नारायण मरासिनी

१. हामी नेपाली !

खान पुग्दैन निकै दुःखसँग जिएका छौँ
नयाँ पुग्दैन टुक्रा–टाला सिएका छौँ
यो हाम्रै जीवनयापनको कथा हो
दूध बेचेको पैसाले रक्सी पिएका छौँ ।

२. चिन्ता
दिन ढल्दै घाम पनि पश्चिमतिर सरेपछि
पारि जाने कसो गरी नदीबिचमा परेपछि
यात्रुहरू अलपत्र भई रुँदैरुँदै बसेका छन्
माझीहरू डुङ्गा छोडी माछा मार्न झरेपछि ।

३. द्यौता
न उसले कसैको पीडा सुन्छ
न अरूको पीडामा कहिल्यै रुन्छ
भन्नुस् त यसको उत्तर महाशय !
त्यस्तो निर्दयी कसरी द्यौता हुन्छ ?

ज्याग्दीखोला, स्याङ्जा