पछिल्लो समय चित्र तथा मूर्तिहरुबाट राम्रै आम्दानी गरिरहेकी कलाकार हुन्, यशोदा सिंह लम्साल ।
सुदुरपश्चिम प्रदेश, बझाङ जिल्लाको चैनपुरकी चित्रकार तथा मूूर्तिकार यशोदा लम्साल विगत दुई वर्षदेखि व्यावसायिक रुपमा चित्र तथा मूर्तिहरु बनाउँदै आइरहेकी छन् । उनले चित्र बनाउन थालेको भने लगभग १० वर्ष भयो । आफ्नो कलालाई व्यावसायिक रुप दिन भने उनलाई अलि लामै परीक्षा पास गर्नु पर्यो ।
लम्साललाई सानैदेखि चित्र बनाउन मन पर्थ्यो । ‘मैले कक्षामा पढ्ने बेलामा चित्र कोरेर बस्दा गुरुको पिटाइ समेत खानु पर्यो,’ उनले भनिन् ।
‘त्यतिबेला चित्र बनाउँदा न गुरुले हौसला दिए, न परिवारले,’ उनी भन्छिन्, ‘सुदुुरपश्चिमजस्तो विकट ठाउँमा जन्मिएकी म । त्यहाँ चित्र के हो, कला के हो भन्ने कुरा कसैले बुुझेकै थिएनन् । कति नै समय भएको छ र मान्छेहरुले आर्टको बारेमा बुुझेको र चित्रकला प्रति आकर्षित भएको ?’
उनलाई आफ्नै मनबाट मैले चित्र बनाउछु भन्ने लागेर चित्र बनाउन थालेकी हुुन् । कसैबाट चित्र कोर्नका लागि प्रेरणा पाएर भने होइन ।
उनको कलेजको पढाइ सक्किनेबित्तिकै बिहे भयो । ‘बिहेपछि घर गृहस्थी समाल्नतिर नै लागियो,’ लम्सालले भनिन्, ‘यसो फुुर्सदको बेला भने आफ्नो आत्मसन्तुष्टिको लागी चित्रहरु कोर्ने गर्थे ।’
पछिल्लो समय भने उनले चित्र तथा मूूर्तिबाट पनि व्यावसायिक रुपमा राम्रै आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई आफ्नो परिवारलाई दुई महिनामा प्रमाणित गरेर देखाइन् । परिवारलाई मनाएपछि अहिले उनी चित्रकला तथा मूर्तिकला प्रदर्शनी कार्यशालामा भाग लिँदै आइरहेकी छन् । उनलाई चित्र कोर्न र मूर्ति बनाउने दुवै काम गर्न खुुबै मन पर्छ । उनी विशेषगरी महिलाहरुका चित्र बढी बनाउँछिन् । उनी भन्छिन्, ‘सुदूरश्चिमको बझाङबाट मूर्ति बनाउने म आफू एक्लै हुुँ जस्तो लाग्छ । चित्रहरु त सबैले बनाउँछन् तर मूर्ति बनाउने काम भने अलि गाह्रो हुन्छ ।’
अहिलको समयमा उनी चित्रकला र मूर्तिकलाबाहेक विभिन्न विद्यालयहरुमा अध्यापन पनि गराउँछिन् ।
‘वर्तमान समयमा कला प्रति विद्यार्थीहरु निकै आकर्षित देखिन्छन् तर कतिपयको परिवारबाट स्कुलबाट नै सपोर्ट मिलेको छैन्,’ उनी भन्छिन्, ‘अभिभावक र शिक्षकहरु पनि उनीहरुलाई खाली पाठ्यक्रम मात्र फोकस गराउने गर्दछन् । उनीहरुमा भएको प्रतिभा पहिचान गर्न असमर्थ भएका छन् । आफ्ना बच्चाहरुको प्रतिभा मार्ने गरेको वास्ता नगर्ने गरेको पनि पाइएको छ ।’
अब भने उनी आफ्नो चित्रकलालाई व्यावसायिक रुपमा निरन्तरता दिने योजनामा छिन् ।
अहिले इटहरीमा बसोबास गर्दै आएकी उनलाई आफ्नो जन्म गाउँ बझाङ गएर फाइन आर्ट कलेज खोल्ने इच्छा छ । उनी त्यहाँका कलामा रुचि राख्ने र आर्थिक अवस्था कमजोर भएकाहरुले आफ्नो सपना पूरा गरुन भन्ने चाहन्छिन् । उनले कोरोना महामारीको अवस्था केही सामान्य भएपछि त्यसको लागि वातावरण सिर्जना गर्ने पनि बताइन् ।
उनी आफ्ना चित्रहरुमा वाटर कलर, आयल कलर र एक्रेलिक कलर बढी प्रयोग गर्ने गर्दछिन् । उनले फाइबर, ढलोट र ह्वाइट सिमेन्टका मूर्तिहरु बनाउँछिन् । उनले आफ्ना चित्र तथा मूर्तिहरु २५ हजारदेखि १० लाखभन्दा माथि पनि बेच्ने गरेकी छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।