कमजोर अवस्था सम्झेर हैरानी भइनँ
अभावको दिनमा पनि बेईमानी भइनँ
सिकायत नभएको होइन यो हालतको
तर पनि म सरमले पानी पानी भइनँ।
नझर्ने नयनबाट अचेल आँसु झर्छ किन ?
यही मनलाई मात्र असह्य चोट पर्छ किन ?
बनोस् भन्छु म यो मनलाई पत्थरजस्तै
यो भाग्यका खुसीहरू सबै दैवले हर्छ किन ?
नसोचेको भोग्नुपर्छ दिन बिग्रेका बेला
जस र स्याबासी मिल्छ दिन सप्रेका बेला
समयको के भरोसा के कस्तो भोग्नुपर्छ ?
गुलाब पनि कुरूप लाग्छ बोट लत्रेका बेला।
घरको छानो उप्काएर पाली टाल्ने कसले ?
सहज काम हो भन्दैमा ढुङ्गा गाल्ने कसले ?
सजिलै बाटो रोज्ने गर्छन् आजकलका मान्छे
गरिबको चिसो चुल्हो मायाले बाल्ने कसले ?
पीडा असह्य हुन्छ हो थाहा छ मलाई
बस्नु हुन्न तर पनि मुटु आफ्नो जलाई
नियतिको खेललाई स्विकार्नैपर्दो रैछ
चिन्तित बनी बस्दा हुन्न कसैको भलाइ ।