गएको बुुधबार साँझ सामाजिक सञ्जालमा एउटा कार्टुन भाइरल भयो । एउटा उज्यालो कोठामा ओछ्यानमा प्रधानमन्त्री केपी शर्मा ओली सुतिरहेका छन् र कुलमान घिसिङ त्यस कोठाबाट बाहिरिँदैछन् । घिसिङ बाहिरिँदै गर्दा ओलीले भनेका छन्, ‘के तालको केटो रै’छ यो !? जाँदा बत्ती निभाएर जा ! मलाई उज्यालोमा पिटिक्कै निद्रा लाग्दैन ।’
यो कार्टुन विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको गएको आइतबार कार्यकाल सकिएर मंगलबार बिदाइ भएको सन्दर्भमा बनाइएको हो । जहाँ नागरिकले कुुलमानलाई नै पुुनः नियुक्ति गर्नुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकमा समेत आवाज उठाइरहेका छन् । सरकारले भने त्यस विषयमा विचार गर्नुुपर्ने बताउँदै आएको छ ।
यो भाइरल भएको व्यङ्ग्यचित्र पोखरा ३२, तल्लो गगनगौँडाका बिन्दुु पौडेलले बनाएका हुन् । जो अहिले वैदेशिक रोजगारीको शिलशिलामा कोरियाको राजधानी सउलमा छन् । यसअघि पनि उनका धेरै कार्टुनहरु सामाजिक सञ्जालमा निकै रूचाइएका हुन् । उनी हाल कोरियाबाट नै देशको सामाजिक, राजनीतिक परिस्थितिहरुलाई व्यङ्ग्य चित्रमा उतारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछन् ।
पौडेलले २०५६/५७ सालबाट विभिन्न पत्रिकाहरुमा चित्रहरु कोर्ने गर्दथे ।
व्यङ्ग्यचित्रको यात्राबारे उनी भन्छन्, ‘व्यङ्ग्यचित्र कहिलेबाट बनाएँ भनेर आफैँलाई ठ्याक्कै थाहा छैन् ।’
‘केही साप्ताहिक पत्रिका, मासिक पत्रिका, केही अंक कामनाको गाईजात्रा र सानातिना धेरैमा गरेँ,’ उनले भने, ‘ती सबैजसो अहिले बन्द पनि भैसके होला । कति त मैले नै नाम बिर्सिसकेँ ।’
पौडेलका बुुवा बाबुराम पाैडेलले पनि चित्रहरु कोर्ने गर्थे । त्यही देखेर उनले पनि चित्रहरु कोर्न थाले । कोर्दै जाँदा उनका आफन्तहरुको वाहवाहीले राम्रा चित्र र कार्टुन बनाउन प्रेरणा दियो । पछि उनी आफ्ना बुुबा बाबुराम र भिनाजु दिनेश रेग्मिको सल्लाहमा काठमाडौँमा आई ललितकला क्याम्पसमा भर्ना भई अध्ययन गर्न थाले ।
उनका कार्टुनहरु अहिलेको समयमा सामाजिक सञ्जालमा पोस्ट गर्नासाथ भाइरल हुने गर्छन् । उनको कुन कार्टुन उनका लागि टर्निङ पोइन्ट बन्यो त ?
‘मेरो टर्निङ पोइन्ट त अझै आएको छैन जस्तो लाग्छ,’ उनी भन्छन्, ‘टर्निङ पोइन्ट नआउँदै श्रमजीवि कलाकारिताको जीवनबाट अलि टाढा भैरहेको छु । अहिले भने सोखले मात्र बनाउँछु !’
‘छाति फुलाउने गरी मनपर्ने कुनै बनाएको छैन, कुनै कुनै पुराना चित्रहरु हेर्दा कहिलेकाहीँ ओहो त्यतिबेला नि यत्तिको दिमाग चलाउँथेँ है भन्ने मात्र लाग्ने हो !’
व्यङ्ग्यचित्रहरु पहिला पत्रिकाहरुमा बनाउँदा भन्दा अहिले फेसबुक ट्विटरतिर पोस्ट गर्दा नै केही हदसम्म चर्चित भएका हुन् कि जस्तो उनलाई लाग्ने गरेको छ ।
उनका व्यङ्ग्य चित्रहरु केही फोहोरी किसिमका (अश्लीलजस्ता) पनि हुने गर्छन् । यस्तो कार्टुन बनाउनुको कारण चाहिँ के हो त ?
उनी भन्छन्, ‘फोहर सफा गर्न फोहरमै छिर्न पर्छ भनेजस्तो राजनीतिक स्वार्थको भद्दा नाच भएको हाम्रो समाजमा ऐना देखाइदिँदा त्यो अश्लील, भद्दा वा फोहोरी नै लाग्छ सक्छ ।’
कार्टुन बनाउँदा पहिला आफूलाई छोइरहेको समासामयिक विषय उनी रोज्छन्, भन्छन्, ‘कार्टुन बनाउन विषय खोजेर बनाउने बानी छैन, जे कुराले छोइरहेको छ त्यस विषयमा आफैँ फुर्छ, त्यसपछि म बनाउन बाध्य हुन्छु ।’
पहिला उनी नेपालमै हुँदा केही समय कार्टुनभन्दा पनि इलस्ट्रेसन, शिक्षामूलक पोस्टरहरु र स्कुलका टेक्स्टबुकहरुमा पनि काम गर्थे ।
पछि इलस्ट्रेसन (रेखाचित्र) गर्दा गर्दै उनी एनिमेसनतिर काम गर्न थाले । एनिमेसन पढ्नका लागि भनेर उनी स्कलरसिपमा कोरिया गए ।
यस बीचमा उनले दश वर्ष जति कार्टुन बनाएनन् । अहिले भने उनले आफ्नो पढाइ पूरा गरिसकेका छन् ।
हिजोआज फुर्सदको समयमा मुडचल्दा समसामयिक कार्टुन बनाएर सामाजिक सञ्जालतिर पोस्ट गर्ने गरेको उनले बताए ।
जब हातले चित्र बनाएर जीवन धान्न कठिन छ भन्ने उनलाई लाग्यो, उनी प्रविधिमैत्री हुँदै डिजिटल चित्रहरु बनाउन थाले र अहिले उनी कोरियन टेलिभिजनमा भिडियोग्राफीको काम गर्दछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।