
भुवन थापा
नेपाली मूर्तिकलाको क्षेत्रमा तीन दशकदेखि निरन्तर लागिरहनु भएका मूर्तिकार भुवन थापाको पछिल्लो एकल कला प्रदर्शनी लाजिम्पाटस्थित ताक्पा आर्ट ग्यालरीमा चलिरहेको छ । उहाँलाई कलाक्षेत्रमा नचिन्ने मान्छे सायद विरलै होलान् किनकि भुवन नेपाली ललितकलाका गुरु पनि हुन् । एक माझिएका साहित्यिक व्यक्तित्व पनि हुन् । उनले कला सिकाएका थुप्रै विद्यार्थी कलाकार भएर ललितकलामा यत्रतत्र छरिएका छन् ।
कलाकार भुवन थापाको कलाको सन्दर्भमा यस पंक्तिमा लेख्नु पर्दा उनको कला र उनलाई फरक ढंगले बुझ्नु, भन्नु र लेख्नु पर्ने हुन्छ । मेरो विचारमा भुवन र उनको कलामाथि दृष्टिपात गर्दा स्वयंको मनमस्तिष्कलाई स्थूलमय वा ब्रह्माणीय (म्याक्रो) तथा लघुमय (माइक्रो) तहमा परिवर्तनशील भएर पोख्न सक्नु पर्दछ । र, उनी तथा उनको कलाको गहिराईमा गएर चिहाउन सक्नु पर्दछ । सतही दृष्टिकोणको हेराई र बुझाईले उनको कलाको गम्भीरताका अवयवसम्म पटक्कै पुग्न सकिन्न । मेरो दृष्टिमा थापाको कला आयामलाई अनुभूत गर्न तेस्रो नेत्रको हेराई चाहिन्छ । अन्यथा हाम्रा दुई सतही आँखाको बलले मात्र भुवनका कला, विचार, सोच, भाव, मान्यता र उचाईका बारेमा बुझ्न सकिन्न ।
कला फ्युजनको धरातलमा टेकेर भुवनले आकाश छामेका छन् । धर्ती उधिनेका छन् । यहाँ भुवनद्वारा सिर्जित एउटा कलाको कथावस्तुको बनोटको कुरा मात्र होइन, उनको कलामा निहित यायावरका कथाहरू हुन् । उनको अन्तरमनको धरातलीय अवस्था र व्यथाहरू हुन् । यही मनोदशाभित्र तीन दशकदेखि अन्तरकुन्तर डुबुल्की मार्दै हिँडेको उनको गहनता सघनता र गम्भीरताको भावावेश लोभलाग्दा छन् । वास्तवमा कलाकार भुवन कुनै पनि निर्जीव बस्तु वा पदार्थलाई फरक दृष्टिले बुझ्छन् र हेर्छन् । सायद उनले वस्तुको रुप र रङलाई फरक मतमा पाउँछन् होला । एउटा ढुंगालाई उनी ठोसमा पनि देख्छन्, तरलमा पनि देख्छन् । ढुङ्गाहरूलाई उनी थुप्रो, रास वा अजङ्ग रुपको भवसागर मात्र देख्दैनन्, त्यहाँबाट निस्किएको एकत्वको धुनको आभासलाई पनि सुम्सुमाउँदै मद्होस हुन्छन् । भुवन नजरमा साना ठूला ढुंगाहरूको संग्रह एकत्वको प्रतिबिम्व हो । भावमा पुलकित भएका बिस्कुनझैं छरपस्टिने पदार्थ, बिम्व र उपमा भुवन कलामा आल्हादित भएको देखिन्छ । शून्यतामा अकस्मात् प्रकटीकरण हुने उनका कलाका जिजीविसाहरू साँच्चै भोका छन् । त्यही भएर भुवन आफ्ना कलामा विविध वस्तुहरूको लयतामा एकत्व बुन्छन् र एक पूर्ण रुपेणमा पस्किन्छन् । भुवन विषयवस्तुका जंजालमा भन्दा पनि आफ्ना कला गोरेटोबाट अग्रगामी मनोवृत्तिको छलाङ्मा तन्मय देखिन्छन् । यस्तै धरातलमा टेकेर उनी कला सिर्जना गरी आएका छन् ।
भुवन थापाले आफ्ना कलामा कहिल्यै पनि ठोस वस्तु र पदार्थीय संरचनालाई छुट्याएर हेरेनन् । उनले सबैमा सबैको एकत्वको सार भेटे । त्यै भएर त, उनका जुनसुकै मूर्तिकलाहरूमा एउटा सिंगल धातु, वस्तु वा पदार्थ मात्र हुन्न । काठमा मेटल समाहित हुन्छ । ढुंगामा जालीले फणा फुलाएको हुन्छ । कतै पत्थर छेडिन्छन् । कतै संरचनाहरू यत्रतत्र छरिन्छन् । मूलरुपमा उनको कामलाई एकै शब्दमा भन्नु पर्दा फ्युजन मूर्तिकला भन्दा अर्को उचाई पाइँदैन होला । फरक प्रकृतिका भूगर्भका उपहारहरू एकै ठाउँमा सम्बद्ध गराएर एकाकार सिंगो कलालाई उपहारको रुपमा बाँढ्नु कम ल्याकतको कुरो होइन । भुवन प्रकृतिप्रेमी कलाकार हुन् । प्रकृति आफैँमा एक सिंगो कला हो । प्रकृति, वनस्पती, प्राणी र चराचर भौतिक जगतभन्दा माथि हामी कोही पनि छैनौँ । मनको जगत वा अध्यात्मको जगत भन्ने कुरा छुट्टै पाटो हो । यसको चर्चा छुट्टै सन्दर्भमा गर्नुपर्छ । तर यस पंक्तिमा भुवनका कलामा समाहित हुँदै आएका ठोस वस्तुको सहकार्य रहेकाले यस सन्दर्भलाई मात्र उठान गरिएको हो । काष्ठ साङ्लोले बाँधिन्छ । अनेकतामा एकता भनिने ढुंगोको थुप्रोलाई फलामे जालीले बेरिन्छ । र, वस्तु तथा पदार्थको जीवनलाई कलाको धुनमा फुक्निछ ।
मूर्तिकलालाई फरक तर नौलो आयामबाट सिर्जना र प्रस्तुति दिने भुवनका चित्र सिर्जनाभित्रका समय हुन् । सिर्जनाभित्रका सिर्जना हुन् । अर्थभित्रका अर्थ हुन् । समयको उत्कृष्ट जन्म अवतरणलाई स्वीकार्ने र नयाँ आयाम वा धारलाई अँगाल्ने भुवनको सिर्जना नेपाली मूर्तिकलाको क्रमभंगता हो । अझ मिहिनताबाट हेर्ने हो भने मूर्तिकलाको सगरमा चौथो आयामको खोजी हो । हिजोका दिनमा परम्परागतमा पोषित मूर्तिकलाले भुवनको आजको समय र भोलिको समयलाई चुमेको छ । मेरो दृष्टिमा भुवनको मूर्तिकलाको पाइलाले अन्य मूर्तिकलाको पाइलालाई पछि पारेको छ । फ्युजन सन्दर्भको कुरालाई उठाउने हो भने नेपालमा मूर्तिकलामा फ्युजनको ट्रेन्डको प्रयोग वरिष्ठ मूर्तिकार प्रमिला गिरिले पनि गरेकी छिन् तर भुवनको फ्युजन अलिक फरक टृष्टि र मान्यतामा उजेलिएको पाइन्छ । प्रमिला गिरिले मूर्तिमा चित्रलाई संयोजन गरेर कला सिर्जना गरेकी हुन्छिन् भने भुवन फलाम, स्टिल, फलामे जाली आदि धातु र प्रकृतिलाई सिर्जनामा गाँसेर कला सिर्जना गर्छन् । यद्यपि नेपालको मूर्तिकलाको मामलामा उनको प्रस्तुति नितान्त निजी हो । एकल हो, एकल हो । आकाशमा हेर्नुस्, उनकै मूर्तिकला झुण्डिएको देख्नु हुनेछ । भित्तामा हेर्नुस्, मूर्तिहरू भित्तामा चित्रजस्तै सजिएको पाउनु हुनेछ । र, धर्तीमा हेर्नु उनकै कलाको प्रतिबिम्व छाएको भेट्नु हुनेछ ।
भुवनको हरेक मूर्तिभित्रको कथाले के भन्छ, त्यो मेरो सरोकारको विषय होइन । मेरो सरोकारको विषय हो, नेपाली मूर्तिकलाको सन्दर्भमा भुवन फरक र नौलो कला धार र भारका कलाकार हुन् । त्यसैले मैले भनेको उनको कलामाथिको गम्भीरतालाई बुझ्न तेस्रो नेत्रको आवश्यक पर्छ । उनका कलाले चल्तीका आयामिक डोबलाई पछि पारेका छन् । फ्युजनको धरातलमा टेकेर चौथो आयामको खोज गर्नु भुवन कलाको आदर्शता हो । क्वान्टम सिद्धान्तको प्रभाव हो । जसरी क्वान्टम मान्यता र प्रयोगमा वस्तुको ठोस चरित्र एकैपल्ट दुई स्थानको भूगोलमा प्रकटीकरण हुन्छ । तिनीहरु कहिले ठोस त कहिले तरलतामा रुपाकृत हुन्छ । त्यसरी नै उनको कलाले आफ्नो चरित्र चित्रण गर्छ । विषयवस्तुमा एकत्वको भाव उनको अग्रगामी विचार हो । वस्तु र पदार्थको सम्मिश्रण उनको फरक ज्ञान हो ।, र कला प्रस्तुत्य अवस्था चल्तीमय पृष्ठभूमिमा रहेका नेपाली मूर्तिकलामा छाएको क्रमभंगताको अवस्था हो । समग्रमा जोडले भन्दा भुवनको हरेक मौलिक कृतिले नेपाली मूर्तिकलाको संस्कारमा विकासवादी अवधारणा र दृष्टिकोण पस्केको छ । जडियता र धार्मिकताको आख्यानबाट सुसज्जित भएर विकास भएको मूर्तिकला र वास्तुकलामा आधुनिकताको रसातल टिल्पिलाएको छ । नेपाली मूर्ति संस्कारमा प्रगतिवादी इँटा थपिएको छ ।
कला विषयवस्तुतर्फ फर्केर हेर्दा, संग्रह, मिलन, एकत्व, र अनेकतामा एकता आजको शक्ति हो । स्टिलको कलात्मक कस्टडीभित्र अङ्कुराउँदै गरेको जीवन भोलिको समय हो । यस्ता अनेक सार भेटिन्छन् भुवनका प्रदर्शित नयाँ कृतिहरूमा । प्रदर्शनीमा झुण्डिएर सजिएका तथा बाँधिएका थैलीजस्ता देखिने आवृत्ति भोलिको सुरक्षित जीवन हो । यसरी भुवनको विषय संरचनाको पद्चापले शक्ति संचयको आवश्यकतालाई पुष्ट्याईँ गरेको पाइन्छ भने थैलीलाई संग्रहको उपमामा पस्किँदै दर्शकको दृष्टिपातलाई उचाईमा उठाउन खोजेको देखिन्छ । साँडे नामको थेगो भुवनको पुरानो कलाको पुनरावृत्ति हो, जुन साँडेको विषयगत संरचना यो पछिल्लो प्रदर्शनीमा पनि देख्न सकिन्छ । साँडेको भावार्थ धेरै हुने गर्दछ । मेरो विचारमा भुवनको कलाले साँडेलाई छोड्न नसक्नु र प्रायः बन्नु प्रतीकात्मकता हो । बिम्वप्रधान विचार हो । साँडे शक्तिको प्रतीक हो । साँडे अहमताको उदाहरण हो । साँडे छाडापनको उपमा पनि हो । साँडेले राजनीति, देश, काल र परिस्थितिको पनि ब्यङ्ग्य गर्छ । प्रदर्शनीमा प्रस्तुति भएका जालीमय कलामा मानवीय परिस्थिति बाँधिएका छन् । फलामे जालीभित्रै जीवनरुपी काठमा भ्रूणसहितका जीवनहरू अङ्कुराउँदै गरेका छन् । अघि भनेजस्तै भित्तैभरि झुण्डिएका थैलीजस्ता देखिने कृतिले संग्रहको उद्धोष गर्दै समाजलाई जीवन सुरक्षणका प्रत्याभूति दिलाएका छन् ।
मेरो विचारमा समग्रमा भुवनको कलाको मूलमन्त्र भनेको चौथो आयामको खोजी नै हो । आयामिक मान्यतामा पुलकित दृष्टिकोण नै हो । क्वान्टम सिद्धान्तको स्वीकारोक्ति नै हो । वास्तवमा तीन पल्टसम्म एकल मूर्तिकला प्रदर्शनी गरिसकेका उनी मूर्तिकार मात्र होइनन्, एक साहित्यिक स्रष्टा पनि हुन् । त्यसैले पनि उनका कलाहरू साहित्यिक भावमय देखिन्छन् । उनको हाइकु सङ्ग्रह निकै वर्षअघि प्रकाशित भइसकेको थियो । उनले आफ्नो भुवन थापा नामको पछाडि बहुबी टाइटल जोडेर लेख्ने गरेका छन् । थुप्रैपल्ट स्वदेश र विदेशमा मूर्तिकला कार्यशाला र अन्तर्राष्ट्रिय, राष्ट्रिय सिम्फोनिजममा सहभागी जनाइसकेका उनी थुप्रै विद्यार्थी प्रेरक शिक्षक पनि हुन् । उनी हालमा काठमाडौँ विश्वविद्यालयको आर्ट एण्ड डिजाइन विभागमा सहायक प्राध्यापकका रुपमा कार्यरत छन् । तीन दशकदेखि मूर्तिकलामा क्रियाशील भएका र उत्कृष्ट कला कार्य गरेकाले उनले स्वदेश र विदेशबाट थुप्रै पुरस्कार पनि पाएका छन् ।
यही अप्रिल २० मा लाजिम्पार्टस्थित तक्पा ग्यालरीमा उनका नयाँ कृतिहरूको प्रदर्शनीको उद्घाटन भएको हो । उनको नयाँ मूर्तिकलाहरूको प्रदर्शनी मे ५ सम्म रहने छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 










