लोकनाथ पुडासैनी

१.
स्वास्थ्यचौकी स्कूलहरूमा ओत लाग्ने छाना छैन
असहाय दीन दुःखीहरूसँग लाज ढाक्ने नाना छैन
फगत हामी पोस्छौँ गुम्बा चर्च मस्जिद मन्दिर आदि
थाहा छ ? यहाँ कति निमुखासँग छाक टार्ने दाना छैन ?
२.
मोजा हो गनाउने कुरो लगाउनेले जान्नु पर्छ
नयाँ फेर्न नसक्दासम्म त्यही पुरानैले धान्नु पर्छ
नयाँमा पनि नाइलनै मिस्सेको पर्दिन्छ र पो
तिनै दुर्गन्धितहरू मध्यबाटै कुनै छान्नु पर्छ ।
३.
पहिरन फेरिए ढासा स्वाङ र सार उस्ता उस्तै
ढाँट छल तस्करी अनि भ्रष्टाचार उस्ता उस्तै
फेरिँदा केवल सिंहासनमा विराजमान पात्र फेरिए
घोडचढी रिसल्ला लावालस्कर र विचार उस्ता उस्तै ।
४.
पाशुपत क्षेत्रमा सदियौँ देखि बाँदरहरूको झाँकी छ
मोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छ
पार लगाउलान कि भनेको भाङधतुरामै लट्ठिन थाले
अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाँकी छ ।
५.
खई लागे जस्ता पाता पनि चुहिन सक्छ
ओतमा बस्ने सपना गर्भमै तुहिन सक्छ
कुहिएको आलु बेलैमा झिकेर मिल्काऊ
अन्यथा सिङ्गै बोरा फतक्कै कुहिन सक्छ ।

जराङबेसी, गोरखा
हाल, पोखरा ।