बुधबारदेखि हलिउडका लेखकहरू काममा फर्किएका छन् । पाँच महिने हडतालमा उनीहरूले कामको सुरक्षा, तलब वृद्धि तथा स्ट्रिमिङ सेवा (नेटफ्लिक्स, डिज्नेप्लसजस्ता नयाँ अनलाइन भिडियो सेवा)मा नाफा कमाए लेखकले पनि नाफाको प्रतिशत पाउने निश्चय हुने भएपछि उनीहरू काममा फर्किएका हुन् ।

हलिउडका लेखकहरूको संगठन छ । यो संगठन कति सशक्त छ भन्ने कुरा आन्दोलनको अवधिमा पनि देखिएको छ । बेरोजगार लेखकलाई यो संगठनले ढाढस मात्र दिएन, कतिपयलाई राहत समेत उपलब्ध गरायो । तर धेरैले यो उपलब्धि साँच्चिकै फाइदामा बदल्न सकिन्छ कि सकिन्न भन्नेमा शङ्का व्यक्त गरिरहेका छन् ।

द राइटर्स गिल्ड अफ अमेरिकाले मंगलबार लगभग सहमति जनाएको बताएको छ । यो सहमति आउँदो तीन वर्षलाई हुने र यसबाट ठूला फिल्म स्टुडियोहरूले २३३ मिलियन डलर वार्षिक रूपमा लेखकहरूलाई उपलब्ध गराउने बताइएको छ ।

त्यसो त लेखकहरूको अपेक्षा ४२९ मिलियन डलरको थियो तर सो अपेक्षा पूरा हुन सकेन ।

अझै पनि यो सम्झौता लागू गर्ने कि नगर्ने भन्नेबारे लेखक संघले सामूहिक मतदानको प्रक्रियाबाट स्वीकृति जनाउनुपर्ने छ । तर बुधबारबाट भने यो आन्दोलन समाप्त भइसकेकाले लेखकहरू काममा फर्कने भएका छन् ।

यो सहमतिसँगै अब लेखकले टेलिभिजनबाहेक पनि स्ट्रिमिङ सेवामा कसरी शोहरू बेचिनेछ, त्यसको हिसाब किताब पनि हेर्न पाउने छन् भने त्यसको फाइदामा पनि भाग पाउने छन् । यस्तै नेटफ्लिक्सले समेत युनियनले चाहेको खण्डमा दर्शकहरूले कति घण्टा हेरे भन्ने डाटा हेर्न पाउने छन् । यसअघि नेटफ्लिक्सले कुनै पनि तथ्याङ्क अरूलाई उपलब्ध गराउँदैनथ्यो ।

संगठनमा आबद्ध लेखकहरूले घरेलु दर्शकमध्ये २० प्रतिशतले पहिलो तीन महिनामा जति सो वा फिल्म हेर्छन्, उनीहरूले थप ५० प्रतिशत बोनस पाउने छन् ।

स्टुडियो र स्ट्रिमरहरूले कम लेखक नियुक्त गर्ने भएका छन् । यसको अर्थ, ६ भागको टेलिशृंखला बनाउन तीन जना लेखक बढीमा नियुक्त गर्न पाइनेछ । जति भाग बढ्दै जान्छ, लेखकको संख्या पनि बढ्दै जान सक्ने सम्झौतामा उल्लेख छ ।

विदेशमा प्रदर्शन भएका टेलिफिल्मको हकमा भने नयाँ सम्झौताले अझ बढी राहत दिएको छ । यसमा ७६ प्रतिशतले रोयल्टी वृद्धि भएको छ । यसको अर्थ, पहिला लेखकले अन्तर्राष्ट्रिय दर्शकले हेरेका नेटफ्लिक्स सोमा १८,६८४ डलर प्रति घण्टाको एपिसोडमा पाउँथे भने अब ३२,८३० डलर पाउने छन् ।

लेखनका क्रममा स्टुडियोले के कति एआईको प्रयोग भयो भन्ने पारदर्शी रूपमा देखाइने भएको छ भने लेखकका सिर्जनालाई कम आँक्न नपाइनेसमेत उल्लेख छ । कुनै सिर्जना एआई सिर्जित हो भने यो यो कुरा एआईले लेखेको हो भनी पहिल्यै स्टुडियोले बताइदिनु पर्ने समेत सम्झौतामा उल्लेख छ ।

पछिल्लो समय नेटफ्लिक्स, डिज्ने, वार्नर ब्रदर्स डिस्कोभरी र प्यारामाउन्ट ग्लोबल जस्ता स्टुडियो तथा कम्पनीले ठूलो मात्रामा लेखकहरूको पारिश्रमिक घटाउने घोषणा गरेका थिए । स्ट्रिमिङ सर्भिसहरूले वर्षौंदेखि नाफा नदिएको तर लगानी मात्र बढाइरहेको सन्दर्भमा नाफा बढाउनका लागि खर्च कटौतीको योजनाहरू बुनिरहेका थिए ।

वाल स्ट्रिट जर्नल पत्रिकाका अनुसार, यो सम्झौताले अबका दिनमा केही सीमित प्रख्यात लेखकहरूलाई मात्र फाइदा दिलाउने छ । अब बढीभन्दा बढी स्ट्रिमिङ सेवाले सोहरू कम भन्दा कम दोहोर्याउने छन् । पहिलो भागको सफल स्ट्रिमिङ भए पनि दोस्रो वा तेस्रो सिजन फर्किने कुरा निकै दुर्लभ हुने समीक्षकहरूको राय छ ।