कलाक्षेत्रमा प्रत्येक वर्ष वृहत रुपमा सम्पन्न हुँदै आएको प्रतियोगितात्मक राष्ट्रिय ललितकला प्रदर्शनी यस वर्ष पनि सम्पन्न भयो । राष्ट्रभरिका कलाकारहरूका नवकृतिलाई एकै ठाउँका ल्याएर प्रदर्शनी गर्ने यो थितिलाई यस वर्ष पनि ललितकला प्रज्ञाप्रतिष्ठानले कायमै राख्यो । प्रत्येक वर्ष हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी यो कारणले पनि महत्त्वपूर्ण छ कि, यसमा हरेक कलाविधा र सातै प्रदेशमा रहेका कलाकारहरूको कलाकृतिको सहभागिता हुने गर्दछ । र बदलिंदो परिस्थितिअनुरुप नेपाली कलाको स्तर कस्तो छ र वर्तमानमा विश्वकलाको क्षेत्रभित्र नेपाली कलाक्षेत्र कहाँ छ र कहाँ गइरहेको छ भन्ने आँकलन वा मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधार हुने गर्छ । यस मानेमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनी महत्त्वपूर्ण हुने गरेको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी विगत २०२२, २०२३ सालदेखि नियमित हुँदै आएको हो, जसलाई विगतको नाफा (नेपाल ऐसोसिएसन अफ फाइन आर्ट)ले २०२२, २०२३ सालदेखि शुभारम्भ गरेको थियो । राष्ट्रिय ललितकला प्रदर्शनीको सन्दर्भ आउँदा स्वभावतः नाफा भन्ने कलाकारको छाता संस्थाको सन्दर्भ पनि आउँछ । हाल भौतिक रुपमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान रुपमा ढालिएको विगतको नाफा कलाप्रेमी एवं कलाकार राजा वीरेन्द्रको अध्यक्षताबाट गठन भएको थियो । त्यो संस्था वि.सं. २०२२ सालमा स्थापना गरिएको थियो । उस बेलाको नाफा संस्थाले प्रचलनमा ल्याएको राष्ट्रिय कला प्रदर्शनी एवं कला प्रतियोगिताको नै पुनरावृत्ति हो राष्ट्रिय ललितकला प्रदर्शनी ।

उतिबेलाको नाफाले नेपाली कलाक्षेत्रको संस्थागत विकासका लागि उल्लेख्य भूमिका खेलेको पाइन्छ । इतिहास हेर्दा तात्कालीन नाफाले २०२८ सालमा आफ्नो शाखालाई पोखरा र विराटनगरमा समेत विस्तार गरेको र तिनै स्थानबाट पनि राष्ट्रिय कला प्रदर्शनी गरेको देखिन्छ । यसरी निरन्तर रुपमा हुँदै आएको राष्ट्रिय ललितकला प्रदर्शनी आजसम्म निरन्तर गर्दै आउनु राष्ट्रभरिका कलाकारको निम्ति गौरवको विषय हो । कलाको कुम्भमेलाजस्तो देखिने प्रदर्शनीको आयोजना निरन्तर हुनु ललितकला प्रज्ञाप्रतिष्ठानका लागि गर्वको कुरा हो ।

अब यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० तर्फ फर्केर हेरौं । सधैँजस्तै यस वर्ष पनि विविध कलाविधा र क्षेत्रका कलाकृतिहरू समावेश भएको पाइयो । सरसर्ती कलामाथि दृष्टिगोचर हुँदा समग्रमा कृतिहरू राम्रै देखिन्थे । यद्यपि संकलित कृतिहरू अझै कम भएका हुन् कि भन्ने देखिन्थ्यो । प्रस्टसँग भन्ने हो भने स्तरीय कृतिहरूको संख्या अझै नपुगेको हो कि ? समसामयिक चित्र र मूर्तितर्फ अझै परिष्कृत थुप्रै कृतिहरू ल्याउन सकेको भए सुनमा सुगन्ध हुन्थ्यो । यद्यपि परम्परागत कला, लोककला, मिथिलाकला र थारु कला तर्फको विशिष्टता राम्रो देखियो । पिछडिएका, सीमान्तकृत एवं राईलिम्बु, तामाङमगर, लेप्चा, भोटे आदि सबै थर जातजातिका लोकउक्ति र संस्कारमा प्रयोग हुँदै आएको रुपरङ पनि कलाको रुप भइदिएर समाविष्ट भएको भए झन् गज्जब हुन्थ्यो । २०७० सालको भूकम्पले नाफाको मूलभवनमा क्षति पु-याएको असरका कारणले गर्दा पनि होला पछिल्ला राष्ट्रिय ललितकला प्रदर्शनीहरू फिका देखिने गरेका छन् । सायद उतिबेला भवनको ओज र भव्यताताले पनि प्रभाव पारेको हुन सक्छ । तथापि पछिल्ला प्रदर्शनीहरू भन्दा यो २०८० सालको प्रदर्शनीमा केही नयाँपन जोडिएर आएको पाइयो । कार्यक्रमलाई मनमोहक र प्रभावशाली पार्न गोष्ठीजस्ता देखिने वार्ताहरू, कलाकार र अन्यक्षेत्रका व्यक्तिहरूसँगको कलामय कुराकानीहरू र विचार आदान प्रदान भएको क्षणहरू देख्न सकियो । कलाक्षेत्रलाई अन्य क्षेत्रसँग पनि जोड्ने र जानकार बनाउने यो काइदा अर्थात् भिजन राम्रो देखिएको छ । अब जुनसुकै कलाले यसरी नै समाजका सर्वसाधारण व्यक्तिसम्म पुग्ने दृष्टिकोण आँखामा सजाउन आवश्यक छ । र, आफूभित्र आदर्श र वौद्धिक मनोभावना जगाउन आवश्यक छ ।
अब पुनः राष्ट्रिय ललितकला प्रदर्शनीतर्फ नै फर्केर हेरौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २०८० सालको अरनिको राष्ट्रिय प्रज्ञा–सम्मान वरिष्ठ कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान ग-यो । यो चयन साह्रै राम्रो भयो । ललितकला प्रवर्द्धन सम्मान श्रीमती संगीता थापालाई प्रदान गर्नु पनि उपयुक्त हो । यस्तै कार्यक्रममा कला सद्भावना दूत सम्मान अनिल चित्रकारले र लोगो डिजाइनको सम्मान वरिष्ठ कलाकार राधेश्याम मुल्मीले प्राप्त गर्नु भएको थियो ।

साथै ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न विधामा सहभागी एवं प्रतियोगी रहेका र सातै प्रदेशबाट प्रतियोगी र सहभागी बनेका पछिल्ला पुस्ताका कलाकारहरूलाई राष्ट्रिय ललितकला प्रदर्शनी २०८० बाट सम्मान एवं पुरस्कृत गरेको छ । लोककलातर्फ नम्रता सिंह, हस्तकलामा ज्ञानीराज बज्राचार्य, परम्परागत चित्रकलामा राज प्रकाशमान तुलाधर, परम्परागत मूर्तिकलामा जेरोम महर्जन, समसामयिक मूर्तिकलामा रिसिता खत्री, आधुनिक चित्रकलामा उद्धवराज रिमाल, प्रतिस्थापन कलामा विनय रिमाल आदिलाई राष्ट्रिय ललितकला पुरस्कारबाट पुरस्कृत गरेको छ ।

ललितकला विशेष पुरस्कारमा लोककला तर्फ ज्योतिकुमारी सापकोटा, राजु चित्रकार, हस्तकलातर्फ शेखमान महर्जन, सुमित्रा भुजेल, परम्परागत चित्रकलातर्फ रवीन्द्र महर्जन, तारामान वमजन, परम्परागत मूर्तितर्फ अनिल शाक्य, विष्णुप्रसाद लिबी, समसामयिक मूर्तितर्फ मीना कायस्थ, टीकाराम पौडेल, समसासयिक चित्रतर्फ रिता मानन्धर, रोशन प्रधान, वास्तुकलातर्फ तिसा श्रेष्ठ, फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठ, कार्टुनतर्फ राजेश मानन्धर, प्रतिस्थापन एवं प्रस्तुतिकलातर्फ सुशान्तश्री राजभण्डारी, क्यारिकेचरतर्फ शुस्रिना शाक्य पुरस्कृत भएका छन् ।

यस्तै प्रादेशिक पुरस्कारमा पुरस्कृत हुने कलाकारहरूमा कोशी प्रदेशका समसामयिक चित्रमा सुमन राई, मधेश प्रदेशका लोककला तर्फका श्वेता शाह, वागमतीका परम्परागत चित्रतर्फ वाङ्छु मोक्तान लामा, गण्डकी प्रदेशका समसामयिक मूर्तितर्फबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशका लोककलातर्फ रम्भा चौधरी, कर्णाली प्रदेशकी हस्तकलाबाट सोनाम लामा, सुदूर पश्चिमका फोटोग्राफीबाट चक्रबहादुर थापा आदि क्रमशः पुरस्कृत भए । यस्तै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले यस वर्षको ललितकला लेखन पुरस्कार र पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौडेल र नारायणप्रसाद ढुङ्गानालाई प्रदान गरेको छ ।