डन ली

के तपाईंले बहुचर्चित साउथ कोरियन चलचित्र ट्रेन टु बुसान हेर्नु भएको छ ? यदि हेर्नु भएको छ भने त्यसमा एक जना ज्याङ्गो पात्र पक्कै पनि भुल्न सक्नु भएको छैन होला । जो बिना कुनै डर पाखुरा सुर्केर जम्बीको हुलसँग भिड्छ । जसलाई आफ्नो मुड्कीमा निकै घमण्ड छ । जो रिसाउँदा भयानक देखिन्छ तर ङिच्च हाँस्दा अति क्युट र निर्दोष लाग्छ । जसले आफ्नी गर्भवती श्रीमतीलाई बचाउन आफ्नो ज्यान बेपर्वाह जोखिममा राखेर खतरासँग जुध्छ र अन्ततः आफ्नै जीवनको स्याक्रिफाइस गर्छ । उनै कलाकार डन लीका तीन उत्कृष्ट फिल्महरूको चर्चा यहाँ गरिनेछ ।

साउथ कोरिएन-अमेरिकन कलाकार डन लीको वास्तविक नाम इ दोङ सक हो । ‘डन ली’ र ‘मा दोङ सक’ उनका दुई स्टेज नामहरू हुन् । धेरैलाई थाहा नहुन सक्छ , उनलाई प्रेम गर्नेहरू उनलाई ‘एसियाको रक’ भनेर पनि बोलाउँछन् । ‘रक’ अर्थात सुप्रसिद्ध अमेरिकी कलाकार तथा व्यवसायिक रेस्लर ड्वेन जन्सन ।

डन ली मुख्यगरी एक्सन-कमेडी विधामा जमेका कलाकार हुन् । उनी बहु पटक ‘ग्यालप कोरिया फिल्म वर्ष कलाकार’ समेत भैसकेका छन् । ग्यालप कोरिया एक प्रतिष्ठित कोरियन रिसर्च ईन्स्टिच्युट हो जसले पब्लिक सर्वेको आधारमा प्रत्येक वर्ष ‘चर्चित वर्ष कलाकार’ छान्ने गर्छ । यसबाट पनि उनको ख्याति साउथ कोरियामा कति छ भनेर अनुमान लगाउन सकिन्छ ।

उसो त साउथ कोरियामा मात्र होइन उनको फ्यान फलोइङ विश्वभरी नै बढ्दो छ । कति सम्म भने उनले मार्भल कमिक्समा आधारित अमेरिकन सुपरहिरो फिल्म एटर्नल्स( 2021) मा समेत काम गरिसकेका छन् । उक्त फिल्ममा गिलगेमिशको भूमिका निर्वाह गरेका डन ली सम्भवत पहिलो कोरियन सुपरहिरो कलाकार हुन् । एटर्नल्समा किट ह्यारिङटन,एन्जेलिना जोली, सलमा हायक लगायतले समेत अभिनय गरेका छन् । आउनुहोस् धेरैले रुचाएका उनका तीन उत्कृष्ट फिल्महरूको चर्चा गरौँ ।

ट्रेन टु बुसान ( Train to Busan) :
सन् 2016 मा रिलिज भएको बुसानहेङ अथात ट्रेन टु बुसान एक अत्यन्तै बहुचर्चित फिल्म हो । एक्सन-हरर जनरामा आधारित यस ‘जम्बी अपोकलिप्स’ले एक हिसाबले भन्ने हो भने कोरियन चलचित्रलाई हेर्ने विश्वको नजरिया नै बदलिदियो । मूलधारका कोरियन फिल्महरू ज्यादा स्विट लभस्टोरी र इमोशनल हुने भाष्यलाई ब्रेक गर्दै कोरियाले एक विश्व स्तरीय ‘विध्वंसको फिल्म’ बनाएर अन्तर्राष्ट्रिय फिल्मी जगतलाई देखायो ।

यस फिल्ममा डन लीले अत्यन्तै शसक्त भूमिका निर्वाह गरेका छन् । सङ ह्वा नामक पात्रको जीवन्त चरित्र निभाएका उनी आफ्नी गर्भवती पत्नीका साथ ट्रेनमा सवार हुन्छन् । उनी चढेको ट्रेन जम्बी हमलामा परेपछि बडो बहादुरीकासाथ जम्बीहरूसँग उनको भिडन्त हुन्छ । आफ्नी पत्नी र पेटमा भएको बच्चालाई जोगाउन उनले आफ्नो अन्तिम शक्ति रहुन्जेलसम्म फाइट गर्छन् । सुरुवाती दृश्यहरूमा रिसाहा र सन्की स्वभावमा देखिएका उनी जब अन्तिम पटक मुस्कुराउँदै आफ्नी श्रीमतीलाई गरेको सम्बोधनमा
‘हाम्रो बच्चीको नाम मैले भनेकै राख्नू, बुझेको हो नि ? ‘ भन्छन् तब दर्शकका आँखा रुझाएरै छाड्छन् । यसरी एक अविस्मरणीय पात्र बनेर सबै दर्शकको मन मस्तिष्कमा डेरा जमाउँछ्न् ।

जब कुनै क्यारेक्टरको मर्ने बेला हुन्छ ऊ हलुका मुस्कुराउँछ र दर्शकतिर हेर्छ । जब आफू अत्यधिक पीडामा हुन्छ तब पनि ऊ मुस्कुराउँछ र क्यामेरातिर हेर्छ । तिनका मुस्कानले उल्टो दर्शकलाई भने भावुक बनाएर रुवाइ दिन्छ । यसरी कहिलेकाहीँ मुस्कानले पनि मान्छे रुवाउने काम गर्छ । दृश्यबाट गायब हुनु अघिका हरेक चरित्रहरू अतिरिक्त हँसिलो र उज्यालो देखिन्छन् जसरी निभ्नु अघिको दीपक सबैभन्दा तेजिलो हुन्छ भनिन्छ । पात्र सङ ह्वाको अन्तिम मुस्कान पनि यहि सूत्रमा बुनेर हृदयभेदक बनाइएको छ ।

द आउटलज ( The Outlaws) :
निर्देशक काङ युन सङद्वारा निर्देशित सन् 2017 मा रिलिज भएको यस फिल्मको कोरियन नाम बमछेथोसी हो जसको शाब्दिक अर्थ क्राइम सिटि हुन्छ । यो लीको सम्भवत सर्वाधिक रुचाइएको फिल्म हो । एक्सन क्राइम विधामा निर्मित यसै फिल्मबाट उनको चिनारी झनै फैलिएको थियो ।

मा सक दो नामको डिटेक्टिभ चरित्र निभाएका ली यस फिल्ममा एक रमाइलो ‘टफ कप’ को भूमिकामा अब्बल देखिएका छन् । कहिले खुँखार अपराधीले आफूलाई प्रहार गर्न लागेको धारिलो चक्कू ‘यी यो थैलीमा हाल् !’ भन्दै प्रमाण संकलन गर्ने सानो प्लास्टिक ब्याग थापेर दर्शक हसाउँछन् । त कहिले एकै पन्चले अपराधीलाई बेहोस बनाएर ‘उठ् ओ उठ् ! लामो लामो सास तान् ‘ भनेर हसाउँछन् । ग्याङ अपराधको कथामा बनाइएको यस फिल्ममा ली साँच्चिकै एक कहिल्यै बिर्सन नसकिने भूमिकामा छन् । यस फिल्मको अन्तर्राष्ट्रिय दर्शक देखेर हुनुपर्छ बलिउडमा समेत यसको रिमेक गरिएको थियो । सन् 2021 मा प्रभु देवा निर्देशित सलमान खान स्टारर फिल्म राधे यसैको रिमेक हो । ईमानदार पूर्वक भन्नु पर्दा डन लीको तुलनामा बलिउड स्टार खान राधेमा निकै फितलो देखिएका छन् अझ भन्नु पर्दा आधाआधी पनि देखिएका छैनन् भन्दा अतिशयोक्ती नहोला ।

यस फिल्मको जादू कति चल्यो भन्ने कुरा यसका सिरिज नै सुरु भएबाट पनि थाहा लाग्छ । सन् 2022 मा द राउन्डअप , सन् 2023 मा द राउन्डअप : नो वे आउट र सन् 2024 मा द राउन्डअप : पनिसमेन्ट गरेर द राउन्डअप सेरिज नै निर्माण भएको छ । अंग्रेजीमा टाइटल राउन्डअप राखिए पनि कोरियन भाषामा भने क्रमशः बमछेथोसी 2,3 र 4 नै नामाकरण गरिएको छ । यसर्थ यी तीन फिल्महरूलाई द आउटलजका सिक्वेलको रुपमा पनि लिन सकिन्छ ।

च्याम्पियन ( Champion) :
सामान्यतया कोरियन फिल्मका ओरिजिनल कोरियन नाम र अंग्रेजी नाम फरक फरक राखिएका हुन्छन् । यद्यपि सन् 2018 मा रिलिज भएको डन लीको फिल्म च्याम्पियन भने यसै नाममा रिलिज भएको थियो । स्पोर्ट्स कमेडी जनराको यस फिल्मले निकै ख्याति बटुल्यो । यो फिल्म किन पनि लीको लागि उल्लेखनीय छ भने यो फिल्म आर्म रेस्लिङको कथामा आधारित थियो र बुझ्नु पर्ने कुरा के छ भने ली स्वयम पनि एक सफल आर्म रेस्लर हुन् ।

यस फिल्ममा मार्क नामक चरित्र निर्वाह गरेका उनी आफूलाई सानैमा एडप्सनको लागि त्यागिदिएकी आमाको खोजिमा साउथ कोरिया आएका हुन्छन् जहाँ एक नेशनल आर्म रेस्लिङ टुर्नामेन्टमा भाग लिन्छन् । पारिवारिक इमोसनले भरिएको उतारचढाव झेल्दै मार्कले बडो रोचक ढंगले आफ्नो अन्तिम प्रतिस्पर्धीलाई हराउँछ र च्याम्पियन बन्छन् ।

यी उमेरले पचास नाघिसकेका एक्टरका नेमलेस ग्याङ्स्टार,अनस्टोपेबल जस्ता थुप्रै अन्य सफल मूभीहरू पनि छन् । त्यस्तै उनले थुप्रै चर्चित टेलिभिजन कार्यक्रमहरूमा समेत आफूलाई अब्बल साबित गरिसकेका छन् । खानेकुरादेखि लिएर स्पोर्ट्स सामग्रीसम्म , अटोमोबाइल देखि लिएर टेक्स्टाइलसम्मका नानाथरी विज्ञापनहरुमा उनी छ्यासछ्यासती देखिन्छन् साउथ कोरियामा । के डन ली तपाईंको पनि फेवरेट कलाकार हो ? यदि त्यसो हो भने उनका कुन कुन फिल्म तपाईँका फेवरेट हुन्?