1)
उता धेरै जसो युवाहरू खाडीमा भेटिन्छन्
यता प्रेयसी अर्कैको गाडीमा भेटिन्छन्
यो कलियुग हो हजुर अचम्म मान्नु पर्दैन
यहाँ बच्चाहरू पनि त झाडीमा भेटिन्छन् ।

2)
तिमीले ढाल्न चाहेको तर्फ ढल्न सक्दिनँ
तिम्रो लागि म आफैँलाई बदल्न सक्दिनँ
म जे जस्तो छु त्यसैमा ठीकठाक छु हजुर
म तिम्रो औँलाको इसारामा चल्न सक्दिनँ ।

3)
सफलता पाउन धेरै मिहिनेत गरेको हुन सक्छ
संघर्ष, दुःख र पसिनाको नदी तरेको हुन सक्छ
सित्तैमा पाए भनी मनलागि गर्नेहरू सोच्नु होस्
त्यही पाउन कसैको धेरै मूल्य परेको हुन सक्छ ।

4)
तिमीले सधैं मानिरहने चिन्ता फिक्रीले खै के गर्यो ?
देखाउनै ऋणमा किनेको सुनको सिक्रीले खै के गर्यो ?
तिमीले मलाई अनपढ भनी हेपिरहँदा जवाफ देऊ
मेरो सीपले पैसा कमायो तिम्रो डिग्रीले खै के गर्यो ?

5)
कहिले माथि त कहिले तल झर्दै जानुपर्छ
सफलताको नजिक नजिक सर्दै जानुपर्छ
एक दिन पक्का तिमी पनि सफल हुनेछौ
त्यसको लागि संघर्ष गर्दै जानुपर्छ ।

 

थाहा नगरपालिका ४, मकवानपुर