हर्मन हेस्सेद्वारा लिखित उपन्यास सिद्धार्थका बारेमा को अनभिज्ञ छ र ? उनको सो विश्वविख्यात उपन्यास नेपाली भाषामा समेत अनुवाद भएको छ । त्यसको बिक्री पनि निकै राम्रो भएको देखिन्छ । हर्मन हेस्सेले जीवनमा तुलनात्मक रूपमा थोरै सिर्जना गरेका भए पनि ती प्रायः संसारभर रूचाइएको पाइन्छ । सन् १९७७ जुलाई २ मा जन्मिएका हर्मनको निधन ८५ वर्षको उमेरमा स्विट्जरल्यान्डमा भएको थियो ।

उनको कलम उपन्यास, छोटाकथा, निबन्ध र कवितामा मात्र होइन, चित्रकलामा समेत पोखिएको पाइन्छ । उनका द ग्लास बिड गेम, स्टेपनवल्फ, नार्सिसस एन्ड गोल्मन्ड, डेमियन जस्ता कृतिलाई पनि निकै रूचाइएको छ । उनले गोथे पुरस्कार, पिस प्राइज अफ द जर्मन बुक ट्रेड, विल्हेम राबी लिटरेचर प्राइजसँगै साहित्यको योगदानका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

धेरैले सिद्धार्थ उपन्यासलाई नोबेल पुरस्कार प्राप्त कृति भन्ने गरेका छन् तर त्यो गलत हो । विरलै मात्र कृतिलाई पुरस्कार दिइन्छ । उनलाई पुरस्कार दिएका बेला उनको महानतम् सिर्जना भनेर सिद्धार्थको नाउँ लिइएको थियो । त्यसैलाई धेरैले नोबेल साहित्य पुरस्कार प्राप्त कृति भनी प्रचार गर्ने गरिन्छ र त्यो प्रकाशकहरूको चलख्याइँ हो ।

यो उपन्यास सन् १९२२ मा लेखिएको थियो । फिल्म चाहिँ सन् १९७२ मा निर्माण गरिएको थियो । फिल्मलाई इन्डो-अमेरिका ड्रामा मिस्ट्रस्ट्री विधामा राखिएको छ । पूरा फिल्मलाई भारतको ऋषिकेश भन्ने ठाउँमा छायाँकन गरिएको छ ।

यो फिल्म छायाँकनका लागि भरतपुरका महाराजाको दरबारलाई भरपूर उपयोग गरिएको छ ।

फिल्ममा शशी कपुर, सिमी गेरेवाल, रोमेश शर्मा, पिन्चो कपुर, जुल भेलानी, अर्मिक सिंह, कुनाल कपुर, शान्ति हिरानन्दजस्ता कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म जुन बेला भारतमा छायाँकन गरिएको थियो, त्यो बेला अभिनेत्री सिमी गेरेवालले नग्न दृश्य दिएको भन्दै व्यापक आलोचना भएको थियो । त्यो बेला हिन्दी फिल्ममा चुम्बनका दृश्य समेत देखिदैनथ्यो ।

यो फिल्मले गौतम बुद्धको आध्यात्मिक यात्रालाई दोहोर्याएको छ । गौतम बुद्धले सिकाएका कुराहरू अनुशरण गर्ने कि नगर्ने भन्ने दोधारमा सिद्धार्थको जीवन कसरी गलत ठाउँमा पुग्छ भन्ने यसको विषय हो । गोविन्द भन्ने साथी र सिद्धार्थ मुक्ति खोज्दै यात्रामा निस्कदा जीवनका कयौँ आरोह अवरोहहरू यसमा छ । बाँकी तपाईं नै यो फिल्म हेर्नुहोलाः