जे धारण गरिन्छ, त्यो धर्म हुन्छ । धर्मसँगै त्यहाँ अहं र सारा संसारका कुसंस्कार पनि ग्रहण गरिन्छ । त्यसैले मानिसलाई मानव हुनबाट रोकिरहेको हुन्छ ।
आजको सटर्डे सिनेमामा हामीले छनोट गरेर हेर्न सिफारिस गरेको फिल्मको विषय धेरैलाई मन नपर्न सक्छ । किनभने अचेल धार्मिक हुनु भनेको रूढीवादी हुनुमा पुगेका हुनाले धेरैले आफूलाई धर्मबाट आफूलाई अलग रहेको देखाउन चाहन्छन् ।
तपाईं जुनसुकै धर्म मान्नुहोस्, त्यसमा रूढीवाद हावि छ भने त्यो धर्मले सबैलाई हानि गर्छ । तर जब धर्म रूढीवादबाट माथि उठेर मानवतावादको सेवा गर्छ भने त्यो धर्म सबैभन्दा उत्तम धर्म बन्न पुग्छ ।
यस्तै कथा यो फिल्मले बोकेको छ । यो हिन्दी फिल्म सन् २००७ अप्रिल ५ मा निर्माण पूरा भएर प्रदर्शनमा आएको थियो । फिल्ममा मुख्य नायक नायिकाहरू नभएका कारण यो फिल्म व्यापक प्रदर्शन भने भएन । तर यो फिल्मले गहिरो सन्देश दिन्छ र खासगरी धर्मका नाममा रूढिवादी जीवन बाँचिरहेको व्यक्ति, परिवार र समाजलाई यसले कसरी हानि पुर्याउन सक्छ भन्ने बताउँछ ।
यसमा एक जना हिन्दु धर्मका महापण्डित चतुर्वेदी छन् । उनकी एउटी पत्नी र छोरी छन् । उनले केही चेला चपेटा पढाउँछन् । उनको एउटा सामान्य जिन्दगी चलिरहेको छ । घरमा केही कमी छ भने हिन्दु धर्मको मान्यताअनुसार एउटा छोरोको कमी छ ।
एक दिन घरमा कलिली छोरीले खेल्ने साथी फेला पार्छे, एउटा बच्चा । उसलाई घर लिएर आउँछे । घरमा अचानक सानो केटो आएपछि घर गुल्जार हुन्छ । चतुर्वेदी भने यो केटो आएको मन पराउँदैन । नचिनेको मान्छेलाई घर हुल्नु ऊ उचित ठान्दैन । त्यसै पनि ऊ संस्कृतको प्रकाण्ड विद्वान भएकाले हरेक कुरा शास्त्रसम्मत गर्न रूचाउँछ । त्यसैले शास्त्रका अनुसार, बालकलाई उसको परिवारसँगै भेट गराउनु उचित ठान्छ ।
तर आमाबाबुको ठेगान नलागेकाले प्रहरी पनि सो बालक चतुर्वेदीजस्ता महापण्डितकहाँ नै पालियोस् भन्ने चाहन्छ । न्यास, ध्यान, व्रतका पक्का यी चतुर्वेदीले शुरूमा बालक घरमा आएको नरूचाए पनि पछि पछि बालकसँग अभ्यस्त मात्र हुँदैनन्, बालकलाई प्रेम नै गर्न थाल्छन् ।
अर्का एक अवसरवादी पण्डितको ईर्ष्या र लहलहैमा लागेर महापण्डित चतुर्वेदीको बेइज्जत गराउने अवसर पछि हात पर्छ । पछि चतुर्वेदीको घरमा हुर्कंदै गरेको बालक कुनै व्राह्मणपुत्र नभई विधर्मी मुस्लिम परिवारको सन्तान हुन्छ । जब आफ्नो छोरो खोज्दै मुस्लिम महिला आइपुग्छिन्, चतुर्वेदीको सारा विश्वास, धर्म नष्ट हुन्छ । हिजोसम्म स्नेहले हुर्काइरहेको बालक अब अचानक मुस्लिम, विधर्मीको सन्तान बन्न पुग्छ । यस पीडाबाट मुक्त हुन चतुर्वेदीले चन्द्रायण व्रत बस्छ ताकि विधर्मीलाई पालेर, घरमा हुलेर गरेको पापबाट ऊ मुक्त हुन सकोस् ।
हिजोसम्म हृदयको स्नेहले सिँचेर हुर्काएको बालक आज अचानक विधर्मी हुनसक्छ ? केले हामीलाई यति क्रुर हुन बाध्य पार्छ ? धर्मको अर्थ आखिर के हो ? यस्ता कयौँ प्रश्न यो फिल्मले दर्शकलाई गरेर अन्त्यमा सुन्दर सन्देश दिएर सकिन्छ ।
यो फिल्मलाई भावना तलवारले निर्देशन गरेकी हुन् । यो फिल्मले त्यो बेला कान फिल्म फेस्टिभलमा प्रदर्शन हुने अवसर पाएको थियो भने सन् २००७ मा भारतको नेसनल अवार्डसमेत प्रदान गरिएको थियो । पत्रकारका रूपमा आफ्नो करियर शुरू गरेकी भावना एउटा विज्ञापन एजेन्सी समेत चलाउने गर्छिन् ।
उनको यो फिल्मलाई अस्कर अवार्डका लागि नामाङ्कन गरिनुपर्ने आवाज उठेको भए पनि सोही वर्ष रिलिज भएको अमिताभ बच्चनद्वारा अभिनित ‘एकलव्यः द रोयल गार्ड’लाई हिन्दी फिल्मलाई अस्करमा पठाइएको थियो । उनले निर्देशन गरेको अर्को फिल्म ह्यापी सन् २०१९ मा बजारमा आएको थियो तर त्यति चर्चामा आउन सकेको थिएन ।
आउनुस्, एउटा विचारोत्तेजक फिल्म हेरेर आजको दिन बिताऔँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।