मलेसियामा हालै सार्वजनिक प्रदर्शनका लागि अस्वीकार गरिएको फिल्म ‘पेन्दाताङ’लाई यसका निर्देशकले सामाजिक सञ्जाल, युट्युब तथा अन्यत्र रिलिज गरेका छन् ।
यो फिल्मको विशेषता के छ भने, यसलाई क्राउड फन्डिङ गरी बनाइएको हो । एनजी केन किनले निर्देशन गरेको र कुमान पिक्चर्सले निर्माण गरेको यो फिल्म पूरै क्यान्टोनिज भाषामा बनाइएको छ ।
निकै कम बजेटमा यो फिल्म बनाइएको छ । यसको बजेट लगभग चार लाख मात्र रहेको छ । क्राउड फन्डिङका लागि तीन लाख मात्र चाहिने र बाँकी आफैँले व्यवस्था गर्ने भनिए पनि चार लाख उठेको थियो । र, जब बजारले नै लगानी गरिदिएपछि यसका निर्देशकले फिल्मलाई सबैले हेर्न मिलोस् भनी युट्युबबाट रिलिज गरेका थिए ।
फिल्म सेन्सरसिप बोर्ड अफ मलेसिया (एलपिएफ)ले यो फिल्म पास नगर्ने देखेपछि पनि सिनेमा हलमा लगाउनेबारे नसोचिएको निर्देशकको दाबी छ । त्यसैले यसलाई सेन्सरबोर्डमा लैजाने दुःख पनि निर्देशकले गरेनन् ।
प्रायः मलेसियाली फिल्म सेन्सर बोर्ड संवेदनशील मुद्दामा गम्भीर हुने गर्छ । जसका कारण दृश्य, संवादहरू काटकुट गरी देखाउने अनुमति दिने गर्छ । यस्तोमा यो फिल्म पनि काटकुट गरेर हलमा लागोस् भन्ने निर्देशकले चाहेनन् ।
फिल्मका निर्देशक आमिरले यसअघि द बिग डुरियन (२००३), द लास्ट कम्युनिस्ट (२००६) जस्ता फिल्म निर्देशन गरेका छन् ।
यो फिल्ममा एउटा यस्तो अवस्थाको कल्पना गरिएको छ, जहाँ मलेसियामा सैनिक शासन छ । कडा कानुन लागु भएको छ । जसका कारण, चिनियाँ मूलको एउटा परिवारलाई एउटा गाउँमा स्थानान्तर गरिएको छ ।
यो ठाउँमा कोही पनि नयाँ मान्छे देखिए सेनालाई खबर गर्नुपर्छ । गरिएन भने सेनाले कडा कार्बाही गर्नेछ । यस्तैमा एउटी बालिका फेला पर्छे तर यसका बारेमा सेनालाई खबर गरे, यो निर्दोष बालिका मारिने डरले कसैले पनि खबर गर्दैन ।
यसपछि उत्पन्न परिवेश, मानवता र ज्यान जोगाउने प्रयासका अनेक आयाममाथि यो फिल्म बनेको छ ।
आजको सटर्डे सिनेमामा यही सुन्दर फिल्म हेर्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।