हेर्दाको सामान्य नै किन नहोस्, त्यसमा देखाइएको स-साना मिहिन कुराले त्यो चित्रलाई अद्भूत बनाइदिन्छ । आज हामीले चर्चा गर्न लागेको चित्रकलामा त्यही कुरा झल्कन्छ ।
जन भेन एकको द एर्नोल्फिनी पोट्रेटमा पनि सोही कुरा लागू हुन्छ । उनको यो चित्रकलामा स-साना कुरालाई निकै मिहिन तरिकाले खुट्टिने गरी अंकित गरिएको छ । यसमा रहेका व्यक्ति, देखिएका भित्ता, त्यहाँ टाँगिएका सामग्रीको दूरी ठीकठीक मात्रामा अनुपात मिलाइएको छ । सोही अनुपातका कारण यो चित्र अझ बढी प्रामाणिक प्रतीत हुन्छ । अझ यो चित्रकलाको विशेषता भनेको एउटा कोठामा हुने प्रकाशको मात्रालाई ठ्याक्कै अभिव्यक्त गर्नु हो ।
यो चित्र इटालीका व्यापारी गियोभानी डि एरिगो एर्नोल्फिनी र उनकी पत्नी छन् । यो चित्रलाई द एर्नोल्फिनी म्यारिजका रूपमा समेत परिचित छ । हुन त यो चित्र सन् १४३४ मा बनाइएको हो तर व्यापारी गियोभानी र उनकी पत्नीको विवाह त्यसअघि नै भएको मानिन्छ । यो चाहिँ उनीहरूको विवाहको साक्षीका रूपमा बनाइएको केहीको कथन छ ।
अहिले विवाह समारोहमा तस्बिर खिचिन्छ, त्यो बेला धनीमानीले सो महत्त्वपूर्ण घटनालाई यसरी नै चित्रमार्फत जीवन्त बनाउने प्रयास गर्थे । यो चित्रकलाले विवाहको घटना यसरी दर्ता गर्ने एक पुरानो साक्षीका रूपमा अहिले पर्यन्त काम गरेको छ ।
चित्र बनाउनु त्यो बेला महँगो शोख त छँदैथियो, त्यसमाथि यसमा उभिएका दुई दुलाहा-दुलहीको पहिरनले उनीहरूको वैभवको भव्यता पनि अभिव्यक्त गरेको छ ।
को हुन् जन भन एक?
यो चित्रकलाका सर्जक जन भन एकलाई पुनर्जागरण युगको एक महत्त्वपूर्ण सर्जकका रूपमा चिनिन्छ । उनको सिद्धि तेलरङमा छ । त्यो कालमा तैलरङबाट मिहिन र ससाना कुराहरू पनि प्रकटीकरण गर्न उनको खुबीले यस विधालाई लोकप्रिय गराउन भूमिका खेलेको छ ।
सन् १३९० मा जन्मिएका उनको पहिलो पटक कामको चर्चा सन् १४२२ अगस्तमा भएको देखिन्छ । उनलाई नेदरल्यान्डका राजाले राजधानी हेगमा बोलाए र दरबारका प्रमुख चित्रकारका रूपमा नियुक्ति दिइयो ।
उनको बहुचर्चित चित्रकलाका रूपमा यसबाहेक अर्को एक सिर्जना घेन्ट अल्टरपिसलाई मानिन्छ ।
यो चित्रमा के हेर्ने ?
शुरूमा पुरूषलाई हेर्नुस्, अनुहारको भावभंगिमा नियाल्नुस् । बडो गम्भीरता झल्किन्छ अनुहारमा जबकि उसको हातले त्यसको ठीक विपरीत कुरा बताइरहेको छ । उता स्त्रीको अनुहार उज्यालो देखिन्छ । स्त्री गर्भिणी देखिन्छे ।
तल काठको चप्पल एकाछेउमा राखिएको छ । चप्पलको प्रकृति अध्ययन गर्नुभयो भने त्यो बेला कस्ता चप्पल बन्दा रहेछन् भन्ने पनि जानकारी हुन्छ ।
त्यसपछि महिलाले लगाएको लुगा ख्याल गर्नुस्, महँगो फेब्रिकको लुगा र त्यसमा देखिएको डिजाइनले त्यसको भव्यता झल्काउँछ । छेउमा एउटा मूर्ति छ, त्यो मूर्ति सानो आकारको देखिएको भए पनि त्यसका सारा साना साना अंग पनि खुलेको देखिन्छ ।
त्यस्तै भित्तामा झुण्डाइएको ऐना होस् या त्यसको छेउको घुंगुरू उत्तिकै मोहक देखिन्छन् । ऐनालाई तपाईंले नियालेर हेर्नुभयो भने तेस्रो व्यक्ति पनि त्यहाँ देख्न सक्नुहुन्छ । यही खुबीले यो चित्रकलालाई उम्दा बनाएको हो ।
माथि झुण्डिएको फानुस पनि उत्तिकै कलात्मक देखिन्छ । अरू त अरू कुकुर पनि उनीहरूको छेउमा उभिएको छ र कुकुरको रौँ, कुकुरको चञ्चलतासमेत त्यसमा अनुभूत गर्न सकिन्छ ।
https://upload.wikimedia.org/wikipedia/commons/3/33/Van_Eyck_-_Arnolfini_Portrait.jpg
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।