक अपील हुने आकर्षक र लाभदायक नयाँ कलात्मक परियोजनाहरूको लागि सधैँ खोजीमा रहे। एउटा तहमा भन्ने हो भने “द फाइटिङ टेमेरेयर” चित्रले सर्वसाधारणको राष्ट्रिय गौरवको भावनालाई उत्तेजित गरेर उनको व्यापक लोकप्रियताको इच्छा पूरा गरिरह्यो।

तर यो चित्रबाट के सिक्ने ? देशभक्ति र भावुकताभन्दा पनि धेरै महत्त्वपूर्ण सन्देश यसले सिकाउँछ।

स्टीम शक्ति टर्नरको युगको नयाँ यान्त्रिक आश्चर्य थियो। यो नयाँ प्रविधिप्रति उनको दृष्टिकोण थ्याकरे, मेल्भिल वा क्यूले बुझेको भन्दा धेरै जटिल थियो। टर्नरका अन्य कलाकृतिहरू, जस्तै “स्नो स्टर्म – स्टीम-बोट” (१८४२) र “रेइन, स्टीम एन्ड स्पीड” (१८४४) मा, तपाईँले आधुनिक मेशिनरी र यसले व्यक्तिगत अनुभव, वातावरण र समाजमा पारेको परिवर्तनकारी प्रभावप्रति उनको मोह देख्न सक्नुहुन्छ। यो टर्नरको महान् प्रतिद्वन्द्वी जोन कन्स्टेबलको विपरीत छ। उनका चित्रहरूले त्यतिबेला ब्रिटिश द्वीपहरूलाई पुनर्निर्माण गरिरहेका केही सबैभन्दा ठूला परिवर्तनहरूलाई बेवास्ता गरे।

कन्स्टेबलको प्रतिष्ठित १८२१ को चित्र “द हे वेन” मा, एउटा पुरानो गाडी दर्शकबाट कोमलतापूर्वक ग्रामीण अंग्रेजी भूदृश्यमा लड्छ। टर्नरको “द फाइटिङ टेमेरेयर” ले हामीलाई यसको ठीक विपरीत दिन्छ, दर्शकलाई उद्योगको अजेय शक्तिसँग जुझ्ने बाटोमा पुर्याइदिन्छ।

यसले समकालीन वास्तविकतालाई प्रतिबिम्बित गर्यो। “द फाइटिङ टेमेरेयर” चित्रित गरिएको बेलामा, रोयल नौसेनाले ठूला जहाजहरू तान्न स्टीमबोटहरू बढी प्रयोग गरिरहेको थियो। यसको पाल-शक्तिचालित बेडालाई नयाँ स्टीम फ्रिगेटहरूले प्रतिस्थापन गर्ने योजना पहिले नै सुरु भएको थियो। तर टेमेरेयरको अन्त्यले हतियारहरूको नियमित उन्नतिलाई प्रतिबिम्बित गरेन। यो समुद्री यात्राको एक अद्वितीय क्रान्ति थियो। संसारभरका नाविकहरूले हजारौँ वर्षदेखि हावा-पालमा निर्भर थिए। अब, स्टीम इन्जिनहरूले नाविकहरूलाई हावा र ज्वारभाटाको अनिश्चिततालाई पार गर्न, प्रकृतिलाई चुनौती दिने भए। भविष्य स्टीम-शक्तिचालित थियो, तर यसले यातायात, व्यापार र नौसैनिक युद्धको भविष्यलाई कसरी प्रभावित गर्ने थियो भन्ने सन् १८३० को दशकमा कसैले पनि अनुमान गर्न सकेनन्। टर्नरले भने होमरको “ओडिसी” देखि नै, पाल समुद्री यात्रा कला र साहित्यमा जीवन यात्राको गहन प्रतीकको रूपमा काम गरेको बुझेका थिए। त्यसैले पुरानो र नयाँलाई यसरी अविस्मरणीय रूपमा जोडेर, उनले हामीलाई एक प्रभावशाली रूपान्तरण देखाए। समय परिवर्तन हुँदैछ, मानव इतिहासमा नयाँ, औद्योगिक-पश्चात् जीवनचक्रको सुरुवात भइरहेछ भन्ने दृश्य यसबाट बुझाउने प्रयास गरिरहेका थिए।

टर्नर परिवर्तनको समयमा कलाकारहरूको जिम्मेवारी कस्तो हुनुपर्छ भन्नेमा सचेत थिए। उनका लागि, काठका पाल जहाजहरू, तिनका रिगिङ, पालहरू र सुन्दर फिगरहेडहरू चित्रण गर्ने पुरानो कौशल अप्रचलित हुँदै गइरहेको थियो। उनले बुझे कि आधुनिक युगमा प्रत्येक कलाकार (र समाजको प्रत्येक सदस्य) को लागि चुनौती नवीनतामा सुन्दरता र महत्त्व फेला पार्नु हो। र, कलामा पहिले नै चित्रित नभएका वस्तुहरू, जस्तै फलामको फनल, पिस्टन, भाल्भहरू र प्याडल व्हिलहरूमा खोज्नुपर्ने हुनसक्छ। “द फाइटिङ टेमेरेयर”मा उनले यो चुनौतीमा उभिने क्षमतालाई एउटा यादगार प्रतीकमा कैद गरे।

टर्नरले आफ्नो चित्रकला शैलीलाई आफ्नो वरपरको संसारमा भइरहेका प्राविधिक र सामाजिक परिवर्तनहरू व्यक्त गर्न अनुकूलित गरे। उनले “द फाइटिङ टेमेरेयर” मा नयाँ आविष्कार भएका रङहरू जस्तै लेमन येलो र स्कार्लेट लेक प्रयोग गरे। चित्रको वर्णक विश्लेषणले उनले आफ्नो भान्साबाट तेल, घिउ वा सलाद तेल जस्ता पदार्थहरू आफ्नो रङमा थप्न खोजेको देखाउँछ।

नयाँ प्रविधिप्रति उनको रुचि र यसलाई प्रतिनिधित्व गर्न नवीन प्रविधिहरूको खोजले अर्को पुस्ताका अवान्ट-गार्ड चित्रकारहरूमा प्रत्यक्ष प्रभाव पार्यो। क्लाउड मोनेट र क्यामिल पिसारो दुबै टर्नरको कलाद्वारा प्रभावित भए। टर्नरको “रेइन, स्टीम एन्ड स्पीड” (जसले मेडेनहेड ब्रिजमाथि दौडिरहेको रेलगाडी देखाउँछ) को १८७४ मा पेरिसमा भएको पहिलो इम्प्रेसनिस्ट प्रदर्शनीमा प्रदर्शित गरिएको थियो। त्यो एउटा आधुनिक कलाको इतिहासमा एक निर्णायक घटना थियो।

सन् २०२५ मा विभिन्न प्रदर्शनीहरूले टर्नरको २५०औँ जन्मदिन मनाउने छन्, लिभरपुलको वाकर आर्ट ग्यालरी (“टर्नर: एलवेज कन्टेम्पररी”) देखि ट्विकनहमको टर्नर्स हाउस (“टर्नर्स किङ्डम: ब्युटी, बर्ड्स एन्ड बिस्ट्स”) र येल सेन्टर फर ब्रिटिश आर्ट, कनेक्टिकट (“जेएमडब्ल्यू टर्नर: रोमान्स एन्ड रियालिटी”) देखि टेट ब्रिटेन (“टर्नर एन्ड कन्स्टेबल”) सम्म। तर यस असाधारण कलाकारलाई पूर्णरूपले सराहना गर्न, उनको महाकाव्य “द फाइटिङ टेमेरेयर” को वास्तविक अर्थ बुझ्न महत्वपूर्ण छ।

प्रायः यसलाई उदासीको छवि, विगतको गौरव र हराएको जीवनशैलीको लागि एक निराशाजनक विलापको रूपमा लिइन्छ। तर यसले यसको मूल भावनालाई नै छोडिदिन्छ। “द फाइटिङ टेमेरेयर” वास्तवमा रूपान्तरण र परिवर्तनको अनिवार्यताको बारेमा हो, उदासीनताको बारेमा होइन। “द फाइटिङ टेमेरेयर” बाट सिक्न सबैभन्दा महत्त्वपूर्ण पाठहरू टर्नरको दृष्टिकोण र दृष्टिकोणको बारेमा छन्। यसले नवीनताबाट तर्सन वा पारम्परिक कलात्मक मूल्यहरूमा दास बन्न अस्वीकार गर्ने उनको इच्छालाई प्रतिबिम्बित गर्छ। आधुनिक अनुभवको सुन्दरता र महिमा फेला पार्ने र विगतलाई पछि छोड्ने उनको खोज “द फाइटिङ टेमेरेयर” मा शानदार रूपमा देखिन्छ। र, यी गुणहरू नै आधुनिक कलाको लागि उनको स्थायी विरासत हुन्।

जेएमडब्ल्यू टर्नरको २५०औँ जन्मदिन आउँदो २३ अप्रिल २०२५ मा पर्छ।