इटालीका संस्कृतिमन्त्री एउटा गम्भीर आरोपको सामना गरिरहेका छन् । उनले सत्रौँ शताब्दीताका बनाइएको एउटा चित्रकला चोरीको आरोप झेलिरहेका छन् । उनले हात पारेको पेन्टिङलाई ठ्याक्कै नचिनियोस् भनेर तोडमरोड गरेको समेत आरोप लागेको छ ।

सांस्कृतिक धरोहर सहायक मन्त्री भिटोरियो स्गार्बीले द क्याप्चर अफ सेन्ट पिटर शीर्षकको पेन्टिङमाथि गडबड गरेको बताइएको छ । यो पेन्टिङ रूटिलियो मेनेटीले बनाएका हुन् ।

सन् २०१३ मा यो पेन्टिङ इटालीको उत्तरी क्षेत्र पिडमन्टबाट हराएको थियो । तैलचित्रमा बनाइएको यो पेन्टिङ सन् १६३८ मा बनाइएको थियो । जहाँबाट चोरिएको हो, त्यहाँ फोटोकपी टाँस गरिएको पाइएको थियो ।

जब चित्र हराएको चाल पाए, इन्टरपोलले व्यापक रूपमा यसको खोजी थालेको थियो । पछि राज्यमन्त्रीकै घरमा यो पेन्टिङ फेला परेको थियो । ठ्याक्कै यही पेन्टिङ हो भनेर पत्ता नपाऊन् भनी पेन्टिङको देब्रेतर्फ बलिरहेको टर्च थपिएको बताइएको छ ।

मन्त्री स्वयं चित्रकलाका प्रख्यात समीक्षक हुन् । उनीसँग दुर्लभ चित्रकलाहरू निजी संकलनमा रहेका छन् ।

यस घटनाको खुलासासँगै विपक्षी पार्टीले संस्कृति राज्य मन्त्रीको राजिनामा माग्न थालेका छन् भने संस्कृति नास्न उद्यत व्यक्तिलाई नै संस्कृति मन्त्रालय जिम्मा दिन नहुने भन्दै संसद्मा आवाज समेत उठेको छ । साथै, यसको छानविनका लागि सरकार गम्भीर हुनुपर्ने विपक्षी दल फाइभ स्टार मुभमेन्टका नेता तथा पूर्वप्रधानमन्त्री गिउसपे कोन्टेले बताएका छन् ।

सांस्कृतिक धरोहर सहायक मन्त्री भिटोरियो स्गार्बी

यता आरोपी राज्यमन्त्रीले भने आफूले कुनै गलत कार्य नगरेको, पेन्टिङ आफ्नो निजी संकलनको रहेको, आफ्नो संरक्षणमा आएको यस पेन्टिङलाई पछि २०२१ मा प्रदर्शनीमा राखेको समेत बताएका छन् ।

यो पेन्टिङको हालको मूल्य २ लाख ६० हजार पाउन्ड रहेको बताइएको छ । चित्रकलामा आफूले कुनै छेडखानी नगरेको र यो पेन्टिङका दुई वटा प्रति भएको दाबी एउटा टेलिभिजन कार्यक्रममा गरेका छन् । उनले आफूमाथि अनुसन्धान गर्न खुला छुट रहेको तर पदबाट राजिनामा दिने कुनै मनशाय नरहेको जिकीर गरेका छन् ।

‘जे चिज मैले चोरेकै हैन, त्यसमा मैले किन राजिनामा दिनु ?’ उनले भनेका छन्, ‘११ वर्षअघि कसैले चोरेको चित्रकलाका लागि मलाई दोषी ठहर्याउनु कहाँसम्मको जायज कुरा हो ? पहिल्यैदेखि धेरैलाई थाहा भएकै कुरा हो कि यो पेन्टिङका दुई प्रति छन्, एउटा मसँग छ ।’

बुरियास्को दरबारबाट २०१३ मा गायब भएको पेन्टिङ सन् १९ औँ शताब्दीमा कसैले बनाएको नक्कल भएको तर आफूसँग भएको मूल र सक्कली रहेकोसमेत उनले दाबी गरेका छन् ।

प्रायः कलाकारहरूले सुन्दर कलाकृतिको नक्कल बनाइरहने भएकाले विभिन्न संस्करणका चित्रहरू बजारमा देखा परिरहने उनले बताएका छन् ।

उता केही विज्ञहरूले भने संस्कृति राज्यमन्त्रीसँग चोरीकै पेन्टिङ भएको दाबी गरेका छन् ।

सहायक मन्त्री स्गार्बीले भने आफूलाई कुनै सरकारी संस्थानले अनुसन्धानका लागि पत्र नकाटेको बताएका छन् ।