चाँप चमेली या चम्पा थिइ खुश्बू छरेर गई
एकपलको भेट थियो मनको चैन हरेर गई
धड्कनको मधुर धुनसँग रतेउली मनाएर
यादको पानामा नमेटिने हस्ताक्षर गरेर गई ।

हिमालभन्दा अग्ला विकृतिका पहाड कस्ले ढाल्ला
दायरा बढ्दै गएको भ्रष्टाचारको प्वाल कस्ले टाल्ला
भोका नाङ्गा सदीयौंदेखिका अँध्यारा ती बस्तीहरुमा
विवेकको ज्योति छर्ने साँझको दियालो कस्ले बाल्ला  ?

बाबुराम न्यौपाने “उत्स”

सुख होस् या दु:ख जीवन त काट्नु नै छ
यात्रापथको बाक्लो तुवाँलो फाट्नु नै छ
जीवन कथाको पाना जे जस्तो लेखिए पनि
मृत्युको अलिखित तमासुकसँग साट्नु नै छ ।

रोदीघरको पलेटीमा थाहै नपाई माया बस्यो
क्षणभरमै एकप्यासा प्रेमको मृदु रागमा फस्यो
संगीत भर्न खोज्दाखोज्दै सारङ्गीको तार टुटी
गीतको भाव नै मेटिएर मिर्मिरेमा जून खस्यो ।