१.

गम्भीर दुवाडी
युवा र ऊर्जा प्रवासतिर खपत छ
सुशासन पार्टपुर्जा नीतिमा जफत छ
नयाँ मुलुकमा हावी छ पुरानै प्रवृत्ति
समृद्धिको सपना देखाउनेको शपथ छ
#
२.
उसको नक्कल गर्दागर्दै आफ्नै संस्कृति बिर्सें
प्राण र त्राण माया दिने उही प्रकृति बिर्सें
म कलियुगलाई विगतको अर्तिले के छुन्थ्यो र !
एकलकाँटे दुनियाँमा आफ्नै लाजका आकृति बिर्सेँ
#
३.
गिद्धे कुदृष्टि कसैले राख्न नसकून् यहाँ
नीति, थिति र रीति भाँच्न नसकून् यहाँ
चोरको सय दाउ हेर्दै छ रे जस्केलातिर
अपराधी कानुनबाट भाग्न नसकून् यहाँ
#
४.
प्राकृतिक बगैंचा मासेर नाच्दैछन् मान्छे
कङ्क्रिटको उद्यान गाँसेर नाच्दैछन् मान्छे
विकासको नाउँमा विनाश लिई सर्वत्र
चौतारी वर पिपल काटेर नाच्दैछन् मान्छे
#
५.
देशको लागि लड्नेहरू हाँसीहाँसी मर्छन्
पेटको लागि लड्नेहरू बाँचीबाँची मर्छन्
भन्छन् नि ‘नाच्न जान्दैन आँगन टेढो
रीसले लड्नेहरू हातखुट्टा भाँचीभाँची मर्छन्
#
गम्भीर दुवाडी
गजुरी, धादिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

