
कला पारखीहरूमाझ अमेरिकी आदिवासीहरूका कला निकै लोकप्रिय छ । यही लोकप्रियता भजाउन केही ठगहरू भने निकै सक्रिय हुने गर्छन् ।
पछिल्लो समय लेविस एन्थोनी राथले आदिवासी अमेरिकी (नेटिभ अमेरिकन) हरूको कला भन्दै नक्कली कला बेचेको पत्ता लागेपछि प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।
वासिङ्टन राज्यमा बसोबास गर्ने ५४ वर्षे चित्रकार लेविसलाई जेल नै चलान त गरिएन तर अदालतले २४ महिनाको प्रोबेसनमा राखेको छ । साथै उनले २०० घण्टा कम्युनिटी सर्भिससमेत गर्नुपर्ने बताएको छ ।
नेटिभ अमेरिकन नभए पनि आफूलाई त्यसको ज्ञाता भनाउँदै विभिन्न नक्कली कलाहरू बनाउँदै बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपछि अदालतले उनलाई आदिवासीको पहिरन लगाउने, आदिवासी अमेरिकीहरूबारे अध्ययन गर्ने लगायतका सजायसमेत तोकेको छ ।
सन् २०२३ मार्चमा लेविसलाई प्रहरीले पक्राउ गरेको थियो । आदिवासी चित्रकला, कला र अन्य पक्षका बारेमा जानकारी नभए पनि उनले नक्कली आदिवासी सामग्री बनाउँदै बेचेको आरोपमा पक्राउ गरिएको थियो । उनले इन्डियन आर्ट्स एन्ड क्राफ्ट्स एक्ट उल्लंघन गरेको समेत बताइएको छ । जानकारी र ज्ञान बिना नै आदिवासीहरूको कला तथा संस्कृतिलाई गलत तरिकाले प्रस्तुत गरेको र त्यसबाट आर्थिक उपार्जनसमेत गरेको आरोप लगाइएको थियो ।
त्यसो त उनलाई जुलाई२०१८ देखि नै इन्डियन आर्ट्स एन्ड क्राफ्ट्स बोर्डले प्राप्त गरेका गुनासालाई लिएर अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा अमेरिकी तालु चिल (बाल्ड इगल)का प्वाँखहरू घरमा फेला पारिएको थियो । यो चिल दुर्लभ मानिने हुनाले त्यसका कुनै पनि वस्तु घरमा राख्नु वा बेच्नु प्रतिबन्धित छ ।
त्यसो त नेटिभ अमेरिकन आर्टको उच्च मागका कारण पछिल्लो समय नक्कली माल बनाएर बेच्ने गिरोह सक्रिय रहँदै आएको छ । पछिल्लो समय यस्ता नक्कली कलामा माहिर केही ठूला नाउँहरू समेत चर्चामा आएका थिए । जसमध्ये निकै चर्चित अनुारहरू क्रिस्टोबल म्याग्नो रोड्रिगो, जेरी क्रिस भान डाइकजस्ता कलाकारहरूलाई नक्कली नेटिभ अमेरिकन चित्र तथा कला बनाएको अभियोगमा पक्राउ गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

