
द साइनिङ र द एक्जोर्सिस्टजस्ता डरलाग्दा ‘हरर फिल्म’ले तपाईंको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्ने विज्ञहरुको निष्कर्ष छ ।
मनोविज्ञहरुको एउटा समूहले गरेको अध्ययनमा तनाव र पीडा कम गर्न यस्ता फिल्मले सघाउने देखिएको हो । यस्ता फिल्म हेर्दा हाम्रो मस्तिष्कले निकाल्ने इन्डोर्फिन र डोपामाइनजस्ता तत्वले पीडामा हुनेहरुको पीडा कम गर्न भूमिका खेल्ने देखिएको हो । इन्डोर्फिन र डोपामाइनलाई इनाम हर्मोन भनिन्छ । अचानकको पाइने पुरस्कार वा इनामले मस्तिष्कमा इन्डोर्फिन र डोपामाइन निस्कन्छ, जसले मानिसलाई खुसी बनाउँछ, पीडा बिर्साउँछ ।
बेलायतको एडिनबर्गमा रहेको क्विन मार्गेट युनिभर्सिटीमा न्युरोसाइकोलजीकी प्राध्यापक डा. क्रिस्टिन नोल्सले डरलाग्दा फिल्महरु हेदा हाम्रो मसितष्कले निकाल्ने विभिन्न रसायनका कारण यस्तो हुनु स्वाभाविक नै भएको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो मस्तिष्कले खतरा आँकलनका लागि विभिन्न मापनयन्त्र बनाएको हुन्छ । खतरनाक दृश्य देखिएका बेला सारा ध्यान तिनमा केन्द्रित हुँदा मस्तिष्कले पीडा सम्झाउने भन्दा अन्यत्रमा ध्यान केन्द्रित गर्ने हुँदा कम पीडा हुने वा पीडा नभएको अवस्थामा पुगिनु स्वाभाविक हो ।’
इन्डोर्फिन तत्वले शारीरिक कसरत वा खाना खाँदा जुन आनन्द आउँछ, त्यही आनन्द दिने गर्छ । अग्लो ठाउँबाट हाम्फाल्दा लाग्ने डरजस्तै हरर फिल्म हेर्दा पनि यही तत्व मस्तिष्कले निकाल्ने गर्छ । यसले मानिसलाई बाँच्न बाटो खोजाउँछ ।
युनिभर्सिटी अफ वेस्टमिनिस्टरले सन् २०१२ मा गरेको एउटा अध्ययनसँग पनि यो मेल खान्छ । त्यो बेला पीडामा भएका मानिसहरुलाई ९० मिनेटको डरलाग्दो हरर फिल्म देखाइयो । फिल्म नहेर्ने अर्को समूहलाई भने छोटो हिँडडुलका लागि निकालियो । यसो गर्दा फिल्म हेर्ने र हिँडडुल गर्नेहरुबीच बराबरी नै क्यालोरी खर्च भएको पाइयो ।
मान्छेमा जुन बेला डर उत्पन्न हुन्छ, त्यो बेला मुटुको धडकन तीव्र हुन्छ र उसको ध्यान ज्यादै केन्द्रित हुन पुग्छ । आकासबाट हाम्फाल्दा पनि यस्तै किसिमको रसायन मस्तिष्कमा उत्पन्न हुने विज्ञहरुको धारणा छ ।
सन् २०२१ मा गरिएको एउटा अध्ययनमा पनि के पाइएको थियो भने जसले जोम्बी फिल्म (एक किसिमको मान्छेको रगत खाने भाइरसबाट पीडित मुर्दाहरुको फिल्म) हेर्ने दर्शकहरु भाइरसप्रति बढी सचेत हुने एउटा अध्ययनमा देखिएको थियो । हरर फिल्म हेर्नेहरु महामारीलाई गम्भीरतापूर्वक लिने पनि अध्ययनमा देखिएको थियो ।
उसो भए त्यस्ता डरलाग्दा फिल्महरु के के हुन् त ? बेलायतबाट प्रकाशित हुने द डेली टेलिग्राफ पत्रिकाले त्यस्ता फिल्मको सूचीसमेत दिएको छ । जसमध्ये साह्रै डरलाग्दा फिल्महरुमा द साइन (१९८०) पहिलो नम्बरमा छ । यो फिल्म हेर्दा हरेक पटक १८४ क्यालोरी खर्च हुने बताइएको छ । यस्तै द टेक्सस चेन्स म्यासाक्र (१९७४) हेर्दा १०७ क्यालोरी खर्च हुने गरेको छ । त्यस्तै सन् १९७३ मा निर्माण भएको फिल्म द एक्जोर्सिस्ट हेर्दा १५८ क्यालोरी खर्च हुने गर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

