आचार्य प्रभा 


जीवनमा अप्रत्यासितसँग नमिठो धोका हुँदो रैछ
सन्तानको माया फुटी जाने पानीको फोका हुँदो रैछ
बद्लियो संस्कार रीतिथिति सबै बद्लियो यो दुनियाँमा
सन्तान जति कठोर बने पनि मायाको पोका हुँदो रैछ ।

यो मन यदी चोईंटिने भए टुक्र्याएर बाँडी दिन्थें
वेदना आँसुसँगै रित्तिए त आँसु बनाई झारी दिन्थें
सोच्छु कहिलेकाहीं कति सस्तो भएछ यो जीवन
भाग्दा हुने भए यदि आफ्नै जीवनदेखी टाढी दिन्थें ।


न त आकाशलाई कहिले छुन सक्नु लम्किएर
न त उज्यालो छर्न नै सक्नु जून जस्तै चम्किएर
उठाउँन सकिएन शिर कहिले अरु सामु गर्वले
हुँदैन प्राप्ति केही बिनासित्ती अरुसामु गम्किएर ।


प्रवासी जीवन जसोतसो चलेकै छ मेरो
मनभित्र सम्झनाको दियो बलेकै छ मेरो
आउँछन् झल्झली घर आँगनका दृश्यहरु
यो मुटु पीडाले गल्नुसम्म गलेकै छ मेरो ।


भलाइको जमाना छैन हजुर समय बद्लिएको छ
आफ्ना पराई सबै सबै नै स्वार्थ भित्र अल्झिएको छ
नसोच्नु अब कदापि आफ्नो मान मर्दन होला भनेर
यस्तै निर्दयी समय देखेर कोमल मन पग्लिएको छ ।