मोहनप्रकाश

भर्खरै धान काटेको खेतको गह्रामा कचहरी नाटक सिध्याएर जाजरकोटको मोर्कबजार छोड्न लाग्दा स्थानीयवासीहरू मिलेर हाम्रो बिदाइमा जुटेका छन् । वडाअध्यक्ष मानबहादुर पुन हामीलाई अबिरको टीका लगाइदिंदै हात–हातमा फूलका थुङ्गा राखिदिन्छन् । हामी सम्मान पाएर गद्गद् हुँदै बस चढ्छौं । स्थानीयको आत्मियता हृदयभरि साँचेर नाटक मञ्चनका लागि पुनः जाजरकोटकै ऐरेलीतर्फ अगि बढ्छौं । बाटोमा ४/५ घरहरू भएको एउटा सानो बस्ती भेटिन्छ । गाउँलेहरू आ–आफ्नो कर्ममा जुटेका देखिन्छन् । कोही धान छाँट्न व्यस्त छन्, कोही पराल ओसार्न । तल खोला बगेको छ । बारीमा हरियै सागसब्जी देखिन्छन् । गाईबाख्राहरू बगरमा रमाउँदै छन् ।

“मेरो ११ वर्षमा पहिलो बिहा भएको । त्यो बिहा टुटेर फेरि १८ वर्षमा दोस्रो बिहा गर्नुपर्यो । धेरै दुःख खेप्नु पर्यो । सुखमा त धेरै आउँछन् । दुःख पर्दा कोही आउँदैनन्, तर्किएर भाग्छन् ।” जाजरकोटको ऐरेलीमा नाटकपछि कस्तुरा थापाले व्यक्त गरेका अभिव्यक्ति हुन् यी । हाम्रो नाटकमा कल्पनाको भूमिकामा उनले आएर अभिनय पनि गरिन् । नाटकका ससुरा मनबहादुरलाई उनले एकपछि अर्को प्रश्नहरू गरिन्, “म घरबाट किन निस्किने ? मेरो के गल्ती छ ? मेरो माइतबाट फोन आएको हुन सक्छ । जो पायो त्योसँग फोनमा कुरा गरी भनेर मलाई शंका मात्र गर्ने ? तपाईंको छोराले विदेशबाट शंका गरेर फोन गर्यो भनेर हुन्छ ? यो मेरो पनि घर हो । म निस्किन्नँ ।”

कस्तुराका प्रश्नहरू सुनेर नाटकका ससुरा मनबहादुर खिस्रिक्क परे । दर्शकहरूले थप्पडी बजाए । कानुन व्यवसायी इमान सुनारले महिला हिंसा, बालविवाह र जुवातास खेल्दा हुने कानुनी सजाय र जरिवानाका बारेमा स्पष्ट पारे । प्रहरी नायब उपरीक्षक बिबी सुनारले गाउँघरमा यस्तो कार्य गर्नेलाई नछोड्ने प्रतिबद्धता जाहेर गरे । हामीले हाम्रो नाटकले स्थानीयहरूमा प्रभाव पारेको महसूस गर्यौं । र, नाटक समापनसँगै लाग्यौं हामी जाजरकोटको खलंगा बजारतर्फ ।

खलंगाा बजारमा पनि नाटकले सोचेभन्दा राम्रै छाप छोडेको अनुभूत गर्यौं हामीले । त्यसपछिको प्रस्तुतिका लागि बसमा जाजरकोटकै उत्तरी भेग रिम्ना पुग्दा करिब दिउँसोको २ बजेको थियो । रिम्नामा तिहारको मेला भर्नेहरूको घुइँचो थियो । भेरी नदीपारि पश्चिम रुकुम पर्थ्यो । वारिपट्टिको रिम्ना बजार जाजरकोटमा पर्थ्यो । नाटक समापनसँगै हामी पश्चिम रुकुम टेक्न दौडँदै झोलुङ्गे पुलतर्फ लाग्यौं । र, पश्चिम रुकुम टेकेर पक्की पुलबाट पुनः जाजरकोट छिर्यौं । भेरी नदीसँगै उत्तरतर्फ देखिने हिमालका दृश्यले सबैलाई लोभ्यायो । जति–जति उत्तरतर्फ लाग्यो, झन्–झन् सुन्दरता थपिएझैं लाग्थ्यो ।

प्राकृतिक दृश्यपानपछि जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक श्यामबहादुर खत्री सहितको प्रहरी टोलीसँगै बसेर सबैले रिम्नाको चिया पियौं । प्रनाउ श्यामबहादुर खत्री हामीसँगै हाम्रो बसमा नाटकमा सहभागी हुन रिम्ना आएका थिए । र, पुनः हामीसँगै खलंगा फर्कियौं ।

भोलिपल्ट बिहान हामी बर्दियातर्फ लाग्दै थियौं । डाँडाको टुप्पोमा अवस्थित खलंगा बजारबाट तल क्षितिजसम्म बादलले ढाकेको थियो । यो दृश्य यात्राको अर्को अविस्मरणीय तस्बिर बनेर छातिमा टाँसिइरह्यो । बिहान छेडा बजारमा पुगेर चिया, खाजा खाँदा घडीले ९ बजाएको थियो । दिउँसो सुर्खेतको मेहलकुनामा खाना खाने अवसर मिल्यो । खानापछि हामी बर्दियातर्फ लाग्यौं । हाम्रो बसको एक हप्ताको ‘रुट पर्मिट’ म्याद सिद्धिएको थियो । नेपालगञ्जमा झरेर ‘रुट पर्मिट’ लिंदा घडीले ४ बजाएको थियो । हाम्रो यात्राकी सहयात्री बालिका चौधरीले नेपालगञ्जमै थारु खाजा सेट फोनबाटै अर्डर गरिसकेकी थिइन् । सिद्रामाछाको अचारसहित स्थानीय थारु परिकार ‘ढिक्री’ थपी-थपी खायौं हामीले । उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै हाम्रो नाटकका ससुरा बा अर्थात मानहाङ लावतीले मोबाइलमा खिचेर भिडियो तयार गरे । एकछिन राम्रै ठट्टा चल्यो । हामीले उक्त भिडियोमा अभिनय गर्दैगर्दा बाँकी साथीहरू पेट मिचिमिची हाँस्दै थिए । होटलकी बहिनी लजाउँदै मुस्कुराउँदै थिइन् ।

एकैछिनको ठट्टाले पनि शरीरलाई हलुको बनाएको महसूस गर्दै पुनः हामी लाग्यौं गुलरियातर्फ । गुलरिया पुग्दा झमक्क रात परेको थियो । भोलिपल्टको नाट्य प्रस्तुतिमा वडाध्यक्ष गीता बस्नेतले नाटकको बहसमा उपस्थित सबैलाई चित्तबुझ्दो जवाफ दिइन् । नाटकमा आफैं अभिनय गर्दै मनबहादुरलाई ठेगान लगाइन् । हैकमवादी स्वभावका मनबहादुर पहिलोचोटि अक्क न बक्क परे । दर्शकले खुशीले ताली पिटे ।

खाना खाने बेलामा यहाँ एउटा समस्या झेल्नुपर्यो । मैले हामी बसेकै होटलमा बिहान ११ बजेका लागि हाम्रो टोलीलाई खाना अर्डर गरेर आएको थिएँ ।
बालिकाजीले पनि अर्को होटलमा खानाको अर्डर गर्नु भएछ । कामको व्यस्तताले एकअर्कालाई सोध्न पनि भुलिएछ । समस्याको समाधान खोज्नै पर्यो । हामीले समूहबाट आधा–आधा दुईतिर बाँडिएर जाने निर्णय गर्यौं । त्यसमा फेरि अर्को समस्या आई पर्यो । ३ जना कलाकारले फोनमा भनेको कुरा नबुझेर त्यही होटलमा खाना खान सुरु गरिसकेछन् । उताको होटलमा १९ जनालाई खानाको अर्डर गरेकोमा जम्मा ६ जना मात्र पुगियो । होटल साहूलाई सम्झाउन खोजियो तर उनी त सुरुमै जङ्गिदै बोले, “तिम्मेरलाई म खानै सर्भ गर्दिनँ ।”

उनी जङ्गीनु पनि स्वभाविक थियो । पुनः बालिकाजी डराउँदै गएर गल्ती भएको स्वीकार्दै बाँकी सबै खानाको पैसा तिर्ने सर्तमा ६ जनालाई खाना ‘सर्भ’ गर्न अनुरोध गरिन् । एकैछिन अगि बम जस्तै पड्केका होटल मालिक त्यसपछि मृदु मुस्कानका साथ हामीसँग कुरा गर्न थाले । खानापछि सबैको पैसा तिरेर उनीसँग पुनः माफी माग्दै त्यहाँबाट अलप भयौं ।

गुलरियाबाट करिब दिउँसोको १ बजेतिर हामी महेन्द्रनगरतर्फ हान्नियौं । बालिकाजीले २ दिनका लागि राणा थारु होमस्टेमा बासस्थान पक्का गरिसकेकी थिइन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षणको ठीक पछाडि रहेछ हाम्रो होमस्टे स्थल । सामुदायिक भवनमा राखेर होमस्टेका अध्यक्षले होमस्टेको बारेमा जानकारी दिए । र, संख्या विभाजन गरे । एउटा घरमा ४ जनासम्म बस्ने व्यवस्था रहेछ । त्यस मध्येमा हाम्रो ४ जनाको समूहले होमस्टे पुगेपछि आफूलाई भाग्यमानी ठान्यौं । यो होमस्टेमा पहिलो पाइला हाम्रै रहेछ । हामीले नै त्यहाँको पहिलो पाहुना बन्ने सौभाग्य पायौं । हाम्रो समूहमा मसहित नाटक निर्देशक घिमिरे युवराज, म्युजिक कम्पोजर शेख अमजद प्रवेज र फोटोग्राफर जीवन आले थियौं, मेरो भूमिका व्यवस्थापक र फिल्ड रिपोर्टरको थियो ।

मेरालागि होमस्टेको पहिलो अनुभव थियो यो । व्यावसायिक होटलमा बस्दा–बस्दा दिक्क बनेका हामीलाई यो स्थान टेक्दैमा अर्ग्यानिक लाग्यो । होमस्टे संचालक श्याम राणा, भाउजू, बुहारी र सानो बाबूले हामीलाई घर बिर्साइदिए । उनीहरूको निश्चल व्यवहार र इमान्दारिताको प्रभावले होला आफ्नो मनभित्र बढ्दै गरेको कुटिलता र ढोंग निखारिंदै गएको महसूस गरें मैले ।

भोलिपल्ट बिहानको नाट्य प्रस्तुतिका लागि हामी पुग्यौं महेन्द्रनगरको दक्षिणी भागमा अवस्थित सालघारीको सुकुम्बासी बस्ती । यता सालघारीमा हाम्रो नाटकमा ‘कल्पना’ र ‘उर्मिला’ न्यायका निम्ति चिच्याउँदै थिए । त्यहींबाट केही दूरीमा रहेको उखुबारीमा सायद निर्मला पन्तको आत्मा न्यायको लागि भौतारिंदै थियो होला । नाटकको अभिनयमा आएकी निर्मला भट्टले पनि यही घटनाको सेरोफेरोमा आफ्ना संवाद नाटकमा पोखिन् । उनी बोल्दा हात खुट्टा लग्लग कामिरहेका थिए । सायद आज पनि सार्वजनिक रूपमा बोल्दा निर्मलाहरू आफूलाई सुरक्षित ठान्दैनन् । महिलाभित्र लुकेका हिंसाका डर भगाउने अभियानमा छ हाम्रो नाट्य यात्रा । हामी कुदिरहेकै छौं । अर्को प्रस्तुतिका लागि पुग्यौं महेन्द्रनगरको उत्तरी भेग हल्दुखाल । महाकाली जनसेवा माविको प्राङ्गणमा हल्दुखालबासी जम्मा भैसकेका छन् । नाटककी कल्पनालाई सहयोग गर्न मञ्चमा आइपुगिन्, सीता बोहोरा । प्रत्येक कार्यक्रममा नाटकमा सक्रिय रूपमा भाग लिन दिदी बहिनीहरू आइरहेकै छन् । बोलिरहेकै छन् । दाजुभाइले उनीहरूलाई समर्थन र साथ दिइरहेकै देखिन्छन् । तर, यथार्थ जीवनमा महिलामाथि हिंसा घटेका पनि देखिन्नन् । भित्रभित्रै कति दबिएर बसेका छन् । छटपटाएकै छन् । अनौठो छ समाज । बाहिर सभ्य देखिन्छ । भित्री रूप अर्कै छ । सायद शिक्षा, चेतना र स्वज्ञानले नै अज्ञानलाई पखाल्दो हो ।

दिनभरिको थकान मेट्न पुनः पुगियो श्याम दाइको होमस्टेको छानोमुनि । दाजुभाउजूको अर्ग्यानिक स्वागत सत्कारको दुई गाँस टिपेर लडियो उही पलङमा, जहाँ हिजो आनन्दले निदाइएको थियो ।

महेन्द्रनगरमा बस्दा जुरेको थियो अर्को सौभाग्य । टनकपुर बाँध, चाँधनीदोधारा जोडने झोलुङ्गे पुलसहित कालीपारिको अर्को भूभाग निहार्यौं । यहाँ पुग्दा जो कोही नेपालीलाई भारतीय दबदबाले सायद खिन्न बनाउँदो हो जस्तो लाग्यो हामीलाई ।

कञ्चनपुरमा हाम्रा अझ दुई प्रस्तुतिहरू बाँकी थिए थारु बस्ती सिंहपुर र जोनापुरमा । तराईका मध्य भागमा अवस्थित यी बस्तीहरू हाम्रालागि नौलो रङ्गमञ्च बनेर प्रकट भए । यी दुवै स्थलमा घरका फराकिला आँगनहरू हाम्रा मञ्च बने । र, रात पनि यही फराकिला रङ्गस्थलकै सेरोफेरोका घरहरूमा होमस्टे पाहुनाको रूपमा बिताइयो । यसपछिका चार प्रस्तुतिहरू थिए रोल्पामा । बिहानको ८ बजे हाम्रो बसले पूर्व–पश्चिम राजमार्ग समात्यो र पूर्वतर्फ रफ्तार लियो । रातको १० बजे दाङको तुल्सीपुर पुग्दा बजार पूरै देउसी–भैलोमा रमेको थियो । भोलिपल्ट भाइटीकाको दिन थियो ।

बिहान सबैले एक अर्कामा शुभकामना बाँडेर लाग्यौं हामी रोल्पाको जुगारतर्फ । बेलुका जुगारमा पनि देउसी भैलो चल्न थाल्यो । साथीहरू पनि स्थानीयबासीका देउसीभैलोमा नाच्न थाले । बेलुका होटलमै हाम्रो नियमित ‘मिटिङ’ भयो । अर्को दिनको कार्यक्रमको खाका बन्यो । बैठकमा अघिल्लो प्रस्तुतिको समीक्षा र अनुभवहरू साटासाट पनि हुन्थे । यहाँको बैठकमा सबैले आ–आफ्ना अनुभव बाँडे ।

भोलिपल्ट अर्थात ‘शिल्पी नाट्य यात्रा–२०७६’ को कार्तिक १३ गतेको दिन हाम्रो ‘रेस्ट डे’ थियो । उक्त दिन बिहान हामी जुगार माथिको डाँडो चड्यौं । त्यहाँ महादेवको मन्दिर रहेछ । र, दिउँसो हामी गुफा हेर्न गयौं । गुफामा ताल्चा मारिएको थियो । तर, त्यो ताल्चाले हाम्रो बाटो छेकेन । बरु एउटा नयाँ अनुभूतिको मौका मिल्यो । गुफा बाहिर भीरको साँघुरो बाटोमा लाइनै बसेर गरेको १५ मिनेटको सामूहिक मौन ध्यानले यात्राभरिको थकान मेटाइदिए जस्तो लाग्यो । उक्त ध्यानमा बस्दै गर्दा टाढाका बस्तीहरूमा कतै मादल घन्कँदै गरेको आवाज हाम्रा कानमा ठोक्किदै थिए ।