कुनै समय बलिउडमा रामगोपाल वर्माको निकै बोलवाला थियो । त्यो बोलवालाका बेला उनका सहायकका रूपमा काम गर्थे, श्रीराम राघवन । उनलाई थ्रिलर सिनेमाको खुब चासो थियो । जब उनले बलिउडमा फिल्म निर्देशनको मौका पाए, उनले बनाएका थिए, एक हसिना थी ।

गाउँबाट शहरमा आएर संघर्ष गरिरहेकी र सानो ट्राभल एजेन्सीमा काम गरिरहेकी एउटी युवती सारिका (उर्मिला मातोन्डकर) मा मख्ख परेको एउटा केटो (करण राठोर)बीच दोस्ती बढ्छ । एक दिन अचानक ऊ अन्डरवर्ल्डको खिचातानीमा पर्छ । आफू बच्नका लागि सारिकालाई उपयोग गर्छ । यी सारा कुराबाट बेखबर सारिका करण आउला र बचाउला भनेर बस्छे तर ऊ जेल जानुपर्ने अवस्था आउँछ ।

आज भोलि भन्दाभन्दै जेलमै जीवन गुज्रने देखेपछि ऊ जेलबाट भाग्छे र बदला लिन्छे ।

कथा यत्ति मात्र हो तर यसको पटकथा निकै कसिलो भएकाले यसले सिनेमामा दर्शकलाई बाँधिरहन्छ ।

श्रीराम राघवनको यो पहिलो सिनेमा भए पनि उनले आफूलाई कसिलो गरी प्रस्तुत गरेका छन् । यसमा आम बलिउडजस्तो नायक‑नायिकाको फुर्ति छैन । न त गीत गाएर दर्शकलाई उच्चाट लगाउँछन् । कथै मात्र अघि बढ्छ र बढिरहन्छ ।

यो फिल्म सन् २००३ जुलाई ११ मा रिलिज भएको थियो । त्यो बेला शुरूवाती चर्चा राम्रै पाए पनि फिल्मले बक्सअफिसमा त्यति राम्रो कमाल देखाउन सकेन । तर यसको कसिलो पटकथाका कारण अहिले पनि यसको चर्चा गरिन्छ र राम्रा थ्रिलर बलिउड फिल्मको सूचीमा यसलाई राख्ने गरिन्छ ।

श्रीराम राघवनले निर्देशन गरेको पछिल्लो फिल्म मेरी क्रिसमस यतिबेला नेपालका सिनेमा घरहरूमा प्रदर्शन भइरहेका बेला यी निर्देशकको पहिलो काम हेर्नु पक्कै पनि रोचक हुनेछ ।

आउनोस्, आज हामी थ्रिलर फिल्म अवलोकन गरौँः

https://www.youtube.com/watch?v=GTeXPLcr7bw