कृति शाह चन्द

‘समय, परिस्थिति र वास्तविकता’ कलाकार कीर्ति शाह चन्दको कलाकृतिहरूको प्रदर्शनी यही साता सकियो । प्रदर्शनी सकिए पनि यसले कलापारखीलाई दिएको सन्देश सकिएको छैन । शीर्षक नै गहिरो, समसामयिक र सकारात्मक सन्देश प्रवाहमा सक्षम छ । आजको आवश्यकता पनि यही हो ।
समयको गतिशीलता अनवरत छ । परिस्थिति त्यसैअनुसार घुमफिर गर्छ, कहिले अनुकूल त कहिले प्रतिकूल । वास्तविकता त यथार्थको कठोर प्रतिविम्ब हो– समय र परिस्थितिको घर्षणले जन्माएको रूपरेखा । यही अन्तरसंवादलाई एउटा सर्जकले कसरी महसुस गर्छ ? कसरी आफ्ना भाव, वेदना र अनुभूतिहरूलाई क्यानभासमा पोख्छ ? कलाकार कीर्ति शाह चन्दको कलाकृतिहरू यिनै भावनात्मक छालहरूबाट निर्माण भएका दृश्य–कथाहरू हुन् ।
उनका कृतिहरू हेर्दा लाग्छ– उनी समयलाई रङमा बदल्ने कुशल जादूगर हुन् । अधिकांश चित्रकला ‘फ्लु आर्ट’ अन्तर्गत् रङहरू क्यानभासमा पोखाएर सिर्जना गरिएका छन् । त्यसबाट उत्पन्न भएका अनेकौ सौन्दर्य विम्बहरू कलामा देख्न सकिन्छ । यसरी स्वतः निर्माण भएर विभिन्न भाव–तरङ्गका दृश्यहरू वास्तवमा स्थिर आकृतिहरू होइनन्, ती जीवनको विभिन्न कालखण्डका मौन साक्षीहरू हुन् ।
कीर्ति शाहका चित्रहरूमासमयको शान्त अवतरण देखिन्छ । परिस्थिति र वास्तविकताको तीव्र संघर्ष भेटिन्छ । हरेक रङको थोपामा कथा छ । हरेक रङको प्रवाहमा जीवनको गति छ । हरेक रेखाचित्रभित्र अनुभूतिको गीत गुञ्जिरहेको छ ।
यद्यपि उनका कलामा बगेका रङहरू सौन्दर्यका प्रतिमान होइनन् । खनसमा ती समयका व्याख्या हुन् । सेतो रङ– एक शून्यता हो, जसले समयको मौनतालाई व्यक्त गर्छ । रातो रङ– ऊर्जाशील द्वन्द्व हो, जुन परिस्थिति र यथार्थको भिडन्तलाई चित्रित गर्छ । नीलो– शान्ति र स्थायित्वको प्रतीक भए पनि कहिलेकाहीँ असह्य पीडाको संकेत बन्छ । पहेँलो– उनीभित्रको आशाको झल्को हो, जुन जति नै कठोर परिस्थितिमा पनि जीवित छ ।
कीर्ति शाह चन्दको चित्रकलामा अमूर्तता र यथार्थको सुन्दर द्वन्द्व देखिन्छ । केही चित्रहरू तीव्र, अव्यवस्थित र अशान्त लाग्न सक्छन् । तर तिनै चित्रभित्र समयको विवशता, परिस्थितिको प्रभाव र वास्तविकताको कटूता मिसिएको हुन्छ । कहिलेकाहीँ उनका तूलिकाघातले क्यानभासमा जीवनको मिठासलाई समेट्छ, कहिलेकाहीँ त्यो मिठास पछाडिको कटू सत्यलाई उदाङ्गो पारिदिन्छ ।
वास्तवमा कलाकार आफ्ना क्यानभासमा रङमात्र भर्दैन, ऊ समयसँग संवाद गर्छ । परिस्थिति र वास्तविकतासँग वादविवाद गर्छ । अनि अन्ततः आफ्ना भावनाहरूलाई अमर तुल्याउने कला सिर्जना गर्छ । कीर्ति शाह चन्दको चित्रहरू दृश्यात्मक सौन्दर्य मात्र होइनन् । वस्तुतः तिनीहरू समयको अभिलेख हुन्, परिस्थितिको स्वीकृति हुन् र वास्तविकताको अवलोकन हुन् । यही विशेषता नै तिनलाई एउटा सशक्त सर्जक बनाउँछ ।
अन्ततः कला दृश्यमा सीमित हुँदैन । यो अनुभूतिमा बस्छ, मनको तहसम्म प्रवेश गर्छ । कीर्ति शाह चन्दले आफ्ना कलामा समय, परिस्थिति र वास्तविकतालाई जुन रूपले उतारेकी छन्, त्यो रङहरूको संयोजन होइन । त्यो एक भोगाइ हो, एक प्रतीकात्मक दर्शन हो, जसले प्रत्येक दर्शकलाई आफ्नै तरिकाले बोलाउँछ, भुलाउँछ र सोंच्न बाध्य पार्छ । यही त हो, साँचो कलाको शक्ति– जहाँ समय, परिस्थिति र वास्तविकता रङलेपन र ब्रशको प्रत्येक ‘स्ट्रोक’ मा जिउँदो देखिन्छ ।
समय आफ्नो गोरेटो आफैं खन्दै अघि बढ्छ । न कोही रोक्न सक्छ, न त फर्काउन नै । तर समयसँगै परिस्थिति बदलिन्छ र ती परिस्थितिभित्र वास्तविकताको छाया देखापर्छ । समयको प्रवाहले मानिसलाई कहिले अगाडि धकेल्छ, कहिले पछाडि तान्छ । यथार्थमा उसले भोगेको अनुभूति नै उसको यथार्थ बन्छ ।
परिस्थितिको एउटा अदृश्य हात हुन्छ, जसले मानिसलाई कहिले नायक बनाउँछ, कहिले एउटा अनाम पात्रमा सीमित राखिदिन्छ । सुखद घडीमा हामी समयको प्रशंसा गर्छौं, दुःखका क्षणहरूमा उसलाई दोष दिन्छौं । वास्तविकता भने यतै कतै, अनुभूतिको गहिराइमा लुकेको हुन्छ । त्यो कुरा हामीलाई थाहा हुँदैन ।
बाल्यकालको उज्यालो बिहान सम्झौं– जहाँ समय कछुवा जस्तै थियो, मन उज्यालो थियो र वास्तविकता खेलौना जस्तै हल्का लाग्थ्यो । तर वयस्कमा समय हिँडदैन, एकोहोरो कुद्छ मात्र । कुद्दाकुद्दै कुनै अनिश्चित मोडमा परिस्थिति बदलिन्छ । अनि वास्तविकता त्यही मोडमा उभिएर हाँस्छ– ‘हे मानिस, म सधैं तिमीलाई पछ्याइरहेछु । तर तिमी चाहिँ कल्पनाको पंख फटफटाइरहन्छौ ! तिमी मूर्ख हौ ।’

चित्रकार कृति शाह चन्दका साथ लेखक ज्ञानेन्द्र विवश

कहिले हिउँदको कठोर चिसोले जीवनलाई थकित बनाउँछ, कहिले वसन्तको फूलबुट्टाले मन हलुङ्गो पार्छ । मानिस यिनै बदलिने ऋतुसँगै हाँस्छ, रुन्छ, प्रेम गर्छ, घृणा गर्छ । परिस्थिति बदलिन्छ, मान्छे बदलिन्छ । परन्तु समय कहिल्यै रोकिँदैन । अनि वास्तविकता ? त्यो त ऐनामा देखिने अनुहार जस्तै हो, जुन कहिलेकाहीँ हाम्रो मनको भावनाले छायामय बनाइदिन्छ ।
कलाको संसारमा पनि समय, परिस्थिति र वास्तविकताको खेल रोमाञ्चक छ । कुनै कलाकार समयलाई आफ्ना रङहरूले थुन्छ । कुनै लेखक परिस्थितिलाई शब्दमा उनेर कैद गर्छ । अनि कुनै संगीतकार वास्तविकतालाई स्वरमा पगाल्छ । तिनै सिर्जनाहरू कालजयी बन्छन्, किनकि ती सिर्जनाहरूले मात्र समयलाई हराउन सक्छन् ।
तर वास्तविकता भने कहिल्यै हराउँदैन । जीवनको कुनै मोडमा आएर ऊ हामीलाई सोध्छ–
‘तिमीले मलाई कति बुझ्यौ ?’
त्यसबेला हामी मौन बस्छौं । चुपचाप शब्दहीन बन्न पुग्छौं ।
समय चलिरहन्छ । परिस्थिति बदलिइरहन्छ ।
तर वास्तविकता, त्यो सधैं उस्तै रहन्छ– एक अदृश्य ऐना, जसमा हामी हाम्रै जीवन प्रतिविम्बित भएको देख्छौं ।
हार्दिक बधाई छ कलाकार कीर्ति शाह चन्द ! आफ्ना पिताश्री आदरणीय अग्रज कलाकार शशिविक्रम शाहको कलाकारी गौरवमय शानलाई कायम राखेकोमा । यो सिर्जनशील यात्राको अग्रगामी छलाङ सफलतापूर्वक जारी रहोस् शुभकामना छ ।