देवेन्द्र केसी
समयको बहाव रोक्न खोज्यो भने कसैले
अमूल्य मनलाई जोख्न खोज्यो भने कसैले
अनिष्ट आइलाग्ने नै भयो विनाशकालेहरू हो !
सिनो भन्ने जानेर बोक्न खोज्यो भने कसैले ।
उस्ले मीठो बोलेर छुरा धसिरहेको पो रहेछ
शुकुनीझैं बनेर चिप्लो घसिरहेको पो रहेछ
कस्लाई आफ्नो वा कस्लाई पराइ भनूँ खै
मौका खोज्दै घाट कुरेर बसिरहेको पो रहेछ !
निस्ता रातहरू कटमेरा दिनहरू बितिरहेछन् यहाँ
इमानहरू हार्छन् शकुनीपनहरू जितिरहेछन् यहाँ
भविष्यको लालसामा वर्तमान रेटिइरहेछ पलपल
द्रौपदीहरूका साडी दुःशासनहरू खिचिरहेछन् यहाँ।
माटोको सर्वोच्चता बुझ्न सकेनन् मान्छेहरूले
मातृभूमिलाई किन पुज्न सकेनन् मान्छेहरूले
देश नहुनेहरूलाई थाहा हुँदो हो माटोको माया
पुर्खालेझैं आज किन जुध्न सकेनन् मान्छेहरूले।
मन्दिरहरू भत्काएको त चर्चहरू बनाउनलाई पो रैछ
आफ्नाहरूसित लडेको त पराइ मनाउनलाई पो रैछ
सबै मानव सबै धर्मलाई सम्मान गर्छ सच्चा नेपालीले
शालिकहरू फोडेको त चाकडी जनाउनलाई पो रैछ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।