नेपाली कलाआकाशमा चिरपरिचित नाम हो– चित्रकार सरिता डंगोल । सरिता कलाक्षेत्रमा सक्रिय एवं स्थापित प्रतिभा हुन् ।

समसामयिक कलामा उनको आफ्नै मौलिक पहिचान र विशेषता छ । कला विषयको छनौटको सन्दर्भमा उनी अब्बल छिन् र अन्तरभावको निजी भावलाई विशेष आत्मसात गर्छिन् ।

जहाँ नेपालीपन, परम्परागत मान्यता र उक्तिका धारणा, मान्यताहरू तथा नेपालीपनको प्राकृतिक छटाले विशेष स्थान लिने गर्छ । अर्थात् रुखका कलात्मक लहराहरू, खुर्सानीका निजीगत र समाजिक मान्यताहरू, मास्क(मुकुट)का कडीहरू र आध्यात्मका जडीय प्रभाव आदि उनका क्यानभासमा प्रशस्त विचरण गर्ने विषय सन्दर्भहरू हुन् ।

उत्कृष्ट रङ्गसंयोजनभित्र अटाएका उनका कला विषयवस्तुहरू सारांशमा पोखिनु भन्दा पनि ‘माइक्रो लेबल’मा उदाएका देखिन्छन् । गतिलो अभिव्यक्तिको माध्यम रोजेकी उनले रुखका लहरालाई विम्वात्मक पोख्ने गर्छिन् र मनका विचार र भावलाई लहरामा गाँस्छिन् ।

हाम्रो नेपाली समाजले कष्ट र पीडा भगाउने विभिन्न मान्यताहरू आत्मसात गर्दै आएको देखिन्छ, जस्तो धुप हाल्नु, खुर्सानी डढाउनु, ड्याङग्रो ठटाउनु आदि आदि । यस्ता मिथकहरूको प्रयोगले र तिनको रागले नकारात्मक छायाँहरू, कुटिल मनोभावहरू र आँखा लगाउनेहरू भाग्छन् भन्ने छ चलन छ ।

त्यही आदिम मिथकलाई सरिताको क्यानभासले स्थान दिएको देखिन्छ । उनको पछिल्ला चरणका खुर्सानी विम्वहरूका क्यानभास यसैमा आधारित रहेर बनेका छन् । खुर्सानी विम्वका सन्दर्भमा उनी आफैँ भन्छिन्, ‘खुर्सानीले मलाई बाल्यकालदेखि नै प्रभाव पारेको हो, घरबाट आमाको कार्यक्षेत्रमा खाना पुर्याइदिने क्रममा हजुरआमाले खानामा खुर्सानी राखेर लानु भूतप्रेत लाग्दैन भनेको सुन्थेँ, त्यो बेलादेखि नै मेरो बालसुलभ मष्तिस्कमा खुर्सानीको विम्व र मिथकले प्रभाव जमाउन थालेको हो ।’

हिजोका दिनमा मात्र होइन, आजको हाम्रो आधुनिक समाजमा पनि खुर्सानीको महिमा र यसको उपादेयता नेपाली घरघरमा देख्न सकिन्छ । सहरका गल्ली, गल्छेडाका पसलहरूमा हामीले हेर्यौं भने कसैको नकारात्मक नजर नपरोस् भनेर खुर्सानी नै झुण्ड्याइएको भेटिन्छ । यो नेपालीको निजात्मक सोच हो जुन काल्पनिक मान्यताभन्दा पनि विश्वासमा आधारित छ ।

हाल सरिताको खुर्सानी र अन्य सामाजिक, प्राकृतिक र भावपरक सम्वेदनामा आधारित क्यानभासहरू ललितपुरको मिखाबहालस्थित नेवाः छेँ आर्ट ग्यालरीमा प्रदर्शनी भइरहेको छन् । जहाँ उनका २४ वटा चित्रहरू राखिएका छन् । त्यहाँ उल्लेखित यिनै विषयवस्तुमा बनाइएका चित्रहरू राखिएका छन् । तीन दशकदेखि कलाका धाराप्रवाह सक्रिय भइरहेकी सरिताको यो १५औँ एकल कला प्रदर्शनी हो । कलामै लागेका कारणले उनले स्वदेश तथा विदेशका थुप्रै पुरस्कार र सम्मानहरू पनि हात पारेकी छिन् । र, स्वदेश तथा विदेशमा धेरैपल्ट एकल तथा सामूहिक कला प्रदर्शनी गरिसकेकी छन् ।

कलाको विषयवस्तुलाई फरक दृष्टिकोणबाट नियाल्ने सरिता उदार र सहज मनोभावनाकी प्रतिभा हुन् भन्दा फरक नपर्ला । उनले यसक्षेत्रमा लागेर प्राप्त भएको उपलब्धिलाई आफैंभित्र खुम्चाएर राखेकी छैनन्, समाजलाई पनि बाँढेकी छन् ।

समाजमा विविध कारणले अपहेलित भएका बालबालिका र विद्यार्थीहरूलाई कलाज्ञानको ज्योति छरिरहेकी छन् । नेपाली महिला कलाकारहरूको तुलनाका फरक र मिजासिली देखिने सरिताको यो पछिल्लो प्रदर्शनी उत्कृष्ट देखिएको छ । प्रदर्शनीमा राखिएका खुर्सानी क्यानभासमा रातो, पहेँलो, नीलो, वैजनी आदि मनोरम रङको सम्मिश्रण वा प्रयोग उत्कृष्ट छ ।

जो कोहीलाई रङको प्रभाव र तुलिका घातको संवेगले मोहित पार्न सक्छ । आकृष्ट पार्न सक्छ । उनको पेन एन्ड इङ्कको काम पनि ज्यादै उत्कृष्ट देखिन्छ । सरिताको कला विशेषता भन्नु नै लय हो । लयात्मक रुपबाट चल्ने उनको मनतरङ्ग हिजोदेखि आजसम्मका हरेक क्यानभासमा पोखिएका भेटिन्छन् । विषयवस्तुमा लयता, रङ्गमा लयता र साङ्गेतिक मिठास उनका क्यानभासका मौलिक गुण र पहिचान हुन् । जस्तो उनको नाम सरिता छ, त्यस्तै उनको क्यानभासको गुण सरिता छ ।