महामारी र विश्वव्याधि मानव जीवनमा सदियौँ र हजारौँ वर्षदेखि छ भन्ने कुरा हाम्रो जीवनशैलीबाट थाहा हुन्छ।
सरसफाईलाई हाम्रा सबै धर्मशास्त्रहरूले निकै महत्त्व दिएको खास कारण महामारी र सरूवा रोग नै हुन्। हिन्दु धर्ममा बिहान सबेरै उठ्नु, शौच गर्नु, स्नान गर्नु, खाना खाँदा ओप्सानी हाल्नुजस्ता कुरा सरसफाईसँगै सम्बन्धित कुरा हुन्।
मुस्लिमहरूले पनि दिनमा चार पटक प्रार्थना गर्छन् र हरेक पटकको प्रार्थनामा सरसफाईलाई प्रमुखताका साथ महत्त्व दिइएको पाइन्छ। यस्ता उदाहरण अन्य धर्मशास्त्रमा खोज्दा पाइन्छ।
मैले यहाँ चर्चा गर्न खोजेको भनेको महामारीको आतंक साहित्यमा मात्र सीमित थिएन। महामारीका बारेमा इतिहासमा उल्लेख भएका कयौँ घटनाहरू छन्। तिनलाई पछि साहित्यले पनि ठाउँ दियो। तर चित्रकार र कलाकारहरूले पनि त्यस क्षणलाई कैद गर्न कुनै कसर छाडेका छैनन् र तीमध्येको एउटा दृश्य यही हो, जसलाई Gaetano Giulio Zumbo (1656-1701)ले जीवन्तता दिएका छन्।
इटालेली मूर्तिकार गेटानो गिउलियो जुम्बो १६५६ मा जन्मिएका थिए। बारोक युग भनेर चिनिने समयमा उनले मैनबाट निर्माण गरिने मूर्तिहरूलाई लोकप्रिय बनाएका थिए। उनको मूर्तिकलालाई हिजोआज वैज्ञानिक नमूनाका रूपमा मात्र होइन, त्यो समयको जिज्ञासु कालका रूपमा पनि हेर्ने गरिन्छ। उनका सिर्जनामा मानिसका अंगप्रत्यंगलाई सजीव बनाइएको पाइन्छ। उनले यस किसिमको मूर्तिकला कुनै गुरू थापेर सिकेका थिएनन्, आफैँ सिकेका थिए। मैनको रंगीन मूर्ति बनाउने र त्यसलाई लोकप्रिय गराउने मूर्तिकारका रूपमा पनि उनलाई चिनिन्छ।
उनको कामलाई फ्लोरेन्सको टक्सनीस्थित ग्रान्ड ड्युकले यति रूचाए कि उनलाई आफ्नो छत्रछायाँमा राखेर मूर्तिहरू बनाउन लगाए। उनले बनाएका मूर्तिहरूमध्ये शृंखलाबद्ध पाँच मूर्ति निकै चर्चित मानिन्छ।
यी कलाकार कति रहस्यमयी छन् भने २०१३ मा रूपर्ट थम्सनले त उनैलाई प्रमुख पात्र बनाएर ‘सेक्रेसी’ उपन्यास नै लेखे।
खैर, यहाँ बताउन खोजेको चाहिँ यो चित्रले त्यो बेलाको अन्योलपूर्ण अवस्था, मृत्युको भय र विभत्सता प्रकट गरेको छ। उनी जन्मनु केही वर्षअघि (१६२९-१६३१) इटालीभरि प्लेगको महामारी फैलिएको थियो। जसका कारण त्यस अवधिमा २ लाख ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। उनी जन्मिएकै साल पनि इटालीको दक्षिणी भेग नेपल्समा फैलिएको महामारीका कारण साढे १२ लाख मानिसको ज्यान गएको थियो।
सन् १६५६ मा फैलिएको नेपल्स महामारीका बारेमा बनाइएको चित्र त अद्भूत नै देखिन्छ । त्यहाँ सो महामारीका बेला रोगीहरूलाई गरिब बस्तीमा पठाउने र रोग नलागेका धनीहरूलाई एउटा बेग्लै व्यवस्थाका साथ राखिएको थियो। खासगरी गरिब बस्तीमा महामारी फैलिएका कारण पनि गरिब बस्तीका मानिसहरूलाई मुख्य चोक, धनीमानी हिँडडुल गर्ने ठाउँमा आउजाउका लागि प्रतिबन्ध लगाइएको थियो। सोही भयावह दृश्य यस दृश्यले पस्किएको छ।
एउटा भनाइ नै छ, जब जब महामारी फैलिन्छ- महान् सभ्यताहरू ढल्छन्। रोमन साम्राज्य ढल्नुको मुख्य कारण बेलाबेलामा फैलिने यस्ता महामारी पनि एक हो भन्ने धारणा राख्ने इतिहासकारहरूले त्यसबारेमा त किताब नै लेखेका छन्। ‘द फेट अफ रोमः क्लाइमेट, डिजिज एन्ड इन्ड अफ एम्पायर’ पुस्तकमा काइल हार्परले सोही कुरालाई जोड दिएका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

