नेपाली चलचित्रका जनक  डि.बी.परियारले सन् १९५१ मा पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ बनाएर नेपाली चलचित्रको इतिहास रचेका थिए । भारतीय मूलका परियार र भारतीय भूमिमा निर्मित ‘सत्य हरिश्चन्द्र’ लाई नेपाल सरकारले कहिल्यै मान्यता दिएको देखिँदैन । न त यसतर्फ चलचित्रकर्मीहरूले नै कुनै पहल गरेको देखिन्छ । नत्र भने नेपाली चलचित्रको उच्चत्तम पुरस्कार डिबी परियारको नाममा स्थापना गरेर प्रत्येक वर्ष नेपाली चलचित्रमा विशेष योगदान दिने चलचित्रकर्मीलाई दिँदैआउनु पर्ने हो । ‘सत्य हरिसचन्द्र’पछि लामो समयसम्म नेपाली भाषाको चलचित्र नबनेपछि तत्कालीन राजा महेन्द्रले भारतीय चलचित्रकर्मी हिरासिंह खत्रीलाई नेपालमा झिकाएर राजाकै पहलमा सूचना विभागको निर्माणमा सन् १९६४ मा ‘आमा’ चलचित्र निर्माण भएको थियो । त्यसपछि हिरासिंह खत्रीले लगातार ‘हिजो आज भोलि’ (१९६८) र ‘परिवर्तन’ (१९७२) को निर्देशन गरेर नेपाली चलचित्रलाई गतिशील बनाउने काम गर्नु भएको थियो । चलचित्र प्रेमीहरूको मनमस्तिष्कमा उहाँको नाम रहिरहनका लागि  हिरासिंह खत्रीको योगदानको सम्मानमा उनको नाममा कुनै पुरस्कार राखिनुपर्छ जस्तो लाग्छ । भानुभक्त आचार्य नेपाली भाषाका पहिलो कवि भएकाले भारत र नेपाल दुवैतिर उनको नाममा पुरस्कार स्थापना गरेर साहित्यकारहरू विभूषित हुँदै आएका छन् । भारतको राष्ट्रिय गीतका रचयिता राष्ट्रकवि रविन्द्रनाथ टैगोर हुन् भने बाङ्लादेशको राष्ट्रिय गीतका रचयिता पनि उनै भारतका राष्ट्रकवि रविन्द्रनाथ टैगोर नै हुन् । दुवै देशले टैगोरको योगदानको सम्मान गरेको छन् भने हामीले पनि परियारलाई उनले नेपाली चलचित्र क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै उनलाई नेपाली चलचित्रको जनम मानेर उनको नाममा पुरस्कार स्थापना गराएर उत्कृष्ठ सम्मान दिने प्रचलन शुरु गर्नु पर्छ ।

पुरस्कारको कुरा गर्नु पर्दा नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्न उनीहरूको कामको मूल्याङ्कन गरेर सम्मान गर्ने परम्पराको थालनी नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि मात्रै हुन थालेको देखिन्छ । त्यसबेला फाट्टफुट्ट एउटा समारोह भएको वर्षौंपछि अर्को पुरस्कार समारोह हुने भए तापनि यसले चलचित्र क्षेत्रका कलाकर्मीमाझ रौनक ल्याउने काम गर्दै आएको देखिन्छ । सन् १९७१ मा नेपाल चलचित्र विकास कम्पनीको नामबाट स्थापना भएपछि सन् २००० देखि नेपाल चलचित्र विकास बोर्डमा परिवर्तन भएपछि यसले सन् २००५ देखि मात्र ‘राष्ट्रिय चलचित्र पुरस्कार’को आयोजना गरेर निरन्तर रुपमा नेपाली चलचित्रकर्मीलाई प्रोत्साहित गर्दै आएको छ । नेपाल सरकारको मातहतमा रहेको बोर्डबाट मात्र निरन्तर रुपमा चलचित्र पुरस्कारको आयोजना हुँदै आएको देखिन्छ ।

 

हुन त नेपाली चलचित्रलाई प्रोत्साहित गर्न र कलाकर्मीको हौसला बढाउन अन्य संघसंस्थाले पनि चलचित्र पुरस्कारको आयोजना गर्दै आएका छन् ।‘चलचित्र कलाकार संघ’ (फान)ले राम्रा चलचित्र छनोट गरेर पुरस्कृत गर्ने काम शुरु गरेको थियो । तर निरन्तरता पाउन सकेको देखिँदैन । त्यस्तै ‘नेपाल चलचित्र प्राविधिक संघ’ (नेप्टा) ले पनि नेपाली चलचित्रलाई प्रोत्साहन गर्न पुरस्कारको आयोजना गर्दै आएको छ ।  अहिलेसम्म नेप्टाले नेपाल, दुबई, मलेसिया, हङ्कङ्ग, कतारमा चलचित्र पुरस्कार समारोहको आयोजना गरेको देखिन्छ । नेपालबाहिर पुरस्कार समारोहको आयोजना गराएर नेपालबाहिर नेपाली चलचित्रको व्यापार बढाउने काममा यस्ता कार्यक्रमको भूमिका सराहनीय रहेको छ । यसको एघारौं श्रृङ्खला अमेरिकाको टेक्ससमा आयोजना हुने बारे पत्रकार सम्मेलन भएको समाचार बाहिरिए पनि कार्यक्रम भएको जस्तो लाग्दैन ।

 

‘ग्लोबल नेपाल चलचित्र पुरस्कार’ (जिएनएफए) को नामबाट २०१६ मा स्थापना भएको जीएनएफएले पनि नेपाली चलचित्र बजारको प्रवर्द्धन गर्दै, नेपाली चलचित्र निर्माताहरूलाई सम्मान, पुरस्कृत र प्रोत्साहन गर्ने उद्देश्यसँगै नेपाली चलचित्र र संस्कृतिको अन्तर्राष्ट्रिय बजारमा विकास र प्रवर्द्धन गर्दै आएको छ । यही उद्देश्यका साथ जीएनएफले चलचित्र महोत्सवका माध्यमबाट नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने र विदेशमा बसोबास गर्ने नेपालीहरूसँग नेपालको सम्बन्ध प्रगाढ पार्दै लैजाने काम गर्दै आएको छ । जीएनएफएले २०१६, २०१७, २०१८ र २०२२ मा अमेरिकाको डेनभरमा कार्यक्रमको आयोजना गरेको थियो भने २०१९ मा सन्फ्रन्सेस्कोमा र २०२३ मा न्युयोर्क शहरमा आयोजना गरेको देखिन्छ । कोभिड महामारीका दुई वर्षबाहेक जिएनएफएले चलचित्र पुरस्कार समारोहको निरन्तर आयोजना गर्दै आएको छ । २०२४ को मेजमानी अमेरिकाबाहेक अन्य राष्ट्रमा आयोजना गर्न इच्छुक आयोजकको खोजीमा संस्था रहेको जानकारी भएको छ ।

 

अन्य राष्ट्रका बारेमा जानकारी नभए तापनि क्यानडामा भने अध्ययनरत विद्यार्थीहरूको समूहले २०१० देखि ‘टोरन्टो नेपाली चलचित्र महोत्सव’ (टिएनएफएफ) को आयोजना गर्दै आएको थियो । नेपाली चलचित्रलाई क्यानेडियाली दर्शकमाझ प्रवर्द्धन गराउने उद्देश्यका साथ शुरु भएको टिएनएफएफले २०१८ सम्म निरन्तर एउटा उत्सवका रुपमा सञ्चालन गर्दै आएको थियो । नेपालीहरूको साँस्कृतिक प्रतिभा पस्कने चौतारी जस्तो बनेको टिएनएफएफले २०१८ पछि भने निरन्तरता पाउन सकेत । यी दस वर्षको अवधिमा टिएनएफएफले विभिन्न विधाका डकुमेन्ट्रीबाट लिएर कथानक गरी ९४ वटा चलचित्र प्रदर्शन गरेको थियो ।

 

यसरी नेपाली चलचित्रलाई प्रोत्साहित गर्न एवम् नेपाली चलचित्रको मूल्याङ्कन गरेर उत्कृष्टताको छनोटका लागि यी विभिन्न चलचित्र पुरस्कारको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । दर्शकहरूको रोजाई र चलचित्र समीक्षकहरूको समीक्षत्मक टिप्पणीबाट जोगिएर चलचित्रले सफलताको ठप्पा पाउने गर्छ । यस्तै चलचित्रहरू विभिन्न पुरस्कारका लागि मनोनित हुने गर्दछन् । यसरी मूल्याङ्कनको कसीबाट खरिएर विश्वका विभिन्न राष्ट्रबाट चलचित्रको सर्वश्रेष्ठ पुरस्कारको प्रतिस्पर्धाको लाममा चलचित्र पुग्ने गर्दछ । चलचित्रको यही उत्कृष्ट पुरस्कारलाई ‘अस्कार’ को नामले चिनिन्छ ।

 

अकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले मई १६, १९२९ देखि अस्कर चलचित्र पुरस्कारको आयोजना गर्दै आएको छ । यसपटक आउदो मार्च १० का दिन साँझ ७ बजे ९६औं अस्कर पुरस्कार समारोहको आयोजना अमेरिकाको बेभर्ली हिल, क्यालिफोर्नियामा हुँदैछ । अंग्रेजी भाषाका चलचित्रहरूका बीच प्रतिस्पर्धा हुने चलचित्रको महाकुम्भमा विदेशी भाषाका चलचित्रका बीच पनि प्रतिस्पर्धा हुने गर्दछ । मोसन पिक्चर अकेडमीले सन् १९४७ देखि अमेरिका बाहिरका चलचित्रहरूलाई पनि स्थान दिन थालेको छ । त्यसबेला मूक चलचित्रको समय रहेकाले विदेशी भाषाका चलचित्र नभनेर अमेरिका बाहिरका चलचित्र भनिन्थ्यो । सन् १९५६ देखि विदेशी भाषाका चलचित्र भनेर विभिन्न देशका चलचित्र उद्योगहरूबाट निर्मित सर्वश्रेष्ठ विदेशी भाषा चलचित्रका लागि एकेडेमी अवार्डको व्यवस्था गरेर विभिन्न राष्ट्रबाट उत्कृष्ट चलचित्र मनोनयन गर्न आमन्त्रित  गर्दै आएको छ । यसरी प्राप्त भएका विदेशी भाषाका चलचित्रलाई पुरस्कार समितिले निरीक्षणको प्रक्रियाअनुसार प्राप्त सबै चलचित्रहरूको समीक्षा गर्दछ । त्यसपछि, गोप्य मतदानमार्फत पुरस्कारको लागि पाँच मनोनयनहरू निर्धारण गर्न मतदान गरिन्छ । ती पाँचवटै चलचित्रका कर्मीहरूलाई अकाडेमी पुरस्कार समारोहमा निम्त्याइन्छ । अनि ती पाँचमध्ये अमेरिकाबाहिर निर्माण भएको विदेशी भाषाको चलचित्रले उत्कृष्ट विदेशी भाषाको चलचित्रको पुरस्कार पाउने गर्छ ।

 

यसपटक नेपालको प्रतिनिधित्व विक्रम सापकोटाद्वारा निर्देशित ‘हल्कारा’ले प्रतिनिधित्व गर्दैछ । अस्करका लागि नेपालबाट विदेशी भाषाका चलचित्रको प्रतिनिधित्व पहिलोपटक एरिक भालीको ‘हिमालय’ (काराभान) ले गरेको थियो । फ्रान्सका एरिकले ७२औं अस्कार पुरस्कार समारोहमा नेपालको प्रतिनिधित्व गर्दे विदेशी भाषाको चलचित्रको श्रेणीमा नेपाललाई प्रवेश गराएका थिए । यही एकमात्र चलचित्र उत्कृष्ट पाँच चलचित्रको श्रेणीमा पुग्न सफल भएको थियो । सन् १९९९ देखि अस्करका लागि नेपाली भाषाका (विदेशी) चलचित्रको  प्रतिस्पर्धामा दर्तासम्म पुग्न सफल चलचित्रहरूमा सन् २००० मा छिरिङ रितार शेर्पाको ‘मुकुण्डो’, २००३ मा ज्ञानेन्द्रबहादुर देउजाको ‘मुनामदन’, २००६ मा सुवास गजुरेलको ‘बसाईँ’ , २०१३ मा सुवर्ण थापाको ‘सुनगाभा’ , २०१४ मा   यादवकुमार भट्टराईको ‘झोला’, २०१५ मा निश्चल बस्नेतको ‘टलकजंग भर्सेस टुल्के’, २०१६ मा मीनबहादुर भामको ‘कालो पोथी, २०१७ मा  दीपक रौनियारको   ‘सेतो सूर्य’, २०१८ मा   शिवम अधिकारीको  ‘पञ्चायत’, २०१९ मा विनोद पौडेलको   ‘बुलबुल’, २०२२  मा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ र २०२३ मा विक्रम सापकोटाको ‘हल्कारा’ रहेका छन् । यी सबै चलचित्र अस्करका लागि मनोनयन भए तापनि हिलालय अर्थात काराभानबाहेक कुनै पनि चलचित्र उत्कृष्ट पाँचसम्म पुग्न सफल भएका छैनन् ।

 

विश्वमै सबैभन्दा बढी चलचित्र बनाउने छिमेकी मुलुक भारतले अस्करमा विदेशी भाषाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने प्रतिस्पर्धा शुरु भएको एक वर्षपछि अर्थात सन् १९५७ देखि विदेशी भाषाको चलचित्रको प्रतिस्पर्धामा सहभागिता हुँदै आएको छ । तर पहिलोपटक १९५७ मा मेहबुब खानको निर्देशनमा नर्गिसको उत्कृष्ट अभिनय रहेको ‘मदर इण्डिया’पछि एकैचोटी १९८८ मा बेलायती भारतीय मूलकी निर्देशिका मीरा नायरको ‘सलाम बम्बे’ र त्यसपछि २००१ म आशुतोष गोवारीकरको निर्देशन र अमीर खानको अभिनय रहेको ‘लगान’पछि कुनै पनि चलचित्र पाँचौँ स्थानसम्म पुग्न सकेका छैनन् ।

 

सुवर्ण थापाद्वारा निर्देशक दिया मास्के र नीशा अधिकारीसँगै सौगात मल्लको अभिनय रहेको ‘सुनगाभा’ (डान्स अफ द अर्किट्स) लाई अस्कारमा पठाउँदा नेपाल जस्तो रुढीवादी समाजबाट आएको र त्यसबेला प्रतिस्पर्धामा रहेको शिरिषको फूल, साँगुरो, बधशाला आदि चलचित्रलाई पन्छ्याएर निर्णायक मण्डलीबाट सुनगाभालाई अस्करका लागि  पठाइएको थियो । यो चलचित्रप्रति धेरैको आश जागेको थियो । तर २०१३ मा अस्ट्रेलियन निर्देशक माइकल हानेकेको ‘अमोर’ चलचित्रले उत्कृष्ट विदेशी भाषाको चलचित्रको पुरस्कार पाएको थियो । हुन त विदेशी भाषाको चलचित्रको प्रतिस्पर्धामा आएर पनि दक्षिण कोरियाको ‘पारासाइट’ चलचित्रले अस्करमा अहिलेसम्मकै इतिहास रच्न सफल भएको थियो ।  सन् २०२०मा ‘पारासाइट’ ले उत्कृष्ट विदेशी भाषाको चलचित्रमा मनोनित भएर वर्षभरि कै उत्कृष्ट चलचित्र र निर्देशकको अस्कर हात पार्न सफल भएको थियो । यसरी विदेशी भाषाको अस्करका लागि विभिन्न राष्ट्रबाट प्रतिस्पर्धाका लागि चलचित्र मनोनित भएर पनि उत्कृष्ट पाँचमा पुग्न धेरै कम राष्ट्र सफल भएका छन् । यसमा विदेशी भाषाको चलचित्रमा सबैभन्दा बढी उत्कृष्ट पाँचमा पुग्न इटाली १४ पटक सफल भएको देखिन्छ ।

 

––– –––

टोरन्टो, क्यानडा